धादिङमा सात वटा गाडी ठोक्किँदा २ जनाको मृत्यु, ३३ घाइते

धादिङमा सात वटा गाडी ठोक्किँदा २ जनाको मृत्यु, ३३ घाइते

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धुनीबेँसी नगरपालिका-६ चालिसेमा सातवटा सवारीसाधन आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा ३३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा परेकामध्ये दुई जनाको सनाखत हुन बाँकी छ। उनीहरूको शव शिक्षण अस्पताल महाराजगन्जमा राखिएको प्रहरीले जनाएको छ।

सात सवारी एकैचोटि ठोक्कियो

प्रहरीका अनुसार शनिवार अपराह्न सवा ४ बजे एक भारतीय नम्बर प्लेटको डिब्बा कन्टेनरको ब्रेक फेल भएपछि अन्य सवारीलाई एकपछि अर्को गर्दै ठक्कर दिँदा ठूलो दुर्घटना भएको हो। दुर्घटनामा बा.१प ९१७ नम्बरको पर्यटकीय बस, ग.१ख ८५५१ नम्बरको बस, सामान बोक्ने कन्टेनर, भारतीय बस , स्कुल बस,  ट्रक  र मोटरसाइकल एक आपसमा ठोक्किएको थियो।

यी सबै सवारी ठोक्किँदा एकै ठाउँमा थुप्रो बनेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। सबैभन्दा पहिला कन्टेनरले स्कुल बसलाई ठक्कर दिएको थियो। त्यसपछि सोही दिशातर्फ तथा विपरीत दिशाबाट आएका सवारीहरू एकपछि अर्को दुर्घटनामा परेका थिए।

३३ घाइते, दुई जनाको अवस्था गम्भीर

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ३३ जनामध्ये केहीको धुनीबेँसीका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। गम्भीर घाइते २ जनालाई काठमाडौँ रेफर गरिएको प्रहरीले जानकारी दियो।

मंसिर २०, २०८२ शनिबार २२:०७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।