कुलमानको पहिलो निर्णय नै अवैध, सर्वोच्चको आदेशमा फर्किए हितेन्द्रदेव
काठमाडौं : कुलमान घिसिङ उर्जामन्त्री भएपछि आफूलाई विस्थापित गरेर नेपाल विद्युत् प्राधिकरण प्रबन्ध निर्देशक बनेका हितेन्द्रदेव शाक्यलाई हटाए। एमाले नेतृत्वमा सरकार बने लगत्तै लामो रस्साकस्सीपछि सरकारले उनलाई हटाएको थियो। जेनजी आन्दोलनको बलमा शाक्य उर्जामन्त्री भएपछि उनले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्रबन्ध निर्देशक बनाएका थिए।
उनको निर्णय सार्वजनिक भए लगत्तै बदलाप्रेरित भन्दै आलोचना भएको थियो। शाक्य निर्णय विरुद्ध सर्वोच्च अदालत गएका थिए। अन्तमा सोमबार सर्वोच्चले कुलमानको निर्णय कानुन विपरीत भन्दै शाक्यलाई प्राधिकरणमा पुनर्स्थापित गर्न आदेश दियो।
रिटमा सोमबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दियो। असोज ५ मा मन्त्रिपरिषद् बैठकले शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने र प्राधिकरणको कार्यकारी निर्देशकमा सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको थियो।
सरकारको निर्णयविरुद्ध शाक्यले कात्तिक १३ गते सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। कात्तिक २१ मा रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। दुई पटक हेर्न नमिल्नेमा परेको रिटमा सोमबार सुनुवाईहुँदा शाक्यको पक्षमा रिट जारी भयो।
रिट मात्र जारी भएन अदालतले कुलमानको निर्णयमाथि कानुनी प्रश्न समेत उठायो। आदेशमा प्राधिकरणको कार्यकारी निर्देशकलाई सो पदबाट हटाउनु पर्दा नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको सर्त तथा सुविधासम्बन्धी विनियमावली वा निजसँग गरिएको कार्यसम्पादन सम्झौतामा उल्लिखित प्रक्रिया र आधारमा हटाउन सकिने भन्दै कुनै प्रकृया अबलम्बन नगरी पदबाट हटाएको र कुलमानको प्रस्ताव नै पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिन आएको टिप्पणी समेत गर्यो।
केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारले २९८१ चैत ११ मा प्राधिकरणको प्रबन्ध निर्देशक रहेका कुलमानलाई पदबाट बर्खास्त गरेर शाक्यलाई नियुक्त गरेको थियो। घिसिङ त्यसविरुद्ध सर्वोच्च गएका थिए। जेनजी आन्दोलनको बलमा सुशीला कार्कीको मन्त्रीपरिषद्मा कुलमान ऊर्जासहितको मन्त्री भएर आएपछि शाक्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरेर सिलवाललाई कार्यकारी निर्देशक बनाएका थिए।
मंसिर २२, २०८२ सोमबार २१:३८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।