विराटनगरले टस जित्यो, अपराजित सुदूरपश्चिम ब्याटिङ गर्दै
काठमाडौं : नेपाल प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर फिल्डिङ रोजेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही बेरअघि भएको टसमा विराटनगरले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको हो। खेल बिहान ११:१५ बजे सुरु हुँदैछ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स जारी प्रतियोगिताकै सबैभन्दा बलियो टोली सावित भएको छ।
सुदूरपश्चिमले हालसम्म खेलेका ६ वटै खेलमा जित हात पार्दै १२ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ। टोली आज आफ्नो अपराजित यात्रालाई कायमै राख्दै लगातार सातौं जित निकाल्ने योजनामा छ।
यता सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्ग्स ६ खेलमध्ये ४ मा जित र २ मा हार ब्यहोर्दै ८ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ। आजको खेलमा जित निकाल्दै विराटनगर अंकतालिकाको दोस्रो स्थानमा पुग्न चाहन्छ।
यसअघि भएको भेटमा सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
मंसिर २०, २०८२ शनिबार ११:०६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।