विराटनगरसँगको हारपछि सुदूरपश्चिमका आरिफ शेखको प्रतिक्रिया- ‘पावरप्लेमा हाम्रो बलिङ चलेन’
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा विराटनगर किङ्ग्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिम रोयल्सका खेलाडी आरिफ शेखले पावरप्लेमा आफ्नो टोलीको बलिङ नचल्दा हार व्यहोर्नुपरेको बताएका छन्।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै शेखले विराटनगरका ब्याटरहरू फाफ डु प्लेसिस र साम हेजलेटले पावरप्लेमा उत्कृष्ट ब्याटिङ गरेको स्वीकार गरे।
‘आज हेजलेट र फाफ डु प्लेसिसले अगाडि आउनुभयो, उहाँहरूको एकदम राम्रो नक रह्यो,’ शेखले भने, ‘उहाँहरूलाई अलिकति चाँडै नै जित चाहिएको थियो, १३ ओभर ४ बल जतिमा। त्यो हिसाबले पनि उहाँहरूलाई प्रेसर भएको हुन सक्छ। तर उहाँहरूले पावरप्लेमा एकदम राम्रो ब्याटिङ गर्नुभयो। हामीले सोचेका थियौँ, पावरप्लेमा त्यो बलिङ आज हुन सकेन।’
उनले टसले खेलमा धेरै फरक नपारे पनि बिहानको समयमा टस जित्दा बलिङ नै रोज्ने योजना रहेको बताए।
‘टसले त्यति असर गर्छ जस्तो मलाई लाग्दैन किनभने हाम्रो बलिङ र ब्याटिङ दुवै सन्तुलित छ। तर बिहानको खेल अलि ट्रिकी हुने भएकाले टस जितेको भए हामी पनि बलिङ नै गर्थ्यौं’, उनले भने।
फाफ डु प्लेसिस र मार्टिन गप्टिलजस्ता विश्वका चर्चित खेलाडीसँग खेल्न पाउनु नेपाली खेलाडीका लागि ठूलो अवसर भएको शेखले बताए।
‘एकदम राम्रो अनुभव भइरहेको छ। हाम्रो लागि र नेपाली दर्शकका लागि पनि यत्रा ठूला खेलाडी आएर नेपालमा खेल्नु राम्रो कुरा हो। हामीले पनि उहाँहरूबाट धेरै कुरा सिकिरहेका छौँ’, उनले भने।
आजको नतिजासँगै सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स पुनः ‘क्वालिफायर १’ मा भिड्ने पक्का भएको छ। उक्त खेल आगामी मङ्गलबार हुनेछ।
यस विषयमा सोधिएको प्रश्नमा आरिफले भने, ‘यो नतिजाले असर गर्छ। तर हामीसँग एक दिनको अभ्यास बाँकी छ। त्यसमा तयारी गरेर हामी राम्रो गरी आउनेछौँ। जित्दा पनि हामी गल्ती गरिरहेका हुन्छौँ, त्यो एड्रेस हुन्छ तर हार्दा अलि बढी देखिन्छ। अर्को खेलमा हामी कमब्याक गर्नेछौँ।’
उनले ‘बदला’ भन्दा पनि हरेक खेल टोलीका लागि महत्त्वपूर्ण हुने भन्दै क्वालिफायरमा जितका लागि खेल्ने बताए।
आजको खेलमा आरिफ शेखले सुदूरपश्चिमका लागि सर्वाधिक ४५ रनको अविजित इनिङ खेलेका थिए। उनले आफ्नो र टिमको प्रदर्शनप्रति सन्तोष व्यक्त गर्दै महत्त्वपूर्ण खेलमा योगदान दिन पाउँदा खुसी लागेको बताए।
मंसिर २०, २०८२ शनिबार १४:४४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।