सुशासनको पक्षमा उभिँदा धम्की आए पनि डराउँदैनौं : प्रधानमन्त्री कार्की
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्दा जस्तोसुकै धम्की आए पनि सरकार पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
भ्रष्टाचारविरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारले सुशासनका लागि चालेका कदमबाट अत्तालिएर केही तत्त्वले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धम्की दिइरहेको खुलासा गरिन्।
‘हामी यस्ता धम्कीबाट डराउँदैनौं। जेन-जी आन्दोलनको जगमा बनेको यो सरकार केवल चुनाव गराउन मात्र आएको होइन, सुशासन कायम गर्न पनि हो,’ उनले भनिन्, ‘भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार दृढ छ।’
प्रधानमन्त्री कार्कीले युवा पुस्ताका माग र अपेक्षाअनुसार उपलब्धि हासिल गर्न केही समय लाग्न सक्ने भए पनि सरकार सुशासनका लागि निरन्तर क्रियाशील रहेको स्पष्ट पारिन्।
उनले राज्यका स्थापित संयन्त्रहरू भ्रष्टाचार नियन्त्रणमा सक्रिय भइसकेको जानकारी दिँदै राष्ट्रसेवक कर्मचारी र सम्बन्धित निकायका पदाधिकारीलाई पनि विचलित नभई निर्धक्क भएर काम गर्न निर्देशन दिइन्।
‘आफ्नो व्यावसायिक स्वतन्त्रताको उपयोग गर्दै अघि बढ्नुहोस्, सरकार तपाईँहरूको साथमा छ’, उनले आग्रह गरिन्।
प्रधानमन्त्रीले वर्तमान सरकार नियमित कार्यसम्पादन सँगसँगै सुशासनको एजेन्डामा तीव्र गतिमा अघि बढिरहेको समेत दाबी गरेकी छन्।
मंसिर २३, २०८२ मंगलबार १२:५९:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।