कीर्तिमानी उचाइपछि सुनको भाउ ओरालो लाग्दै, दुई दिनमै १७ सयले घट्यो

कीर्तिमानी उचाइपछि सुनको भाउ ओरालो लाग्दै, दुई दिनमै १७ सयले घट्यो

काठमाडौं : लगातार उकालो लागिरहेको सुनको मूल्यमा पछिल्लो समय गिरावट देखिन थालेको छ। मङ्सिरको मध्यमा ऐतिहासिक उचाइ कायम गरेको सुनको भाउ साताको अन्त्यतिर आइपुग्दा ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्सिर १९ छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको थियो। यो मङ्सिर १८ को तुलनामा ९०० रुपैयाँले कम हो। १८ गते सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँ थियो।

पछिल्लो एक हप्ताको बजार हेर्दा सुनको मूल्य २ लाख ५० हजार रुपैयाँभन्दा माथि नै स्थिर रहेको देखिन्छ।

साताको सुरुमा, मङ्सिर १२ गते २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन १४ गते बढ्दै २ लाख ५२ हजार २०० रुपैयाँ पुगेको थियो।

मूल्य बढ्ने क्रम जारी रहँदा मङ्सिर १७ गते सुनले नयाँ रेकर्ड राख्दै प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँ को कीर्तिमानी उचाइ छोएको थियो।

तर, उच्च विन्दुमा पुगेलगत्तै बजारमा ‘करेक्सन’ देखिएको छ। १७ गतेको उच्च विन्दुको तुलनामा १९ गतेसम्म आइपुग्दा सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँले घटिसकेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मङ्सिर १७ गते प्रतितोला ३ हजार ६५५ रुपैयाँ पुगेको चाँदी १९ गतेसम्म आइपुग्दा घटेर ३ हजार ५५५ रुपैयाँ कायम भएको छ।

दुई दिनको अन्तरालमा चाँदीको भाउ तोलामा १०० रुपैयाँले सस्तो भएको छ।

मंसिर २०, २०८२ शनिबार ११:४४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।