रुपन्देहीका क्यासिनोको विवाद अदालतमा, सञ्चालक हटाउने निर्णयविरुद्ध ‘स्टे अर्डर’

रुपन्देहीका क्यासिनोको विवाद अदालतमा, सञ्चालक हटाउने निर्णयविरुद्ध ‘स्टे अर्डर’

बुटवल : रुपन्देहीका क्यासिनोहरूमा बढ्दो बेथिति र आन्तरिक विवाद अब अदालतसम्म पुगेको छ।

भैरहवास्थित होटल एसियन बुद्ध मातहत सञ्चालित ‘इलिमेन्ट इन्टरटेन्मेन्ट सेन्टर’ (क्यासिनो) का सञ्चालकहरूबीचको सेयर र पदको विवादले कानुनी लडाइँको रूप लिएको हो।

क्यासिनोकी अध्यक्ष तथा ५० प्रतिशतभन्दा बढी सेयरधनी अन्जु गुरुङलाई पदबाट हटाउन अर्का सञ्चालक विजय उप्रेतीले अध्यक्षको अनुमतिविनै विशेष साधारण सभा बोलाएपछि विवाद चर्किएको थियो।

आफूलाई हटाउन जालझेल र कीर्ते कागजातको प्रयोग भएको भन्दै गुरुङ उच्च अदालत तुलसीपुर (बुटवल इजलास) पुगेकी थिइन्।

अदालतले तत्कालका लागि साधारण सभा रोक्न र माइन्युटहरू यथास्थितिमा राख्न आदेश (स्टे अर्डर) दिँदै दुवै पक्षलाई यही २२ गते छलफलका लागि बोलाएको छ।

गुरुङले आफ्नो सेयर हडप्ने प्रपञ्च रचिएको भन्दै जिल्ला अदालत रुपन्देहीमा समेत कीर्ते मुद्दा दायर गरेकी छिन्। स्रोतका अनुसार क्यासिनोका कर्मचारी र होटल सञ्चालकको मिलेमतोमा गुरुङलाई हटाउने योजना बनाइएको थियो।

जिल्लामा सञ्चालित क्यासिनोहरूमा नेपालीलाई प्रवेश दिने, कर छल्ने र सुरक्षा मापदण्ड पालना नगर्ने जस्ता समस्या बढ्दै जाँदा गोलीकाण्ड जस्ता घटनासमेत घटेका छन्।

प्रशासनको फितलो अनुगमनका कारण क्यासिनोहरूमा अराजकता मौलाएको स्थानीयको गुनासो छ।

मंसिर २०, २०८२ शनिबार १४:३३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।