शब्दजालमा भदौ २३-२४

शब्दजालमा भदौ २३-२४

काठमाडौं : भदौ २३ र २४ गतेका घटना के हुन्? जनआन्दोलन, आन्दोलन, युवा विद्रोह, अप्रत्याशित घटना, षड्यन्त्र वा विध्वंस?

भदौ २३ मा सडकमा उत्रनुको कारण भ्रष्टाचारको विरोध र सुशासनको माग थियो। आन्दोलनको स्वरूप शान्तिपूर्ण भनिए पनि व्यवहारमा त्यस्तो हुन सकेन।

कर्फ्यु लागिसकेको अवस्थामा संसद् भवन कब्जा गर्ने प्रयास हुँदा राज्यपक्ष संयमित हुन सकेन। फलतः एकै दिन १९ जनाको ज्यान जाँदा राज्यपक्ष आक्रोशको केन्द्रमा पर्यो।

संसद् भवनको सुरक्षामा खटिएको 'स्पेसल टास्क फोर्स' ले बल प्रयोग नगरेको भए संसद् जल्ने सङ्केत गेटबाटै सुरु भइसकेको थियो।

यदि संसद् जलेको भए र गोली चलेर नागरिक नमारिएको भए, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले दाबी गरेअनुसार यसको दोष सुरक्षा सङ्गठनले पाउँथ्यो। तर, दोष सुरक्षा सङ्गठनले मात्र होइन आयोजकले पनि पाउँथे। शान्तिपूर्ण भनिएको आन्दोलन हिंसात्मक बन्थ्यो।

संसद् जलेपछि आन्दोलन त्यहीँ रोकिन्थ्यो वा अन्यत्र छरिएर भदौ २४ का दृश्य २३ गते नै देखिन्थे, यसै भन्न सकिने अवस्था छैन।

तर सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म जल्ने, प्रहरी कार्यालय लुटिने/जलाउने, जेलका कैदी-बन्दी भाग्ने, टोल-टोल उठेर नेता घरघरमै कुटिने र ब्यक्तीगत सम्पत्ती लुट्ने, जलाउने चरणसम्म आन्दोलन पुग्ने सम्भावना कमै देखिन्थ्यो।

नयाँ बानेश्वरमै राज्य संयन्त्र बल प्रयोगमा उत्रिँदा भएको हताहतीको नतिजाले बानेश्वरको आक्रोश विकेन्द्रित भएर घर-घर पुग्यो। आक्रोश थाम्न सक्ने हदको भएन र त्यसले भदौ २४ लाई निम्त्यायो।

यी दुई दिनको प्रकृति एकै प्रकारको छैन। भदौ २३ को घटना राजनीतिक प्रकृतिको थियो भने भदौ २४ विध्वंसात्मक प्रकृतिको।

पहिलो दिनको प्रारम्भ प्रदर्शनको तहको थियो। तर राज्य संयमित हुन नसक्दा नतिजा हिंसाको चरणमा पुग्यो।

दोस्रो दिनको शुरुवात पनि प्रदर्शनको तहमा थियो। आक्रोशित समूहहरूमा हिंसा र अराजकता फैलाउनेहरु मिसिएपछि त्यो ध्वंसमा बदलियो।

त्यसैले भदौ २३ र २४ को प्रभावले बदलिएको राजनीतिक कोर्सको स्वामित्व लिने प्रयासमा रहेकाहरू जसरी भदौ २३ को स्वामित्वमा दाबी गर्छन्, त्यसरी नै भदौ २४ को जिम्मेवारीबाट पन्छिन्छन्।

तैपनि बहस जारी छ- भदौ २३ र २४ को घटना हो चाहिँ के?

नोटबुकएलएमको सहयोगमा।आन्दोलनमा विभिन्न भूमिकामा सहभागी भएका रक्षा बम लगायतका युवा पुस्ताले यसलाई 'विद्रोह' दाबी गर्ने गरेका छन्। उनीहरुको बिज्ञप्तीमा यही शब्द प्रयोग हुने गरेका छन्।

जेन-जी पुस्ता नभए पनि कुनै न कुनै रूपमा सहभागी भएर पछि स्वामित्व दाबी गर्ने सुधन गुरुङ लगायतले यसलाई 'आन्दोलन' भनिरहेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीलाई जेन-जीका विभिन्न समूहले बुझाएको सम्झौतापत्रको मस्यौदामा पनि भदौको घटनाबारे 'आन्दोलन' शब्द उल्लेख छ।

मुख्यतः सुधन समूह यसलाई आन्दोलनको मान्यता दिन प्रयासरत पनि देखिन्छ। त्यसकै लागि यो समूह सरकारसँग आन्दोलनबारे सम्झौता गरेर मुख्यतः भदौ २४ को घटनाबारे भविष्यमा आइपर्न सक्ने कानुनी चुनौतीलाई भदौ २३ बाटै जोडेर राजनीतिक दस्तावेजबाट आन्दोलनको मान्यता दिएर समाधान खोजिरहेका छन्।

तर राजनीतिक दलहरूमा भने यसबारे एकमत छैन। नेपाली कांग्रेसका नेताहरू यसलाई 'युवा विद्रोह' भन्छन्। तर विज्ञप्तीसहितको दस्तावेजमा आन्दोलन शब्दको प्रयोग गर्ने गरेका छन्।

एमालेका नेताहरू भाषणमा यसलाई विदेशी शक्तिको संलग्नतामा आन्तरिक शक्ति समेत मिलेर भएको 'षड्यन्त्र' मान्छन्। दस्तावेजमा भने दुखद घटना र प्रदर्शन जस्ता शब्द प्रयोग गर्ने गरेको छ।

माओवादीसहितको नयाँ दलले कतै विद्रोह, कतै आन्दोलन त कतै क्रान्ति भन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसलाई 'निर्णायक हस्तक्षेप' भन्छ।

नागरिक समाजले यसलाई युवा पुस्ताको ‘आन्दोलन’का रूपमा लिएको देखिन्छ। मिडियाले कहिले 'विद्रोह' त कहिले 'आन्दोलन' उल्लेख गर्छन्।

राष्ट्रपति कार्यालयले यसलाई ‘युवा पुस्ताले प्रकट गरेको इच्छा र आकांक्षा’ भनेको छ। सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको विज्ञप्तिमा यही शब्दावली प्रयोग भएको छ।

यसबारे सरकारले प्रयोग गर्ने शब्दमा पनि एकरूपता छैन। प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक सञ्जाल हेर्ने हो भने यसलाई कहिले 'क्रान्ति', कहिले 'आन्दोलन' भनेर उल्लेख गरिन्छ।

भदौ २३ को घटनाबारे जति अन्योल देखिन्छ, भदौ २४ बारे भने त्यति अन्योल देखिन्न। सार्वजनिक भएका तथ्य र प्रमाणहरुले त्यो न आन्दोलन थियो, न क्रान्ति, त्यो प्रस्ट ‘विध्वंस’ थियो भन्ने पुष्टि गरिसक्यो।

तर भदौ २३ को घटना हो चाहिँ के? जनआन्दोलन, आन्दोलन, क्रान्ति, विद्रोह, इच्छा, अप्रत्याशित घटना वा षड्यन्त्र? बहस जारी छ।

मंसिर २०, २०८२ शनिबार १६:०१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।