ललितपुरको आयुर्वेद चिकित्सालयमा चिकित्सक भर्ना प्रक्रिया शंकास्पद, परीक्षा अघि जसको नाम चुहियो उही पास
काठमाडौं : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुरले करारमा चिकित्सक भर्ना गरेको प्रक्रिया शंकास्पद देखिएको छ।
चिकित्सालयले डा. पूजन अर्याललाई आठौं तहको आयुर्वेद चिकित्सकको रूपमा करार जागिरमा छनोट गर्दै मंसिर १२ मा परीक्षाको नतिजा प्रकाशित गरिसकेको छ।
उनलाई अन्तर्वार्ता लिएर करारमा छनोट गरिएको हो। उनै डा. अर्याल भर्ना भएको विषय विवादित मात्रै बनेको छैन, भर्ना प्रक्रियाको पारदर्शितामै प्रश्न उठेको छ।
छनोट प्रक्रियाको समयमा बेभसाइमा गडबड गरेको चिकित्सकहरूको दाबी छ। उकेराको खोजमा पनि चिकित्सालयले अपलोड गरेको चिकित्सक भर्ना सम्बन्धी सूचनामा गडबड भएको देखियो। डा. अर्याल नै छनोट हुँदैछन् भन्ने विषय परीक्षापूर्व नै उकेरामा सूचना आएको थियो।
उकेरामा परीक्षाको नतिजा अगाडि जे दाबी आएको थियो परीक्षा नतिजा सोही अनुसार आयो। सो जानकारी उकेरासँग सुरक्षित छ। यसले भर्ना प्रक्रिया पहिला नै व्यक्तिको चयन गरेको केवल प्रक्रिया मिलाउन विज्ञापन गरेको देखिन्छ।
भर्ना प्रक्रियामा गडबडी देखेपछि आफूले भर्ना प्रक्रियाको विषयमा चिकित्सालयमा आधिकारिक रूपमा सूचना माग गरेको सुयोग उपाध्याय रेग्मीले समेत बताए। यस विषयमा छानबिनको माग गर्दै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा निवेदन परेको छ।
सूचना प्रकाशित मितिमा नै गडबडी
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुरले करार सेवामा कर्मचारी पदपूर्ति लागि २०८२ कात्तिक १८ गतेको मिति भएको सूचना जारी गरेको छ।
तर, चिकित्सालयको वेबसाइमा हेर्दा १८ गतेको मितिमा जारी भएको सो सूचना कात्तिक २५ मा मात्रै चिकित्सालयको वेबसाइडमा अपलोड भएको देखियो। तर, सो सूचनामा दरखास्त दिने अन्तिम मिति २०८२ मंसिर २ गतेसम्मलाई राखिएको थियो।
आयुर्वेद चिकित्सकहरूले १८ लेखिएको सूचना २५ गते मात्रै वेबसाइटमा प्रकाशित भएको र पत्रिकामा समेत प्रकाशित नभएको भन्दै त्यही बेलादेखि शंका बढाएको थियो।
बदमासीको खुलासा भएपछि चिकित्सालयले वेबसाइटमा अपलोड गरिएको सो मिति समेत सच्याउँदै कात्तिक १८ मा नै सूचना प्रकाशित भएको देखिने मिति राखिएको छ। यसबाट समेत प्राविधिक रूपमा समेत बदमासी ढाकछोप गर्ने कोसिस भएको देखियो।
तर, चिकित्सालयकी प्रमुख (कन्सल्टेन्ट आयुर्वेद विज्ञ) डा. पुनम नेपालले विधि र प्रक्रिया अनुसार नै परीक्षाको प्रक्रिया अपनाएर करारमा चिकित्सक भर्ना गरेको दाबी गरिन्।
वेबसाइट सूचना प्रविधि विभागबाट नै सञ्चालित भएको र कात्तिक १८ गते नै सो सूचना चिकित्सालयको बेभसाइमा अपलोड गरिएको उनले दाबी गरिन्।
पछि कात्तिक २५ गते महत्त्वपूर्ण सूचना भनेर वेबसाइटमा नै सो सूचना सम्पादन गर्ने क्रममा सम्पादन गरिएको मिति २५ देखिएको उनको दाबी छ।
“सम्पादन गरिएको मिति नै देखिन्छ भन्ने थाहा नभएको र पछि सो सम्पादनको मिति (कात्तिक २५) देखिएपछि सूचना प्रविधि विभागलाई पत्र लेखेर ओरिजिनल अपलोड गरिएको मिति (कात्तिक १८) नै हुनेगरी सच्याइदिन अनुरोध गर्यौँ” उनले भनिन्।
त्यसपछि सूचना प्रविधि विभागले नै सो मिति सच्याइदिएको उनले दाबी गरिन्। त्यसैगरी परीक्षा दिन चाहने उम्मेदवारले परीक्षामा सामेल हुन तिर्ने बैंक खातामा समेत समस्या देखिएको एक जानकारले उकेरालाई जानकारी दिए।
कात्तिक १८ को मिति लेखेर प्रकाशित भएको सो सूचनामा राष्ट्रिय वाणिज्य बैंकमा कार्यालय कोड नम्बर ‘३७००१३४१५३’ मा परीक्षा दस्तुर जम्मा गरेर भौचर पेस गर्नुपर्ने उल्लेख थियो। तर, चिकित्सालयले बैंक खाताको नाम नै फरक लेखेको थियो।
त्यसैले ‘कात्तिक १८ मा प्रकाशित सूचनामा आवेदन दस्तुर नेपाल बैंकमा कार्यालय कोड नम्बर ‘३७००१३४१५३’ मा परीक्षा दस्तुर जम्मा गर्ने भन्ने हुनुपर्नेमा बैंकको नाम अन्यथा भएकाले सच्याइएको भन्दै कात्तिक २७ मा चिकित्सालयले अर्को सूचना जारी गर्यो।
तर, बैंकको नाम फरक परेकै कारण पैसा तिर्न समस्या नभएको डा. नेपालले दाबी गरिन्। एक जनाले मात्रै समस्या भएको गुनासो आएको उनले जानकारी दिइन्।
करार सेवाको जागिरका लागि कात्तिक १८ को सूचना अनुसार नौ जनाले आवेदन दिएको जानकारी दिँदै चिकित्सालयले मंसिर पाँच गते परीक्षा तालिका प्रकाशित गर्यो। जसमा आवेदन परेका उम्मेदवारका लागि परीक्षाको मिति मंसिर १२ गते बिहान आठ बजेलाई तोकिएको थियो।
मंसिर पाँच गते नै चिकित्सालयले दरखास्त दिने उम्मेदवारको स्वीकृत नामावली प्रकाशित गरेको सूचना जारी गर्यो। जसमा कात्तिक १८ को करार सेवा लिने सम्बन्धी सूचनामा दरखास्त परेकामध्ये रोल नम्बर ‘१०१’ देखि ‘१०९’ सम्म गरी नौ जना उम्मेदवारको दरखास्त नामावलीमध्ये १०९ नम्बरका उम्मेदवार चयन भए। दरखास्त दिनेमध्ये ‘१०९’ रोल नम्बर भएको डा. पूजन अर्याल थिए।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवा व्यवस्थापन सम्बन्धी कार्यविधि–२०७८’ को दफा–६ को उपदफा (१) मा ‘मन्त्रालय वा मातहतका निकायले चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा लिनको लागि निजको योग्यता, पारिश्रमिक, सेवाका सर्त समेत तोकी मन्त्रालयको सूचनापाटी, बेभसाइट तथा राष्ट्रिय दैनिक पत्रिकामा अनुसूची–१ बमोजिमको ढाँचामा कम्तीमा पन्ध्र दिनको सूचना प्रकाशन गरी दरखास्त आह्वान गर्नुपर्ने’ उल्लेख छ।
परीक्षा अघि नै पास हुने डाक्टर थाहा भएपछि...
परीक्षा अगाडि नै पूर्व निर्धारित रोल नम्बर ‘१०९’ लाई नै छनोट गर्नेगरी प्रक्रिया अगाडि बढेको भन्दै आयुर्वेद चिकित्सकहरूको समूहमा सूचना पुगेको थियो।
तोकिएकै मिति मंसिर १२ गते नै परीक्षा सञ्चालन भयो र सोही दिन बेलुका परीक्षाको नतिजा प्रकाशित भएको चिकित्सालयकी प्रमुख नेपालले जानकारी दिइन्। नतिजामा करार जागिरका लागि परीक्षामा छनोट हुनेमा रोल नम्बर ‘१०९’ भएका डा. पूजन अर्याल उल्लेख छ। अन्य तीन जनालाई वैकल्पिक उम्मेदवारका रूपमा राखियो।
त्यसैगरी छनोट भएका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिन भित्र चिकित्सालयमा नियुक्ति पत्र बुझिलिन अनुरोध समेत गरियो।
तर, रमाइलो पक्षचाहिँ २०८२ मङ्सिर १२ गते (२०२५ डिसेम्बर २८) मा नै परीक्षा (अन्तर्वार्ता)को दिन बिहान १० बजेर ३३ मिनेटमा ह्वाट्एपमार्फत पूर्व निर्धारित व्यक्तिलाई जागिरमा छनोट गर्ने गरी प्रक्रिया बढाइएको विषयमा एक युवाले उकेरालाई सूचना दिएका थिए।
फोनमार्फत समेत ती युवाले मङ्सिर १२ गते (२०२५ डिसेम्बर २८) मध्यान्ह १२ : ०६ मा ‘१०९’ रोल नम्बर भएका डा. पूजन अर्याललाई नै चिकित्सालयले करारमा भर्ना गर्ने रणनीति अनुसार प्रक्रिया अगाडि बढाएको जानकारी दिएका थिए।
‘त्यहाँ ‘१०९’ रोल नम्बर भएका (डा.) पूजन अर्याललाई अगाडि सार्ने भन्ने छ,’ परीक्षाको दिन नै ती युवाले उकेरासँगको कुराकानीमा भनेका थिए,‘१८ गते आएको सूचना २५ गते सूचना पोस्ट गरियो। १८ गतेको नोटिस २५ गते किन हालियो। त्यसपछि पनि ३-४ दिन वेबसाइट नै चलेन।’ त्यसो त यस्तो समस्या भएपछि परीक्षाको लागि फारम भर्ने मिति थप गर्नु पर्नेमा चिकित्सालयले थप नगरेको ती युवाले गुनासो पोखेका थिए। यो विषयमा भने चिकित्सालयकी प्रमुख डा. नेपालले अनभिज्ञता जनाइन्।
अन्ततः ती युवाले परीक्षा र परीक्षाको नतिजा अघि नै चिकित्सालयले जसलाई छनोट गर्दैछ भन्ने जानकारी दिएका थिए आखिर उनै छनोट पनि भए।
चिकित्सालयले १२ गते डा. पूजन अर्याललाई छनोट गरेको सूचना प्रकाशित गर्दै कात्तिक १८ मा प्रकाशित भएपछि परेका आवेदनपछि मंसिर पाँचमा परीक्षा प्रकाशित भएको र मंसिर १२ गते परीक्षा सञ्चालन भएको उल्लेख गरेको छ।
परीक्षा चलाएकै दिन हतार हतार नतिजा निकालेको चिकित्सालयले वेबसाइटमा समस्या भएपछि भने आवेदनको मिति नथपेको भन्दै गुनासो आएपछि गुनासो सम्बोधन गरेर आवेदन भर्ने मिति किन बढाएन भन्ने अर्को प्रश्न उब्जिएको छ।
चिकित्सालयले करारमा चिकित्सक भर्नाका लागि प्रभाव दैनिकमा कात्तिक १८ गते नै सूचना प्रकाशित गरेको देखिएको छ। नेपाल पत्रकार महासंघका ललितपुर अध्यक्षलाई बोलाएर आवेदनको सूचना प्रकाशनको जिम्मेवारी दिइएको र सो सूचना कात्तिक १८ मा नै प्रभाव दैनिकमा प्रकाशित भएको चिकित्सालयकी प्रमुख डा. नेपालले जानकारी दिइन्।
"पत्रकार महासंघको ललितपुर जिल्लाको अध्यक्षज्यूलाई बोलाएर उहाँमार्फत नै प्रभाव राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरिएको हो। कात्तिक १८ मा नै प्रकाशित भएको हो।"
मंसिर १९, २०८२ शुक्रबार २२:१२:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।