सुदूरपश्चिमलाई हराएपछि डु प्लेसिसले भने- ‘हाम्रो लक्ष्य स्पष्ट थियो, १३.४ ओभरमा चेज गर्ने’

सुदूरपश्चिमलाई हराएपछि डु प्लेसिसले भने- ‘हाम्रो लक्ष्य स्पष्ट थियो, १३.४ ओभरमा चेज गर्ने’

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध जित निकालेपछि विराटनगर किङ्ग्सका फाफ डु प्लेसिसले आफ्नो टोलीको लक्ष्य स्पष्ट रहेको बताएका छन्। उनले शीर्ष चारमा स्थान सुरक्षित गर्न मात्र नभई शीर्ष दुईमा पर्ने उद्देश्यले खेल खेलेको बताए।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै डु प्लेसिसले भने, ‘हाम्रो लक्ष्य स्पष्ट थियो। हामीलाई थाहा थियो कि यदि हामी हार्यौं भने पनि शीर्ष चारमा पुग्छौं, तर हाम्रो योजना टस जितेर स्कोरलाई छिटो चेज गर्ने थियो। हामीले खेललाई ६ ओभर, १० ओभर र १३.४ ओभरमा विभाजन गरेर हेरेका थियौं।’

डु प्लेसिसले रन चेज गर्दा १३.४ ओभरको लक्ष्य राखेको भए पनि क्रिकेटमा सधैँ ठ्याक्कै सोचेजस्तो नहुने बताए।

‘मैले लामो समय क्रिकेट खेलेको छु, कहिलेकाहीँ त्यो नम्बर सधैँ क्लियर हुँदैन। सायद १३.५ थियो होला, तर एक बल अगाडि हुनु पछाडि हुनुभन्दा राम्रो हो’, उनले भने। पावरप्लेमा बायाँ र दायाँ हाते ब्याटरको संयोजनले धेरै मद्दत गरेको उनले उल्लेख गरे।

नेपालमा खेल्दाको अनुभवबारे सोधिएको प्रश्नमा डु प्लेसिसले यहाँको दर्शक र वातावरणको प्रशंसा गरे।

‘यहाँको क्राउड धेरै राम्रो र ऊर्जावान छ। फ्यानहरूले सङ्गीत र खेलको आनन्द लिइरहेका छन्। धेरै आरसीबीका फ्यानहरू पनि देखेँ, नेपालको फ्यानहरूको अगाडि खेल्न पाउनु खुसीको कुरा हो’, उनले भने।

सुदूरपश्चिम रोयल्ससँग फेरि क्वालिफायर १ मा भेट हुने विषयमा डु प्लेसिसले भने, ‘अघिल्लो खेलमा पनि यस्तै भएको थियो। हामीले आज राम्रो खेल्यौं र एउटा स्टेटमेन्ट दियौं। अब एक-दुई दिन आराम गरेर अर्को खेलको तयारी गर्नेछौं। शीर्ष दुईमा पर्नु महत्त्वपूर्ण छ किनभने यसले अर्को मौका दिन्छ।’

सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै विराटनगर किङ्ग्स अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

मंसिर २०, २०८२ शनिबार १५:०५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।