बालेनको च्यानल फापेन ! ट्रेलरको नयाँ प्लेटफर्मतिर सरे पाँडे
काठमाडौं : आगामी पुष ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झरीपछिको इन्द्रेणी’को चर्चा बल्ल सुरु भएको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले ट्रेलर रिलिज गरेको हो। ट्रेलरमा ‘जेन्जी’ युवाको कथा र उनीहरूको सेरोफेरो बुनिएको देखिन्छ।
तर, अहिले फिल्मको ट्रेलरको कन्टेन्टभन्दा पनि गीतको भिडियो र ट्रेलर छुट्टा-छुट्टै च्यानलबाट रिलिज भएको विषयले बढी चर्चा पाएको छ। हास्य टेलिश्रृंखला ‘सक्किगोनी’का कलाकार अर्जुन घिमिरे ‘पाँडे’को टिमले आइतबार ओएसआर डिजिटलमार्फत २ मिनेट ५५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गर्यो। यसअघि फिल्मको प्रमोसनल गीत ‘फसायो लमी’ काठमाडौं महानगरपालिकाका मेयर तथा र्यापर बालेन्द्र शाह 'बालेन'को युट्युबबाट रिलिज गरिएको थियो।
बालेनको चर्चा र हाइपले गीतको भ्युज उचाइमा पुग्ने निर्माण टिमको भ्रम थियो। तर, तीन साताअघि रिलिज भएको उक्त लोकलयको गीतले सोचेजस्तो साथ पाएन। ३ लाख ७३ हजार भ्युजमा सीमित हुनु र कमेन्ट पनि खासै नआउनुले निर्माण टिम झस्कियो।
गीत नचलेको डरले नै ट्रेलर ओएसआरबाट ल्याइएको हो त? आइतबारको ट्रेलर रिलिज कार्यक्रममा पत्रकारको यो प्रश्नलाई निर्देशक घिमिरेले स्वीकारे। उनले भने, ‘तपाईंले भनेकै हो, बालेनको युट्युबमा गीत नचलेको डरले ट्रेलर अन्त (ओएसआरमा) हालेका हौं।’
फिल्ममा बालेन शाहको लगानी रहेको चर्चा चलेपनि निर्देशक घिमिरेले त्यसको खण्डन गरेका छन्। उकेरासँगको कुराकानीमा उनले बालेनको लगानी नरहेको तर उनको एउटा गीत भने फिल्ममा रहेको प्रष्ट्याए। फिल्म कलाकारहरूकै स-साना लगानीमा निर्माण भएको उनले बताए।
फिल्मको कथावस्तु भने गम्भीर विषयमा केन्द्रित छ। ट्रेलरमा भ्रष्टाचार र बेथितिविरुद्ध एक युवाले काठमाडौंको माइतीघर मण्डलाबाट थालेको आन्दोलन देखाइएको छ। विदेश गएर उच्च शिक्षा अध्ययन गर्ने सपना पुरा नहुँदा कसरी युवाहरू विद्रोहमा उत्रिन्छन् भन्ने विषय यसमा समेटिएको छ। निर्देशक पाँडेले जेन्जी आन्दोलन हुनु अगावै फिल्म खिचिएकाले अहिलेको घटनासँग मेल खान गए त्यो संयोग मात्र हुने बताए।
नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा गणेश, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई र बाल कलाकार दिप्सन चिलवालको अभिनय छ। गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा छन्।
निर्देशक घिमिरेकै कथा रहेको फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् भने बुद्ध थापाले छायांकन गरेका हुन्। अनिशा सेन्दाङ लिम्बु, अनु थापा, पंकज खड्का, सिर्जना खड्का र सुवास शर्माको लगानी रहेको फिल्ममा राम कार्की सह-निर्माता तथा योगेश खतिवडा र विनोद कँडेल लाइन प्रोड्युसर रहेका छन्।
मंसिर २२, २०८२ सोमबार १८:३५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।