खगेन्द्र र वर्षाको स्टारडमले तानेन दर्शक, ‘हर्ष’को व्यापार निराशाजनक
काठमाडौं : चलचित्र विकास बोर्डले हाल प्रदर्शनमा रहेका फिल्महरूको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। सार्वजनिक रिपोर्टमा एउटा फिल्मले वर्षकै सर्वाधिक कमाउने कीर्तिमान रच्दै बक्स अफिसमा राज गरिरहेको छ भने अर्कोतर्फ स्टार कलाकारहरूको अभिनय रहेको फिल्म भने दर्शक तान्न असफल देखिएको छ। बोर्डले आफ्नो आधिकारिक एपमार्फत उपलब्ध गराएको शनिबार रातिसम्मको रिपोर्टअनुसार फिल्महरूको अवस्था यस्तो छ :
‘परान’को व्यापार सन्तोषजनक
दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको फिल्म ‘परान’ बक्स अफिसमा सर्वाधिक सफल देखिएको छ। कार्तिक १४ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले १७ करोडको नजिक कमाइ गरेको छ। बक्स अफिस रिपोर्ट अनुसार परानले हालसम्म १६ करोड ९७ लाख ९३ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
अघिल्लो साता १६ करोड १६ लाख ७७ हजार कलेक्सन गरेको फिल्मले एक सातामा करिब ८१ लाख रुपैयाँ थप गरेको छ। यस वर्ष सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा ‘परान’ दरिलो रूपमा उभिएको छ। फिल्ममा नीर शाह, केकी अधिकारी, बुद्धि तामाङ, पूजा चन्द, महेश त्रिपाठी लगायतको अभिनय छ।
‘जेरी अन टप’ ५१ औँ दिनमा
प्रदर्शनको ५१ औँ दिन पूरा गरेको सुयोग गुरुङ निर्देशित फिल्म ‘जेरी अन टप’ले १२ करोड २६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। अघिल्लो साताको कलेक्सनभन्दा यो तीन लाख बढी हो। अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्मले पछिल्लो साता बक्स अफिसमा सामान्य मात्र उपस्थिति जनाएको छ। १२ करोडको आँकडा पार गरे पनि फिल्मको व्यावसायिक रफ्तार अहिले सुस्त देखिएको छ।
‘जारी २’ र ‘मनबिनाको धन’को अवस्था
कार्तिक ६ गते भाइटिकाको अवसर पारेर रिलिज भएको उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २’ अझै प्रदर्शनरत छ। दयाहाङ राई, विजय बराल र मिरुना मगर अभिनीत फिल्मले ६ करोड २३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। अघिल्लो साता ६ करोड १९ लाख कलेक्सन गरेको फिल्मले चौथो सातामा पनि दर्शकको साथ पाइरहेको छ।
यस्तै, कार्तिक २१ गतेबाट प्रदर्शनमा आएको टंक बुढाथोकी निर्देशित फिल्म ‘मनबिनाको धन’ले ३ करोड ७९ लाख रुपैयाँ कलेक्सन गरेको छ। अघिल्लो साताको तुलनामा ५ लाख ग्रस कलेक्सन बढेको हो। बाल गायक अशोक दर्जी, एआर बुढाथोकी, सरोज खनाल, रवीन्द्र झा, बुद्धि तामाङ लगायतको अभिनय रहेको फिल्मको व्यापार अब अन्तिम चरणमा पुगेको देखिन्छ।
‘हर्ष’को व्यापार निराशाजनक
अमेरिकामा फिल्म मेकिङ पढेर आएकी निर्देशक एकता पौडेलको निर्देशन तथा खगेन्द्र लामिछाने र वर्षा राउत अभिनीत फिल्म ‘हर्ष’ बक्स अफिसमा कमजोर साबित भएको छ। मंसिर १२ गतेबाट प्रदर्शनमा आएको फिल्मले शनिबारसम्म जम्मा २८ लाख रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ। एकता पौडेलको निर्देशनमा बनेको यो फिल्मले दर्शक तान्न नसक्दा व्यापारिक रूपमा असफल उन्मुख देखिएको छ। दर्शकको न्यून उपस्थितिका कारण फिल्मले हलमा लामो समय निरन्तरता पाउन मुस्किल देखिन्छ।
यसैगरी, मंसिर ५ गते रिलिज भएको ‘पहिचान’को कलेक्सन बोर्डको तथ्यांकमा उल्लेख छैन भने मंसिर १८ गतेबाट प्रदर्शनमा आएको ‘अभिमन्यु : च्याप्टर १’ को आधिकारिक रिपोर्ट अर्को साता मात्र आउने जनाइएको छ।
मंसिर २२, २०८२ सोमबार १७:२३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।