ओलीको ‘कम्फर्ट जोन’मा पोखरेलको हस्तक्षेप : ‘कोर्स करेक्सन’ गर्न दबाब

ओलीको ‘कम्फर्ट जोन’मा पोखरेलको हस्तक्षेप : ‘कोर्स करेक्सन’ गर्न दबाब

काठमाडौं : एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्व र नीतिको बहस पेचिलो बन्ने संकेत देखिएको छ।

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्व र कार्यदिशामाथि समीक्षाको माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो लिखित ‘अवधारणा पत्र’ बुझाएका छन्।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर वरिष्ठ उपाध्यक्ष पोखरेलले उक्त अवधारणा पत्र महासचिव शङ्कर पोखरेलमार्फत बुझाएका हुन्। अध्यक्ष ओलीले समय नदिएपछि उनले महासचिवमार्फत नै आफ्नो अवधारणा पत्र पेश गरेका हुन्।

नेतृत्व र नीतिमा नयाँ बहसको माग

वरिष्ठ उपाध्यक्ष पोखरेलले बुझाएको अवधारणा पत्र केवल औपचारिकतामा सीमित छैन। उनले महाधिवेशनको बन्दसत्रमा ‘अवधारणा पत्र’लाई प्रस्तुत गरी प्रतिनिधिहरू माझ खुल्ला छलफल गराउन माग गरेका छन्। यसले महाधिवेशनमा सर्वसम्मतिको साटो विचार र नेतृत्वमा प्रतिस्पर्धा हुने स्पष्ट संकेत गरेको छ।

अवधारणा पत्रमा पार्टी महाधिवेशनमा पार्टीको कार्यक्रम, कार्यदिशा, संगठनात्मक सिद्धान्त र नेतृत्वका सम्बन्धमा छलफलको माग गरिएको छ। भदौ २३ गतेको ‘जेन-जी’ आन्दोलन र भदौ २४ गतेका घटनाक्रमपछि मुलुकको राजनीतिमा असाधारण फेरबदल आएको निष्कर्ष पोखरेलको छ। पार्टीका पुराना निष्कर्षहरूलाई जस्ताको तस्तै लागु गर्नुभन्दा बदलिएको परिस्थितिअनुसार अद्यावधिक गर्नुपर्ने र पार्टीले लिएका नीति तथा कार्यनीतिको निर्मम समीक्षा हुनुपर्नेमा जोड दिइएको छन्।

नेतृत्व परिवर्तन र वैचारिक पुनरावलोकनको यो प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पोखरेल एक्लै देखिएका छैन। अवधारणा पत्र बुझाउन जाँदा उनीसँगै उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली, सचिव योगेश भट्टराई लगायतका नेताको उपस्थिति थियो। जसले पार्टीभित्रको एउटा ठूलो तप्काले नेतृत्वमा विकल्प र विचारमा परिमार्जन खोजिरहेको सन्देश दिएको छ।

पोखरेलले अवधारणा पत्रमा भनेका छन्, 'राष्ट्रिय महाधिवेशनमा पार्टीको कार्यक्रम, कार्यदिशा, संगठनात्मक सिद्धान्त र नेतृत्वका सम्बन्धमा छलफलको आवश्यकता देखिएको छ। हिजोका हाम्रा कतिपय निष्कर्षलाई नयाँ सन्दर्भमा अद्यावधिक गर्न जरुरी भएको छ।'

मंसिर २२, २०८२ सोमबार १९:०२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।