माइक्रोस्कोपमा जीवन नियाल्ने डाक्टर : जसको एउटा सल्लाहले बचायो युवकको भविष्य

माइक्रोस्कोपमा जीवन नियाल्ने डाक्टर : जसको एउटा सल्लाहले बचायो युवकको भविष्य

काठमाडौं : बेरोजगार हुन प्याथोलोजी पढेको भाइ ?

कुनै बेला सिनियर चिकित्सकबाटै आएको यो प्रश्नले प्रा. डा. अभिमन्यु झाको मनमा चिसो पस्यो। प्रयोगशालाभित्र रहेर माइक्रोस्कोपको सहायताले जीवन र मृत्युको सूक्ष्म मसिना धर्काहरू केलाउने यो विधालाई धेरैले कम महत्त्वको ठाने। तर, उनले यसको जवाफ बहसमा होइन, आफ्नो चिकित्सकीय कौशलबाट दिए।

घटना करिब १६ वर्ष अघिको हो। क्यान्सरको शंकामा २८ वर्षीय एक युवाको प्रजनन अंगको शल्यक्रिया गर्ने तयारी पूरा भइसकेको थियो। बिरामीको अंगच्छेदन गर्न शल्य चिकित्सक तयार थिए। तर, शल्यक्रियाको ठीक अघिल्लो साँझ आएको एउटा 'रिपोर्ट' र डा. अभिमन्युको ‘चिकित्सकीय राय’ले परिस्थिति बदलियो।

उनको सूक्ष्म परीक्षण र सही सल्लाहले ती युवाको अंग काटिनबाट जोगियो। पर्दा पछाडि रहेर रोगको प्रकृति अनुसार शल्यचिकित्सकलाई सही मार्गनिर्देश गर्ने तिनै प्रा.डा. अभिमन्यु झाको अनुभव आजको उकेरामा…

त्यो एउटा सल्लाह, जसले अंग गुम्नबाट बचायो

सुरुमा एक जना बिरामीको प्रजनन अंग बचाएको प्रसंगबाट कुरा अगाडि बढाऔं। यो करिब १६ वर्ष अघिको घटना हो, जुन डा. अभिमन्यु कहिल्यै भुल्दैनन्।

एक २८ वर्षीय युवा आफ्नो प्रजनन अंग (लिंग) मा समस्या देखिएपछि अस्पताल पुगेछन्। अस्पतालमा एक जना सिनियर शल्य चिकित्सकले ती युवाको लिंगमा समस्या देखिएको भागको तन्तु निकालेर बायोप्सी गर्न पठाए।

बायोप्सी रिपोर्टमा ती युवाको लिंगमा क्यान्सर भएको पुष्टि भयो। क्यान्सर पत्ता लागेपछि ती युवाको ज्यान बचाउनका लागि लिंग नै काट्नुपर्ने बाध्यात्मक अवस्था आयो। ज्यान बचाउनकै लागि भए पनि २८ वर्षे ती अविवाहित युवाको लिंग काट्नुपर्ने भएपछि ती सिनियर चिकित्सक सोचमग्न भए। उनले अंग विच्छेदन नगरी बचाउने कुनै विकल्प छ कि भनेर सोचे। यही क्रममा उनले हिस्टो-प्याथोलोजिष्ट डा. अभिमन्युलाई सम्झिए।

त्यही साँझ ती शल्यचिकित्सकले डा. अभिमन्युलाई फोन गरे। उनले २८ वर्षीय युवाको बायोप्सी गर्दा लिंगमा क्यान्सर देखिएकाले एक पटक बिरामीको बायोप्सी (स्लाइड) हेरिदिन आग्रह गरे।

भोलिपल्ट बिहान नौ बजेतिर शल्यक्रिया गरेर ती युवाको लिंग पूर्णरूपमा हटाउने योजना तय भइसकेको थियो। सिनियर शल्य चिकित्सकको अनुरोधपछि डा. अभिमन्युले शल्यक्रिया अघि नै बायोप्सीका लागि निकालिएको तन्तुको ‘स्लाइड’ पठाइदिन भने।

सल्लाह अनुसार नै भोलिपल्ट बिहान नौ बजे ती युवाका भाइ ‘स्लाइड’ लिएर त्रिवि शिक्षण अस्पतालस्थित डा. अभिमन्यु कहाँ पुगे। डा. अभिमन्युले माइक्रोस्कोपमा त्यो क्यान्सरको तन्तु भएको ‘स्लाइड’ गहिरिएर हेरे।

परीक्षणपछि उनले ती युवाको लिंग नकाटी नै क्यान्सर मुक्त गराएर ज्यान बचाउन सकिने चिकित्सकीय आधार देखे। उनले ती शल्यचिकित्सकलाई लिंग नकाटेर क्यान्सर भएको तन्तु मात्रै काटेर हटाउन सकिने सुल्झाए। साथै, उनले लिंगमा भएको क्यान्सरको भाग कहाँ-कहाँ काट्नुपर्ने हो, त्यसको स्पष्ट जानकारी पनि दिए।

डा. अभिमन्युको सुझाव अनुसार नै ती सिनियर शल्य चिकित्सकले ती युवाको लिंगलाई नकाटी, केवल क्यान्सर भएको भागको शल्यक्रिया गरे। शल्यक्रियापछि निकालिएको मासुको पुनः जाँच गर्दा त्यसमा क्यान्सरका कोषिका बाँकी नरहेको यकिन भयो। शल्यक्रिया सफल भयो। ती २८ वर्षीय अविवाहित युवाको ज्यान त बाँच्यो नै, डा. अभिमन्युको एउटा सही सल्लाहका कारण उनको प्रजनन अंग पनि सुरक्षित रह्यो।

शल्यक्रिया र औषधि उपचारपछि ‘फलोअप’ जाँच गर्दा ती युवा पूर्ण रूपमा क्यान्सर मुक्त भएको पाइयो। पछि ती युवाले विवाह पनि गरे र उनको परिवार समेत विस्तार भयो। एउटा युवाको प्रजनन अंग र भविष्य बचाउन सफल भएको त्यो क्षण सम्झँदा डा. अभिमन्युलाई अहिले पनि आनन्द लाग्छ।

यो घटनाबाट उनलाई ‘टिम वर्क’ (सामूहिक कार्य) गरेको खण्डमा बिरामीलाई बचाउन र उपचारमा थप सहज हुने विषयमा समेत नयाँ ज्ञान मिल्यो।

डा. अभिमन्यु र ती शल्य चिकित्सकका लागि यो खुसीको कुरा थियो। लिंग बचाएरै शल्यक्रिया सम्पन्न भएपछि ती सिनियर चिकित्सकले खुसी हुँदै डा. अभिमन्युलाई भनेछन्, ‘डा. अभिमन्यु थ्यांक्यू ! मैले यस्तो कुनै किताबमा पनि पढेको थिइनँ, यस्तो शल्यक्रिया कहिल्यै गरेको पनि थिइनँ। अब समन्वय गरौंला।’

सामान्यतया क्यान्सर वा रोगको शंका लागेका कोषको नमुना (टिस्यू वा सेलको स्याम्पल) लाई सिसाको सानो पातामा राखेर माइक्रोस्कोपबाट हेर्न मिल्ने गरी तयार पारिएको वस्तुलाई ‘स्लाइड’ भनिन्छ। शरीरको समस्या भएको ठाउँबाट नमुना (मासुको टुक्रा वा तन्तु) निकालेर के समस्या भएको हो भन्ने पत्ता लगाउन प्याथोलोजिष्टले यसको विश्लेषण गर्छन्।

स्लाइडमा तन्तु काटेर अत्यन्त पातलो तहमा राखिएको हुन्छ र कतिपय अवस्थामा विशेष रङको प्रयोग गरेर कोष स्पष्ट देखिने बनाइएको हुन्छ। यस्तो स्लाइड माइक्रोस्कोपले हेरेर रोगको प्रकृति, क्यान्सरको फैलावट र अवस्थाबारे डा. अभिमन्यु जस्ता प्याथोलोजिष्टहरूले निर्क्योल गर्छन्। यही विधि अपनाएर उनले ती युवाको लिंगमा क्यान्सर धेरै नफैलिएको निष्कर्ष निकालेका थिए, जुन उनको मुख्य चिकित्सकीय विधा हो।

शल्यक्रिया गरिएका ती युवा पछिसम्म पनि फलोअपमा आएको र अहिले पूर्ण रूपमा स्वस्थ रहेको डा. अभिमन्युले सुनाए।

भाषा नबुझेर रोएपछि...

डा. अभिमन्युको चिकित्सकीय यात्रा मात्र होइन, बाल्यकाल र अध्ययनको यात्राका उतारचढाव पनि उत्तिकै रोचक छन्। प्रसंग सुरु गरौं उनको बाल्यकालबाट नै।

धनुषाको जनकपुरमा २०२८ सालमा जन्मिएका अभिमन्यु झाका बुवा खाद्य संस्थानका जागिरे थिए। बुवाको जता-जता सरुवा हुन्थ्यो, उनको परिवार पनि उतै-उतै जानुपर्थ्यो। त्यसैले उनको विद्यालय तहको पढाइ ‘कहिले कता, कहिले कता’ भयो।

उनले कक्षा दुई र तीन कैलालीमा पढे, चार कक्षा दोलखाको चरिकोटमा पढे भने पाँच कक्षा पढ्न ललितपुरको पाटनस्थित पाटन व्यावसायिक माविमा भर्ना भए। पाटनमा नेवारी भाषामा पढाइ हुँदो रहेछ। भाषा नबुझेर एक दिन त उनी रोए नै। भाषा नै नबुझेपछि त्यो बेला अगाडिको डेस्कमा बसेका उनले उठेर, ‘नेपालीमा पढाउनु न मिस’ भने। त्यसपछि मिसले नेपालीमा पढाएको क्षण उनी अहिले पनि सम्झन्छन्।

पाटनपछि उनी सिन्धुपाल्चोक पुगे। सिन्धुपाल्चोकपछि फेरि उनी ललितपुरको त्रिपद्म विद्याश्रममा आठ कक्षामा भर्ना भएर पढे। त्यहाँको पढाइ असाध्यै राम्रो भएको अहिले पनि उनलाई स्मरण छ। फेरि बुवाको सरुवा जनकपुरमा भयो। अनि उनी बुबाआमासँगै जनकपुर गएर सरस्वती माविमा नौ कक्षामा भर्ना भए। त्यहीँबाट उनले २०४४ सालमा ७० प्रतिशत भन्दा बढी अंकका साथ प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे।

एसएलसीपछि अभिमन्यु जनकपुरकै रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा भर्ना भएर आइएस्सी पढ्न थाले। प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे पनि भविष्यमा के बन्ने भन्ने उनलाई यकिन थिएन। उनी त्यो बेला राम्रो चित्र कोर्थे। अध्ययनमा अब्बल र चित्रकलामा पनि रुचि भएकाले एक जना साथीले उनलाई डाक्टर बन्न सुझाव दिएछन्। साथीको सुझावपछि मात्रै उनलाई ‘भविष्यमा डाक्टर बन्नुपर्ला कि’ जस्तो सोच आयो।

आइएस्सी दोहोर्याएपछि...

अभिमन्युले आइएस्सीको पहिलो वर्षको परीक्षा दिए। परीक्षाको नतिजामा उनको ६० प्रतिशत अंक आयो। तर, त्यो प्राप्तांकले डाक्टर पढ्न नपाइएला कि भन्ने डरले उनी फेरि पहिलो वर्षबाटै आइएस्सी पढ्न थाले। त्यसपछि डाक्टर बन्ने सपना बुनेर निकै मेहनतका साथ उनले आइएस्सी पढे।

अन्ततः ६५ प्रतिशत भन्दा बढी अंकका साथ अभिमन्युले आइएस्सी पूरा गरे। तर, त्यति अंक ल्याएर पनि उनी अझै विश्वस्त थिएनन्। उनी सोच्थे, ‘यति नम्बरले त डाक्टरी विषय पढ्न पाइँदैन होला। काठमाडौंमा म भन्दा जान्ने विद्यार्थी कति होलान् कति!’

यही दुविधाकै बीचमा अभिमन्युले सरकारी कोटामा पाकिस्तानमा बीडीएस (दन्त चिकित्सा) र फार्मेसी विषय अध्ययनका लागि आवेदन खुल्दा ‘कस्तो हुँदो रहेछ’ भनेर छनोट परीक्षा दिए। उनी फार्मेसी अध्ययनका लागि छनोट पनि भए। त्यो छनोट परीक्षाको नतिजाले उनमा आत्मविश्वास जगायो, नाम निकाल्न सकिने रहेछ भन्ने आँट आयो। त्यसैले उनी छात्रवृत्ति पाएको फार्मेसी विषय पढ्न पाकिस्तान गएनन्। किनकि, त्यो बेलासम्म उनलाई एमबीबीएस नै पढ्ने रहर जागिसकेको थियो।

एमबीबीएस तयारी कक्षा सुरु गर्न प्रेरित गरेको त्यो गफ...

त्यसबेला नेपालमा एमबीबीएस अध्ययनका लागि कुनै तयारी कक्षा थिएन। ‘नेपालमा पनि भारतमा जस्तै एमबीबीएसको तयारी कक्षा भइदिए कस्तो राम्रो हुने थियो’ भनेर अभिमन्युले एक दिन महाराजगञ्ज चिकित्सा क्याम्पसमा एमबीबीएस पढिरहेका ४-५ जना सिनियर दाइहरूसँग गफ गरे।

गफमा महाराजगञ्ज चिकित्सा क्याम्पसका तत्कालीन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) का सभापति पनि सहभागी थिए। उनले एमबीबीएस अध्ययनका लागि तयारी कक्षा नै चलाउन पहल गरे। त्यसपछि तुरुन्तै महाराजगञ्ज चिकित्सा क्याम्पसमा तत्कालीन स्ववियूले एमबीबीएस अध्ययनका लागि तयारी कक्षा सुरु गर्यो। डा. अभिमन्युले पनि पहिलो ब्याचको रूपमा त्यहाँ तयारी कक्षा लिन थाले। त्यसपछि नै निजी स्तरमा पनि एमबीबीएसका लागि तयारी कक्षाको सुरुवात भएको उनले सुनाए।

वैधानिकताको त्यो लफडा 

अभिमन्युले एमबीबीएस अध्ययनको तयारी गरिरहँदा नेपालमा निजी क्षेत्रमा पोखरामा मणिपाल कलेज अफ मेडिकल साइन्सेस र नेपालगञ्जमा डिवाई पाटिल मेडिकल कलेज (हालको नेपालगञ्ज मेडिकल कलेज) गरी दुई वटा मेडिकल कलेज खुले। उनी पनि सरकारी छात्रवृत्ति कोटामा २०५० सालमा डिवाई पाटिल मेडिकल कलेजमा भर्ना भएर एमबीबीएस अध्ययन थाले।

तर, त्यो मेडिकल कलेजले सम्बन्धन नै लिएको रहेनछ। त्यसैले कलेजको वैधानिकतामाथि नै लफडा भएपछि भर्ना भएको केही महिनामा नै उनीहरूको पढाइ बिथोलियो। यसले गर्दा उनलाई पनि ठूलो तनाव भयो। मेडिकल कलेजमा भर्ना भएर पनि पढाइ नभएपछि, अब डाक्टरी विषय नै पढ्न पाइँदैन कि भन्ने पिरले जाँगर हराएर उनी घर फर्किएका थिए।

तर, करिब एक वर्षपछि बल्ल सरकारले त्यहाँ अलपत्र परेका विद्यार्थीलाई अन्यत्र पढ्नका लागि व्यवस्थापन गरिदियो। सरकारले डिवाई पाटिल मेडिकल कलेजमा भर्ना भएका केही विद्यार्थीलाई काठमाडौं विश्वविद्यालय अन्तर्गत कास्कीको पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा एमबीबीएस अध्ययन गर्ने व्यवस्था मिलाइदियो। अभिमन्युले पनि पोखरामा नै पढ्ने मौका पाए।

त्यसपछि उनले काठमाडौंका वीर, कान्ति, प्रसूति लगायतका अस्पतालमा एक वर्ष इन्टर्नसिप गरे। अन्ततः अभिमन्युले २०५७ सालमा पोखराबाट पहिलो ब्याचका रूपमा एमबीबीएस अध्ययन पूरा गरे र डाक्टर बन्ने आफ्नो भोक मेटाए।

हेपाइ खाएका तिता अनुभव

मणिपालको पहिलो ब्याचका डाक्टर बनेपछि त्यसबेला कतिपय सिनियर चिकित्सकहरूले ‘यिनीहरूलाई केही आउँदैन’ भन्ठानेर हेपेको तितो अनुभव समेत डा. अभिमन्यु सम्झन्छन्।

त्यसरी हेप्दा उनको मन खिन्न त हुन्थ्यो, तर उनलाई ती हेपाइले नकारात्मक होइन, सकारात्मक ऊर्जा नै दिन्थ्यो। ‘मणिपालको विद्यार्थी’ भनेर नाक खुम्च्याउनेहरूलाई उनले आफ्नो काम र व्यवहारबाट जवाफ दिन्थे। औषधि उपचार गरी बिरामीलाई सञ्चो बनाएर आफू अब्बल भएको प्रमाणित गरिदिन्थे, जुन उनको चिकित्सकीय धर्म पनि थियो।

केही महिना काम गरेपछि नै नेपाली चिकित्सकीय समाजमा मणिपालका विद्यार्थीहरू पनि अब्बल छन् भन्ने सन्देश प्रवाह भएको उनले सुनाए।

खिसी गरिएका ती क्षण

एमबीबीएस अध्ययनपछि डा. अभिमन्युलाई चिकित्सा शास्त्रको स्नातकोत्तर तहमा सकभर ‘मेडिसिन’ विषय पढ्ने इच्छा थियो। त्यो नपाए बालरोग विशेषज्ञ (पेडियाट्रिसियन) बन्ने चाहना थियो।

तर, आफूले एमबीबीएस अध्ययन गरेकै पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेसका ‘प्रिन्सिपल’ले उनलाई फोन गरेर सोधे, ‘हामी पहिलो ब्याच एमडी प्याथोलोजी सुरु गर्दैछौं, तिमी पढ्ने हो ?’ सिनियर चिकित्सकले नै फोन गरेर सोधेपछि उनलाई बडो दुविधा भयो।

त्यसपछि ‘जे सुकै होस्’ भनेर प्याथोलोजी नै पढ्ने निर्णय गर्दै उनले छनोट परीक्षाका लागि फारम भरे। फारम भर्ने बेलामा फारम रुजु गर्न बसेका कर्मचारीले समेत नाक खुम्च्याउँदै ‘एमबीबीएस पढिसक्नु भएको तपाईंले किन प्याथोलोजी पढ्न खोज्नुभएको डाक्टरसाप ?’ भन्दै खिसी गरेको डा. अभिमन्यु सम्झन्छन्। तैपनि, उनले छनोट परीक्षा दिए र उत्तीर्ण भई प्याथोलोजी विषयमा एमडी अध्ययन थाले।

त्यसो त कतिपय सिनियर प्याथोलोजिष्टहरूले समेत ‘यो विषयको कामै छैन, किन पढेको ?’ भन्दै हतोत्साही बनाएको उनी बिर्सिएका छैनन्। एक जना सिनियर प्याथोलोजिष्टले त नाक खुम्च्याउँदै भनेछन्, ‘यो विषय पढेर कसले जागिर दिन्छ ? बेरोजगार हुन प्याथोलोजी पढेको भाइ ? पढेर खै के गर्छौ र ? नपढ भाइ।’ ती सिनियरले त्यसरी खिसी गरेको सम्झँदा उनलाई अझै पनि नमिठो लाग्छ।

सुरुमा त उनलाई पनि ‘यो विषय बेकारमा पढिएछ कि’ जस्तो लाग्यो। उनी हतोत्साहित भए र पढाइ नै छोडौं कि भन्ने सोचमा समेत पुगे।

तर, बिस्तारै डा. अभिमन्युको सोच बदलियो। उनले सोचे, ‘अप्ठ्यारोमा नै सम्भावना हुन्छ।’ उनी मेहनतका साथ अध्ययन र अभ्यास गर्दै गए। बिस्तारै यो विषयमा उनको रस बस्दै गयो र अवसरका सम्भावनाहरू नजिकबाट देख्न थाले। अन्ततः उनले प्याथोलोजी विषयमा तीन वर्षे एमडी अध्ययन सके। अनि उनी फेरि जागिरका लागि भौँतारिन थाले।

‘डोन्ट वरी अभिमन्यु भाइ’ भनेपछि...

एमडी अध्ययन सकिएपछि डा. अभिमन्युलाई मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा नै जागिरको अवसर नमिलेको होइन। उनले त्यहीँ जागिर खाने सोच बनाएर धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा एमडीको प्रमाणपत्र लिन गए। तर, धुलिखेलबाट फर्कने क्रममा उनले बाटोमै सोचे, ‘अहँ, अहिले पोखरा जान्नँ। म काठमाडौंमा नै संघर्ष गरेर सम्भावना खोज्छु।’

एक दिन प्रसंगवश भेटिएका डा. असर्फी साहले उनलाई भनेछन्, ‘मेडिकल फिल्डमा प्याथोलोजिष्ट भनेको डाक्टरको पनि डाक्टर हो। डोन्ट वरी अभिमन्यु भाइ।’ डा. साहको त्यो भनाइले उनको मनोबल ह्वात्तै बढ्यो। उनले बुझे, ‘यो विषयमा त सम्भावना रहेछ।’

नभन्दै डा. अभिमन्युले काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा प्याथोलोजिष्टका रूपमा जागिर पनि पाइहाले। काम सुरु गरेपछि बल्ल उनले थाहा पाए- नेपालमा त प्याथोलोजिष्टको अभाव पो रहेछ। अनि उनले प्याथोलोजी पढ्न फारम भर्दादेखि सिनियरहरूले खिसी गरेको पल सम्झिए। ‘किन त्यसरी हतोत्साहित बनाएका होलान् ?’ भन्ने प्रश्न उनको मनमा उब्जियो, तर त्यसको ठोस उत्तर भने उनले भेटेनन्।

खुसीको कुरा, खिसी गरेजस्तो कामै नपाउने अवस्था रहेनछ। एमबीबीएस चिकित्सक समेत भएकाले उनी ‘पार्ट टाइमर’ का रूपमा क्लिनिकमा बिरामीको औषधि उपचार पनि गर्थे।

‘कति पनि पछुतो छैन’

नेपाल मेडिकल कलेजमा काम गरिरहँदा त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत महाराजगञ्ज मेडिकल कलेज (त्रिवि शिक्षण अस्पताल) मा प्याथोलोजिष्टको माग भयो।

करिब नौ महिना नेपाल मेडिकल कलेजमा काम गरेपछि उनी उप-प्राध्यापक पदमा अस्थायी जागिरे भएर महाराजगञ्ज चिकित्सा क्याम्पसको प्याथोलोजी विभागमा प्रवेश गरे। केही वर्षपछि उनी स्थायी भए। हाल डा. अभिमन्यु सहायक र सह-प्राध्यापक हुँदै प्राध्यापकमा बढुवा भएका छन्, जुन शैक्षिक क्षेत्रको उच्चतम पद हो।

डा. अभिमन्युले शिक्षण अस्पतालको प्याथोलोजी विभागको प्रमुखको भूमिकामा रहेर करिब तीन वर्ष काम गरे। हाल उनी महाराजगञ्ज चिकित्सा क्याम्पसको सहायक डिनको भूमिकामा समेत छन्।

प्याथोलोजी विषयमा एमडी सकेर जागिर सुरु गरेपछि आजसम्म यो विषय पढेकोप्रति उनलाई अलिकति पनि पछुतो लागेको छैन। बरु काम सुरु गरेपछि पो उनलाई थाहा हुँदै गयो, ‘प्याथोलोजीमा त गर्नुपर्ने काम धेरै बाँकी रहेछ।’ उनी यो चिकित्सकीय विधामा डुब्दै गए र अहिले यो विषय पढेकोमा पूर्ण सन्तुष्ट छन्। अध्ययनका क्रममा प्याथोलोजिष्टले नै ‘बेरोजगार हुन पढेको ?’ भन्दै खिसी गरेका ती क्षण सम्झँदा अहिले उनलाई अनौठो लाग्छ।

अहिले कुनै रोगको लक्षण भएका बिरामीको ल्याब परीक्षण गरेर रोग र समस्याको यकिन गर्नु उनको मुख्य दैनिकी हो। साथै, चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउन र वैज्ञानिक खोज तथा अनुसन्धान गर्नमा उनी रमाएका छन्। उनका ५० भन्दा बढी वैज्ञानिक आलेख विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भइसकेका छन्।

विशेष गरी व्यक्तिको शरीरको तन्तु (टिस्यू) लाई माइक्रोस्कोपबाट हेरेर रोगको कारण, प्रकृति र प्रभाव पत्ता लगाउने ‘हिस्टोप्याथोलोजी’ विधामा केन्द्रित रहेर काम गर्नु डा. अभिमन्युको विशेषता हो। हिस्टोप्याथोलोजी रोग पत्ता लगाएर उपचार विधि अपनाउन सहज हुने र विश्वसनीय मानिने सूक्ष्म ल्याब परीक्षण विधि हो।

शरीरको समस्या भएको भागबाट शल्यचिकित्सकले निकालेको तन्तु र कोषिकाको जाँच गरेर समस्या के हो भन्ने निष्कर्षमा उनी पुग्छन्। ती तन्तुलाई विशेष रङ वा माइक्रोस्कोपको सहायताले अध्ययन गरी रोगको कारण, चरण र फैलावट पत्ता लगाइन्छ। यसरी रोगको प्रकृति अनुसारको उपचार विधि अपनाउन चिकित्सकलाई मार्गनिर्देशन गर्नु नै डा. अभिमन्युको दैनिकी हो।

मंसिर २०, २०८२ शनिबार १८:५३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।