ट्रम्पद्वारा एनभिडियालाई चीनमा एडभान्स्ड चिप बेच्न अनुमति
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई चिप निर्माता कम्पनी ‘एनभिडिया’लाई चीनका निश्चित ग्राहकहरूलाई आफ्नो अत्याधुनिक एच-२०० चिप बेच्न अनुमति दिने घोषणा गरेका छन्।
सोमबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै, रोजगारी सिर्जना गर्न र एआई क्षेत्रमा अमेरिकाको अग्रता कायम राख्न यो निर्णय गरेको बताएका छन्। यो नियम एएमडी जस्ता अन्य अमेरिकी चिप कम्पनीहरूमा पनि लागू हुनेछ।
ट्रम्पले जुलाईमा नै चिप बिक्रीको प्रतिबन्ध हटाउने संकेत गरेका थिए। त्यसबेला उनले चीनबाट हुने कमाईको १५ प्रतिशत अमेरिकी सरकारलाई बुझाउनुपर्ने सर्त राखेका थिए।
तर, अहिले ट्रम्पले आफ्नो पोस्टमा भनेका छन्, ‘अमेरिकालाई २५ प्रतिशत भुक्तानी गरिनेछ।’
एनभिडियाका प्रमुख जेनसन हुवाङले वाशिङ्टन पुगेर यसका लागि लबिङ (पहल) गरेपछि यो कदम चालिएको हो। एनभिडियाले ट्रम्पको यो निर्णयको स्वागत गरेको छ।
एनभिडिया विश्वकै सबैभन्दा मूल्यवान् चिप कम्पनी हो। अमेरिका र चीनबीचको तनावका कारण यसअघि एनभिडियालाई आफ्ना अत्याधुनिक चिपहरू चीनमा बेच्न रोक लगाइएको थियो।
केही समयअघि चीनले पनि आफ्ना कम्पनीहरूलाई एनभिडियाको चिप नकिन्न निर्देशन दिएको खबरहरू सार्वजनिक भएका थिए।
मंसिर २३, २०८२ मंगलबार ०९:१२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।