अभिमन्यु च्याप्टर १ : क्राइम जनरामा 'लुट' पछि बलियो फिल्म, तर निर्माताको लोभले ट्रेन्ड सेटर बन्न चुक्यो !
नेपाली फिल्मको इतिहासमा लुटलाई टर्निङ पोइन्ट मानिन्छ। कारण, १३ वर्ष अगाडि नेपाली फिल्मको बजार लगभग कोल्याप्सको अवस्थामा पुगेको बेलामा यसले दर्शकलाई हलमा फर्काएको थियो। क्राइम सस्पेन्स जनरामा बनेको यो फिल्म रिलिज भएपछि निश्चल बस्नेतको मात्रै हैन सौगात मल्लसहितका कलाकारको समेत दिन फर्किएको थियो।
अहिले नेपाली फिल्म बजारको अवस्था ठ्याक्कै त्यही अवस्थामा छैन। गत वर्ष एकै फिल्मले ७० करोडसम्म व्यापार गर्यो। यो वर्ष पनि उनको स्वेटर, जेरी अन टप अनि परानले १० करोडमाथिको ग्रस कलेक्सन गरिसकेका छन्।
तर विश्वभर लोकप्रिय अनि व्यापारमा अन्य विधालाई सहजै टक्कर दिने क्राइम जनरा भने लगभग कोल्याप्सकै अवस्थामा छ। केही फिल्मले प्रयास नगरेका हैनन्, तर क्राइम, थ्रिलर अनि सस्पेन्स उनीहरूको ट्यागलाइनमा मात्र समेटिँदा लोकप्रिय यो विधा बौरिन सकेन।
हलमा लागिरहेको फिल्म अभिमन्यु च्याप्टर वान यो मानेमा यो विधालाई स्थापित गरेर टर्निङ पोइन्ट बन्न सक्थ्यो। फिल्ममा यसका प्रशस्त सम्भावनाहरू पनि छन्। तर लो बजेटमा फिल्म सक्काउन निर्माताले प्रप्स, लोकेशन र प्रविधिमा खर्च गर्न लोभ गर्दा यो विधागत रूपमा टर्निङ पोइन्ट बन्न असफल भयो।
तर लुटपछि नेपालमा क्राइम सस्पेन्स जनरामा जति पनि फिल्म रिलिज भएका छन् त्यसमा यो अब्बल बन्न भने सफल भएको छ।
अब लागौँ कथासारतिर।
विराटनगरको रानीबारी गाउँका अभिमन्यु कामत (कामेश्वर चौरसिया) मन कमलो छ। कमजोर आर्थिक पारिवारिक पृष्ठभूमीसँगैको संघर्ष अनि मधेसमा सामाजिक अपराधको रूपमा जरा गाडेको दाइजो प्रथाबाट पीडित नै यो फिल्मको मुख्य पात्र हुन्।
बाल्यकालमै अभिभावक गुमाएपछि सानैबाट हुर्काएकी बहिनीले दाइजोकै कारण जीवन त्याग्न बाध्य भएपछि मानसिक ट्रमामा परेका यी पात्र योजना भन्दा पनि आवेग थाम्न नसक्दा पटक पटक कारागार पुगिरहन्छन्।
उनलाई लाग्छ अभिमन्युको नजरबाट कोही बच्न सक्दैन। तर उनी प्राय अन्यको नजरको सिकार भइरहन्छन्। जेलबाट बाहिरिएर सामान्य जीवनयापन गर्न मजदुरी गरिरहेका उनको भेट हुन्छ लीला (लक्ष्मी बर्देवा) सँग।
भट्टीमा भएको भेट बिस्तारै प्रेममा बदलिन्छ। उनी लीलासँग विवाह गरेर नयाँ जीवनको सुरुवात गर्न चाहन्छन्। तर पुन जेल पुग्छन्। कसरी? यसका लागि हलसम्म जानु नै उत्तम।
निर्देशन र कथा गजब
क्राइम सस्पेन्स फिल्मको सबैभन्दा ठूलो चुनौती नै प्रारम्भदेखि नै कथामा दर्शकको ध्यान केन्द्रित गराउनु नै हो। सस्पेन्स भएकाले कतै कथाको धागो फुत्किएर दर्शकले विचतिरै अनुमान गर्न सके भने फिल्म फ्लप हुने जोखिम उच्च हुन्छ।
फिल्म अभिमन्युको सबैभन्दा बलियो पक्ष नै फिल्मको प्रारम्भदेखि अन्त्यसम्म कथामा दर्शकलाई केन्द्रित गराउन सक्नु नै हो। दर्शकलाई अड्काउने हुक दृश्यमा यो निकै प्रभावकारी बनेको छ। पात्रको चरित्र चित्रण र प्रस्तुतिमा काल्पनिकभन्दा विश्वसनीयताको मात्रा टन्न छ। एकाधबाहेक अधिकांश दृश्य विश्वसनीय बनाउन निर्देशकले राम्रै मिहिनेत गरेका छन्।
क्राइम सस्पेन्स फिल्ममा अर्को चुनौती भनेको सस्पेन्स र सरप्राइजबीचको सन्तुलन हो। के भइरहेको छ, कसले गरिरहेको हो अनि किन भइरहेको छ भन्ने प्रश्नमा दर्शक अल्झिरहेनन् भने फिल्म रोचकको साटो बोरिङ हुन थाल्छ।
यस्तो फिल्म हेर्दै दर्शकले मनमनै यस्तो होला अब भनेर अनुमान लगाउँदै जाने बनाउनु नै सफल फिल्मको गुण हो। यसमा अभिमन्यु सफल छ। क्राइम फिल्ममा पात्रहरू प्राय पीडित, अनुसन्धानकर्ता/प्रहरी र अपराधी नै हुन्।
त्यसमा अपराधको जालो र त्यसका सहभागीहरूको चरित्र चित्रण महत्त्वपूर्ण पक्ष हुन्छ। हरेक पात्रको व्यवहार, उद्देश्य, मनोविज्ञान र परिवर्तनलाई विश्वसनीय बनाउनु निकै कठिन काम हो। यसमा पनि निर्देशक सफल देखिन्छन्।
अपराधी जादुगर झैँ चमत्कारिक भयो भने वास्तविकता हराउँछ अनि धेरै मूर्ख देखियो भने पनि फिल्म कमजोर हुन्छ। अपराधीको योजना ‘विश्वासयोग्य हुनुपर्छ। फिल्मका क्यारेक्टरलाई यही अनुसार निर्देशक सुशान्त गौतम चित्रण गर्न सफल भएका छन्।
क्राइम सस्पेन्स थ्रिलर फिल्ममा दर्शक सधैँ सोच्ने र अनुमान गर्ने स्थान खोज्छन्। अब के होला? भन्ने प्रश्न कायमै राख्न सकियो भने मात्र यो चुनौती पार गर्न सकिन्छ। अन्तिम ट्विस्ट बलियो भएन भने फिस्स हुन्छ र फिल्म कमजोर ठहरिन्छ। यसमा यो पक्ष पनि सशक्तै छ।
दर्शकमा भ्रम उत्पन्न गराइएन भने क्राइम सस्पेन्स थ्रिलर फिल्मको अर्थ हुन्न। यसमा जोखिम भनेको धेरै भ्रमित बनायो फिल्म नै फोहर हुन्छ अनि कम राख्दा ट्विस्ट नै हराउन सक्छ। यो पक्षमा अभिमन्यु पुरै सफल त भएको छैन तर जोगिने प्रयास गरेको छ।
अपराध, अनुसन्धानकर्ताको खोज, ट्विस्ट अनि अन्तिममा खुलासा। यही नै हो क्राइम सस्पेन्स थ्रिलर फिल्मको शैली। यसमा एक पक्ष मात्रै फुत्कियो भने पुरै फिल्म नै फितलो हुन्छ। यी चार चरणमा अभिमन्युको कथा राखेर हेर्ने हो भने सफल छ।
क्राइम जनराको फिल्मको अर्को समस्या भनेको एकै प्याटर्न पछ्याउनु हो। अपहरण वा हत्या लगायतका विषयमा कथा बुन्दै जाँदा प्राय फिल्ममा सस्पेन्स र ट्विस्टका लागि एकै विधि प्रयोगहुँदा अब के हुन्छ दर्शकले सहजै थाहा पाउँछन्। अनि त्यहाँ क्राइम त हुन्छ तर न सस्पेन्स जोगिन्छ न थ्रिल नै अनुभव हुन्छ। यो पक्षमा पनि अभिमन्यु बलियो छ।
फिल्मको नाम पात्रबाट जुराइएको छ। तर ती पात्रको चरित्र जसरी निर्माण गरिएको छ त्यो महाभारतका अभिमन्यु पात्रसँग ठ्याक्कै मेल खान्छ। महाभारतका अभिमन्युमा असाधारण युद्ध कौसलको ज्ञान छ। चक्रव्यूह तोड्ने ज्ञान छ तर आधा। त्यसैले उनी कौरव सेनाले रचेको चक्रव्यूह भित्र प्रवेश गर्न सफल हुन्छन् तर बाहिर निस्कने ज्ञान नहुँदा मारिन्छन्।
फिल्मका अभिमन्यु मन कमलो भएको, तर अन्याय विरुद्ध भिडिहाल्ने स्वभावका छन्। उनलाई आफ्नो नजरबाट कोही बच्न नसक्ने भ्रम छ। उनी आफूलाई बाठो सम्झन्छन् तर आफै जालमा फस्छन्। यो मानेमा फिल्मको शीर्षक मिलेको छ।
अभिनयमा कामेश्वर हावी
फिल्ममा मेगास्टार वा सुपरस्टार भनेर ट्याग पाएका अनि वाहवाही कमाएका कुनै स्टारकास्ट गरिएको छैन। कलाकारिताबाट दिक्क भएर माछा बेच्ने पसल खोल्दा पनि असफल भएका अभिनेता कामेश्वर चौरसिया मुख्य भूमिकामा छन्। कामेश्वर गजबको अभिनय क्षमता भएका कलाकार हुन्, केवल उनको क्षमता चिनेर निर्देशकले अभिनय गराउन नसकेका मात्र हुन् भन्ने सबैभन्दा बलियो प्रमाण अभिमन्युमा उनको अभिनय हो। कामेश्वरको क्षमता अनुसारको कला निकाल्न निर्देशक सुशान्त सफल भएका छन्।
लीलाको भूमिकामा रहेकी लक्ष्मी बर्देवा अर्को मुख्य भूमिकामा छिन्। उनको अभिनयले फिल्मको गतिलाई बढाउन सहयोग पूर्याएको छ। तर वाह नै भन्ने तहको अभिनय भने छैन। मध्यम छ उनको अभिनय। नेताको भूमिकामा रहेको शिशिर वाङ्देल प्रहरी इन्स्पेक्टर बनेका किरण श्रेष्ठ, प्रहरीको सई बनेकी सविता अधिकारीको अभिनय पनि मध्यमै हो। किरण बाहेक अन्यले चरित्रलाई राम्रै साथ दिएका छन्।
सरिता गिरी र गौमाया गुरुङको अभिनय ठिकठिकै छ। निर्देशक गौतमले अभिनेत्री रेखा थापालाई सर्प्राइज प्याकेजमा प्रयोग गरेका छन्। उनी ‘अभिमन्यु च्याप्टर २’का लागि टिजर शैलीमा भित्रिएकी छिन्। उनको पात्र कस्तो छ भन्ने त अभिमन्यु च्याप्टर २ ले नै देखाउँछ।
बेजिएमले कथाको गतिलाई साथ दिएको छ। संगीत पक्ष भने निकै कमजोर छ फिल्मको। सम्पादन र क्यामरा वर्क केही ठाउँमा चिप्लिए पनि समग्रमा फिल्मको थिम अनुसार सुहाएको छ।
जहाँ निर्देशक चुके
अपराध कथाका फिल्ममा घटना, अनुसन्धान प्रक्रिया, कानुनी पक्ष, अपराधीको मनोविज्ञान सबै यथार्थपरक देखिनु पर्छ। नक्कलीपनले फिल्म कमजोर बनाउँछ। घटनामा निर्देशक बलियो छन्। तर अनुसन्धान प्रक्रिया, कानुनी पक्षमा भने उनी कमजोर देखिए।
क्रूर हत्यामा दोषी ठहर भएका पात्र गणतन्त्र दिवसमा आममाफी पाएर पाँच वर्षमै छुट्छन्। नेपालको कानुन अनुसार क्रूर अपराधको पुष्टि भएमा कमसेकम २० वर्ष कैद सजाय हुन्छ। क्रूर अपराधको सजायमा रात र दिन गनेर कैद कट्टा हुन्न। अनि असल चालचलनका आधारमा बाँकी कैद मिनाहा पाउन कमसेकम ६० प्रतिशत कैद भुक्तान गरेको हुनुपर्छ।
अर्थात् यथार्थमा अभिमन्यु पाँच वर्षमा हैन १२ वर्षमा मात्र कैद सजाय माफी पाएर कारागारमुक्त हुन सक्थे। पाँच वर्षको ठाउँमा १२ वर्ष राख्दा पनि स्टोरीको गतिमा फरक पर्दैनथ्यो। कथामा ट्विस्ट दिन अनावश्यक दृश्य राखेका छन्। जस्तो खोला किनारमा शव फेला पर्नु। यसले दर्शकलाई अलमल्याउने बाहेक थप योगदान दिन्न।
फिल्मको अधिकांश ट्विस्ट र सरप्राइज दोस्रो हाफमा लगेर थुपार्दा फिल्मको गति अलि बढी नै फास्ट अनुभव हुन्छ। कतै कतै दर्शक अलमलिन्छन्। क्यारेक्टरको निर्माणमा पहिलो हाफमा धेरै समय लगाउँदा अलि स्लो बनेको छ फिल्म। पहिलो हाफमा सुस्त अनि दोस्रो हाफमा कथा दौडाएको दौडाइ गर्नुको साटो गतिको व्यवस्थापन गरेको भए अझ बलियो बन्न सक्थ्यो फिल्म।
फिल्ममा प्रप्स र सेटमा पनि उत्तिकै काम चलाउ काम गरिएको छ। फिल्ममा प्रहरीको इन्ट्रीका लागि राखिएको भोजपुरी गीतको अर्थ के? कामै छैन। गीतमा प्रहरी निरीक्षक बनेका पात्र नाच्दा नाच्दै अभिमन्युलाई समात्न हतकडी लिएर आउँछ। तर त्यो फिल्ममा त्यो दृश्यको कनेक्सनै छैन।
पहिला गीतको छायाङ्कन गर्दा यही दृश्यबाट कामेश्वरलाई प्रहरीले समातेको प्लट बनाएको तर पछि प्लट बदलियो। तर गीत बदलिएन। अनि गीत अर्थ न बर्थको भयो। दर्शक अलमलमा परे। भोजपुरी गीत फिल्मबाट चट्ट हटाउँदा फिल्म कमजोर हैन बलियो नै बन्छ।
प्रहरी बनेका पात्रको ड्रेसअप उदेक लाग्दो छ। उ कहिले प्रहरी पोशाकमा देखिन्छ त कहिले सादा पोशाकमा। प्रहरी पोशाकमा उही पुरानो शैलीको राजेश हमाल जस्तो कपाल हल्लाउँदै प्रहरीको टोपी लगाएको देखिन्छ। अनुसन्धानमा अहिले सादा पोसाककै प्रहरी परिचालित हुन्छन्। यसमा ती क्यारेक्टरलाई प्रहरी पोसाक लगाउनै आवश्यक थिएन।
अर्को झल्लु दृश्य चैँ किडन्यापर खोज्न प्रहरी जाँदाको छ। प्रहरीको एउटा हातमा वाकेटकी अनि अर्को हातमा पेस्तोल भिराएका छन् निर्देशकले। वाकेटकी कि यसो ड्रेसतिर झुन्ड्याएर हातमा पेस्तोल पो लिन्छन् त। दुवै हात व्यस्त भएपछि ती प्रहरीले गोली चैँ कसरी चलाउँछन्?
अनि केही क्लोज सटमा प्रहरीले कम्मरमा पेस्तोल राख्ने कभरमा पेस्तोल देखिन्न। हातमा पनि पेस्तोल हुन्न। प्रहरी कार्यालय भनेर प्रहरी तालिम केन्द्रको प्राङ्गण प्रयोग भएको छ। यति सेट बनाउन पनि निर्माताले र्याल चुहाउनु चैँ गजबकै पारा हो।
मधेसको पात्र बनेकी लक्ष्मी बर्देवाको क्यारेक्टर र टोन एकनासको छैन। उनको लवज फिल्मभरि बदलिइरहन्छ। छायाँकनकाक्रममा केही स्थानका दृश्य कामचलाउ खिचिएको छ। अभिमन्यु बनेका कामेश्वर “मान्छेलाई बाटोबाट उठाएर यातना दिने भन्दै प्रहरीको अगाडि टेबलमा टाउको ठोक्छन्। त्यसले केही समय दर्शक झसङ्ग भए जस्तो देखिए पनि क्यारेक्टरमा त्यो दृश्यको कुनै अर्थ छैन। त्यति जोरले टेबलमा टाउको ठोक्दा पनि निधारमा सामान्य चोट पनि नलाग्नु अर्को गजबको सोच हो निर्देशकको।
अभिमन्यु कमजोरीरहित फिल्म हैन। तर यो कमजोरीका अधिकांश कारक निर्देशक भन्दा पनि निर्माता देखिए। लो बजेटमा फिल्म सक्काउन खोज्दा फिल्म केही हदसम्म कमजोर बनेको छ।
तर क्राइम सस्पेन्स जनराको फिल्मको फ्रेममा राख्दा सफल फिल्म बन्न जे जे तत्त्व चाहिन्छ ती सबै तत्त्व फिल्ममा छ। स्टोरीबाट दर्शकलाई हुक गराउन सक्नु र अन्तिमसम्म सस्पेन्स कायमै राख्न सक्नु यो फिल्मको सबैभन्दा बलियो पक्ष हो। कामेश्वरको अभिनय दर्शकका लागि सर्प्राइज।
यदि निर्माताले लगानीमा अलि मुट्ठी फुकाएको भए अनि निर्देशकले सम्पादनमा अलि ध्यान दिएको भए यो फिल्म नेपाली क्राइम सस्पेन्स जनरामा ट्रेन्ड सेटर बन्ने पक्का थियो। लगानीको लोभ अनि अपराधबारे प्राविधिक पक्षको केही ज्ञानको अभावले फिल्म ट्रेन्ड सेटर बन्न चुक्यो। तर क्राइम सस्पेन्स जनरामा बलियो फिल्म बन्न सफल भयो।
मंसिर २२, २०८२ सोमबार १९:३४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।