सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य, सन्दीपको तीन विकेट
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई जितका लागि १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनायो।
सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४५ रनको योगदान दिए। अविजित रहेका उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे।
त्यस्तै, इशान पाण्डेले ३८ रन (३५ बल, २ चौका, २ छक्का) र जोस ब्राउनले २४ रन (२५ बल, १ चौका, २ छक्का) बनाए।
ओपनर विनोद भण्डारी १५ रन बनाएर आउट भए भने कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा २ छक्कासहित १९ रनको योगदान गरे। हरमित सिंहले खाता खोल्न सकेनन् भने दिपक बोहरा ३ रनमा आउट भए।
सुदूरपश्चिमको इनिङमा पावरप्ले (पहिलो ६ ओभर) मा ३६ रन बनेको थियो भने टोलीले ५० रन ९.२ ओभरमा पूरा गरेको थियो।
आरिफ शेख र इशान पाण्डेबीच तेस्रो विकेटका लागि ५० रनको साझेदारी भएको थियो। अन्तिम ५ ओभरमा सुदूरपश्चिमले ४५ रन जोड्दा ४ विकेट गुमाएको थियो।
विराटनगरका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २० रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए। प्रतिस जिसीले अन्तिम ओभरमा २ विकेट लिए भने बसिर अहमदले १ विकेट हात पारे।
अब विराटनगर किङ्ग्सले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।
मंसिर २०, २०८२ शनिबार १२:४८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।