अमेरिकामा जन्मसिद्ध नागरिकताको विवादमा अब सर्वोच्च अदालतले नै अन्तिम फैसला गर्ने
एजेन्सी : अमेरिकामा जन्मिएका आप्रवासीका सन्तानले स्वतः नागरिकता पाउँछन् कि पाउँदैनन् भन्ने विवादमा अब अमेरिकी सर्वोच्च अदालतले फैसला गर्ने भएको छ।
अदालतले यो संवेदनशील विषयमा सुनुवाइ गर्न सहमति जनाएको छ। यो मुद्दा विशेष गरी अमेरिकामा अवैध वा गैरकानुनी रूपमा बसोबास गरिरहेका अभिभावकका सन्तानसँग सम्बन्धित छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्षको जनवरीमा पदभार सम्हालेको पहिलो दिनमै जन्मसिद्ध नागरिकतासम्बन्धी व्यवस्थामा रोक लगाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
उक्त आदेशमा गैरकानुनी रूपमा अमेरिकामा बसिरहेका अभिभावकबाट जन्मेका बालबालिकाले पाउने जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने उल्लेख थियो।
तर, राष्ट्रपतिको यो आदेशलाई तल्लो अदालतहरूले तत्कालका लागि रोक लगाइदिएका थिए। अब यो विषय सर्वोच्च अदालतमा पुगेको छ।
विगत करिब १६० वर्षदेखि अमेरिकी संविधानको १४औँ संशोधनले अमेरिकाको भूमिमा जन्म लिने हरेक बालबालिका स्वतः अमेरिकी नागरिक हुने सिद्धान्तलाई स्थापित गरेको छ।
यद्यपि, कूटनीतिज्ञ र विदेशी सैन्य अधिकारीका सन्तानका हकमा भने यो नियम लागू हुँदैन।
सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ कहिले सुरु हुन्छ भन्ने मिति तय भइसकेको छैन। यसको अन्तिम फैसला आउन महिनौं समेत लाग्नसक्ने अनुमान गरिएको छ।
सर्वोच्च अदालतको यो निर्णयले राष्ट्रपति ट्रम्पको आप्रवासन नीति र अमेरिकी नागरिकताको परिभाषामा गहिरो तथा दीर्घकालीन प्रभाव पार्नेछ।
मंसिर २०, २०८२ शनिबार ०८:१४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।