सुनसरीमा सिटी सफारी चालक हत्या प्रकरण : तन्त्रमन्त्रको निहुँमा सुपारी दिएर हत्या, सात जना पक्राउ

सुनसरीमा सिटी सफारी चालक हत्या प्रकरण : तन्त्रमन्त्रको निहुँमा सुपारी दिएर हत्या, सात जना पक्राउ

धरान : सुनसरीको रामधुनीमा भएको सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

गत असोज २५ गते रामधुनी नगरपालिका-२, कर्मनिया टोलस्थित भित्री सडकखण्डमा ४५ वर्षीय चौधरीको हत्या भएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेका अनुसार पक्राउ पर्नेमा रामधुनी नगरपालिका-१ का ४३ वर्षीय राजकिशोर साह र ४० वर्षीय नन्दकिशोर साह, सप्तरी राजविराज-१६ का २८ वर्षीय अङ्कित साह र प्रिन्सकुमार दास, भोक्राहा नरसिंह-५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगञ्ज-४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगञ्ज-५ का २५ वर्षीय मिथिलेस यादव रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार मृतक चौधरीले तन्त्रमन्त्र गरी आफन्तहरूलाई दुःख दिँदै आएको आरोपमा योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको छ। पारिवारिक रिसइबीका कारण सुपारी दिई समूह परिचालन गरेर गोली हान्न लगाइएको एसपी थेबेले जानकारी दिए।

घटनाको अनुसन्धानका लागि प्रहरीले विशेष टोली गठन गरेको थियो। प्राविधिक विश्लेषण र स्थानीय तथा परिवारको बयानका आधारमा सुनसरी र सप्तरीका विभिन्न स्थानबाट अभियुक्तहरू पक्राउ परेका हुन्। प्रारम्भिक सोधपुछमा उनीहरूले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्।

पक्राउ परेका सातै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ। सुनसरी जिल्ला अदालतबाट मङ्सिर १७ गतेदेखि लागू हुने गरी १२ दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मंसिर २२, २०८२ सोमबार १३:४५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।