नुवाकोटमा भालुको आक्रमणबाट घाँस काट्न गएका ल्वाङ तामाङ घाइते

नुवाकोटमा भालुको आक्रमणबाट घाँस काट्न गएका ल्वाङ तामाङ घाइते

विदुर : नुवाकोटको सूर्यगढी गाउँपालिका-१, बरादी कलाङ्चेका ४२ वर्षीय ल्वाङ तामाङ जङ्गली भालुको आक्रमणबाट घाइते भएका छन्।

शुक्रबार घर नजिकैको जङ्गलमा घाँस काट्न गएको बेला तामाङलाई भालुले आक्रमण गरेको हो।

भालुको आक्रमणबाट गम्भीर घाइते भएका उनको अहिले काठमाडौंको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।

सूर्यगढी गाउँपालिकाका जनप्रतिनिधि रबिन्द्र तामाङका अनुसार घाइते ल्वाङको स्वास्थ्य अवस्था गम्भीर छ।

साथै, पीडितको पारिवारिक आर्थिक अवस्था अत्यन्त नाजुक रहेकाले उपचारमा आर्थिक समस्या परेको जनप्रतिनिधि तामाङले जानकारी दिएका छन्।

स्थानीय बासिन्दाले जङ्गल आसपासका क्षेत्रमा वन्यजन्तुको जोखिम बढेको भन्दै सचेत रहन र पीडितलाई सहयोगका लागि अपिल समेत गरेका छन्।

मंसिर २२, २०८२ सोमबार १२:५९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।