भारतीय चामल र क्यानडाको मलमा अतिरिक्त कर लगाउने तयारीमा ट्रम्प
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आउने चामल र क्यानडाबाट आउने मलमा अतिरिक्त कर लगाउने विचार गरिरहेको बताएका छन्।
ह्वाइट हाउसमा किसानहरूका लागि नयाँ आर्थिक सहयोगको घोषणा गर्दै ट्रम्पले विदेशबाट आउने सस्तो सामानले अमेरिकी किसानहरूलाई नोक्सान पुर्याइरहेको बताए।
ट्रम्पका अनुसार भारत, भियतनाम र थाइल्याण्ड जस्ता देशले अमेरिकामा निकै सस्तो मूल्यमा चामल बेचिरहेका छन्, जसले गर्दा अमेरिकी किसानको आम्दानी घटिरहेको छ। उनले यसलाई डम्पिङको संज्ञा दिँदै यस्तो कार्य रोक्नुपर्ने बताए।
कुनै देशले आफ्नो उत्पादन अर्को देशमा लागतभन्दा निकै कम मूल्यमा बेच्नुलाई ‘डम्पिङ’ भनिन्छ। यसो गर्दा स्थानीय कम्पनी र किसानहरूले त्यो सस्तो मूल्यमा सामान उत्पादन गर्न सक्दैनन् र बजारमा विदेशी सामानको कब्जा हुन्छ।
ट्रम्पले आफ्ना अर्थमन्त्रीसँग भारतले चामलमा कुनै विशेष छुट पाएको छ कि छैन भनेर सोधपुछ समेत गरेका छन्। जवाफमा मन्त्रीले दुई देशबीच व्यापार सम्झौतामा छलफल भइरहेको जानकारी दिए।
ट्रम्पले आवश्यक परे क्यानडाबाट आउने मलमा पनि कडा कर लगाउन सकिने चेतावनी दिएका छन्। क्यानडाले अमेरिकालाई सबैभन्दा बढी पोटास मल आपूर्ति गर्छ।
यद्यपि, अमेरिकामा बढ्दो महँगी र लागतका कारण किसानहरू समस्यामा छन्। यदि मलमा नयाँ कर लाग्यो भने किसानहरूको समस्या झनै बढ्न सक्छ।
यदि ट्रम्पले अतिरिक्त कर लगाए भने अमेरिकामा भारतीय चामल निकै महँगो हुनेछ। यसले गर्दा अमेरिकामा भारतीय चामल किन्ने उपभोक्ताको खर्च बढ्नेछ। मूल्य बढेपछि अमेरिकी बजारमा भारतीय चामलको माग घट्न सक्छ।
अमेरिकामा चामल निर्यात गर्ने भारतीय किसान र व्यापारीलाई आर्थिक नोक्सान हुन सक्छ। भारतले आफ्नो चामल बेच्नका लागि नयाँ देशहरूको खोजी गर्नुपर्ने हुनसक्छ।
मिडिया रिपोर्टका अनुसार भारतले अमेरिकामा धेरै ठूलो परिमाणमा चामल निर्यात गर्दैन, त्यसैले यसले सिङ्गो उद्योगलाई ठूलो असर नपारे पनि अमेरिकामा व्यापार गर्नेहरूलाई भने समस्या पर्नेछ।
स्मरण रहोस्, ट्रम्पले आफ्नो ‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत भारतमाथि यसअघि नै विभिन्न कारण देखाउँदै ५० प्रतिशतसम्म कर लगाइसकेका छन्।
मंसिर २३, २०८२ मंगलबार ०८:१९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।