निर्वाचनका लागि १ सय ७ चुनाव चिह्न प्रदान, मतपत्रमा देखिनेछन् ‘लाइक’ र ‘भैँसी’देखि ‘प्रेमील मुटु’सम्म

निर्वाचनका लागि १ सय ७ चुनाव चिह्न प्रदान, मतपत्रमा देखिनेछन् ‘लाइक’ र ‘भैँसी’देखि ‘प्रेमील मुटु’सम्म

काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई चुनाव चिह्न प्रदान गरेको छ। निर्वाचन आउन ८७ दिन बाँकी रहँदा आयोगले सहभागी हुने दल र तिनका चिह्न टुङ्गो लगाएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनमा भाग लिन १२० दलले आवेदन दिए पनि प्रक्रिया पूरा गरेका १ सय १४ दल मात्र सहभागी हुनेछन्। जसमध्ये १०२ दलले एकल र १२ दलले संयुक्त रूपमा निर्वाचन लड्नेछन्।

संयुक्त रूपमा लड्ने दलहरूका लागि एउटै चिह्न प्रदान गरिएकाले कुल १०७ वटा चुनाव चिह्न कायम गरिएको आयोगले जनाएको छ। हाल आयोगमा कुल १४३ राजनीतिक दल दर्ता भए पनि ११४ दल मात्र चुनावी मैदानमा उत्रिएका छन्।

कुन दलको चिह्न के ?
आयोगले प्रदान गरेको चिह्नको सूचीमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा र चौथोमा घण्टी रहेका छन् ।

यसैगरी हलो, ढल्केको छाता, लाउड स्पिकर, पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो र दुई हात जोडेको नमस्कारलाई पनि निर्वाचन चिह्नका रूपमा प्रयोग गरिनेछ।

अन्य चिह्नहरूमा कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हसियाँ र तारा, कमलको फूल, माथिपट्टी फर्केको धनुष, गितार, घर, हसिँया, मोटरसाइकल, साँचो, दायाँ हातले समातेको मसाल, कछुवा, चङ्गा, बाँसुरी, गैँती र दापसहितको खुकुरी रहेका छन्।

त्यस्तै तुलसी मठ, गाग्री, ब्याट्री, मान्छेको काँधमा बोकिरहेको ढुङ्गा, ढाका टोपी, पुतली, सुगा, हथौडा, गोलाकार भित्र शंख, बज्र, हात्ती, उडिरहेको माहुरी, पुरुष, काखमा बच्चा लिएको आमा, चुच्चोले चिट्ठी बोकेर उड्न लागेको परेवा, अँजुलीमा रहेको माटो, बाली बोकेका महिलाको आकृति, कोदालो बोकेका किसान, त्रिशुुल, घोडा, गोलो घेराभित्र दुई पात भएको गुलाफलको फूल, लोककला कोरिएको गाग्रोमा आँपको कलश र त्यसमाथि नरिवल, कम्प्युटर किबोर्ड, गाडा निलो कलरको गोलाकारभित्र २४ किलाको चक्र, हात मिलाएको र चापाकल पनि दलहरूले चिह्नका रूपमा पाएका छन्।

आयोगका अनुसार बलिरहेको बिजुलीको चिम, सिट्ठी, प्रेम, ओदान, तीर, ट्रयाक्टर, रेडियो, रथ, तीन ढुङ्गे चुलो (अधिनो), ढुङ्गे धारा, गदा, भेडा, चश्मा, बलिरहेको दियो, बस, स्कुटर, पाँचमुखे रुद्राक्षको दाना, दुई वटा पैतला छाप, करुवा, षटकोण, सुकुन्दा, पुल, चकिया, माटोबाट उम्रिएको तीन पात भएको बिरुवा, गोलो घेराभित्र पानीको बोत्तल, बुल्डोजर, लुगा सिउने कल, हात मिलाएको महिला र पुरुष, परेवा, तराजु, खरायो, सेतो र कलो रङको जुत्ता, खुला किताब, खुलेको ताला, आवाज सुनिरहेको कान, श्रीवत्स (समृद्धिको प्रतीक), गोलाकारभित्र बुढी औँला उठाएको (लाइक), कोदालो, मकैका बाला, दुई औँला खुलेको र अरु औँला बन्द भएको हातको आकृति, जगर भएको सिंह, डुङ्गा र भैँसी पनि निर्वाचन चिह्नका रूपमा प्रयोग हुनेछन्।

मंसिर २२, २०८२ सोमबार ०७:५४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।