राजनीतिक दललाई स्थापित गर्न चुनाव चाहिएको हो : प्रधानमन्त्री कार्की

राजनीतिक दललाई स्थापित गर्न चुनाव चाहिएको हो : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याएकी छन्।

प्रधानमन्त्रीले शुक्रबार बालुवाटारमा आह्वान गरेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकायका सबै अङ्गलगायत निर्वाचनसँग प्रत्यक्ष जोडिएका राज्यका निकायहरू निर्वाचनका लागि तयार रहेको जनाउँदै प्रतिनिधिसभाको निर्वाचन फागुन २१ भन्दा पछाडि नजाने प्रतिबद्धता व्यक्त गरेकी हुन्।

उनले भनिन्, 'चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौं, कसरी चुनाव सफल पार्ने भनेर सोचौं, सबैले एकचित्तले सोचेमा चुनाव नहुने कुरै छैन, एक सय २६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ। हामी एकमत भयौं भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन, खराब तत्त्वले आक्रमण गर्न सक्दैन।' उनले सुरक्षाको पहिलो कडी जनता नै भएको उल्लेख गर्दै त्यसपछि मात्र प्रहरी, सशस्त्र, भूतपूर्व सुरक्षाकर्मी भएको उल्लेख गरिन्।

'अहिलेको परिस्थितिमा हरेकले भनिरहेको एउटै मात्र बाटो निर्वाचन हो, यसबाहेक अर्को विकल्प छैन, हामी जेनजी आन्दोलनबाट आयौं। तर दलका विरोधी होइनौं, राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो भनेर यहाँहरूले बुझ्नुपर्छ,' प्रधानमन्त्री कार्कीले भनिन्, 'निर्वाचन आयोगले तत्कालै सक्रिय भएर निर्वाचनको तयारी अघि बढाएको छ, सुरक्षा निकायको प्रस्तुतिले हामी सक्रिय र सक्षम छौं भनेको छ, सेनाले पनि आफ्नो काम सुरु गरिसकेको छ, प्रहरीले निरन्तर कानुनीराज स्थापनाका लागि काम गरिरहेको छ।'

उनले शुक्रबार भएको सर्वदलीय बैठकले दलहरू पनि निर्वाचनका लागि तयार रहेको जनाएको उल्लेख गरिन्। 'आज जुन भेला भयो, अहिलेसम्मकै महत्त्वपूर्ण हो भन्ने लागेको छ, समग्रमा निर्वाचन होस् र हुनुपर्छ भन्ने आवाज नै यहाँ सबैको रह्यो, कहीँकतै आशङ्काका कारण छन् भने पनि तिनले हामीलाई सचेत गराउँछन् र अगाडि बढ्न मद्दत गर्छन्।'

उनले भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै एकताबद्ध भएर अगाडिको बाटो पहिल्याउन दलहरूलाई आग्रह पनि गरिन्। उनले भनिन्, 'हामीकहाँ जुन घटना भयो, त्यसको विश्लेषण, व्याख्या समयक्रममा होला र निचोड पनि आउला, तर यस घटनाले राष्ट्रको जीवनमा ठूलो परिवर्तन ल्याइदियो। भइरहेको निर्वाचित र बलियो सरकार परिस्थितिलाई वशमा लिन विफल भयो।' युवा विद्रोहपछि विकल्पका रूपमा वर्तमान सरकार अन्तरिमकालको व्यवस्थापनका लागि आएको प्रष्ट पार्दै सरकारको विरुद्धमा अदालतबाट अन्तरिम आदेश भएको परिस्थिति फरक हुनसक्ने बताइन्।

जेनजीदेखि सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज सबै पक्षसँग निरन्तर र कयौँ पटक छलफल गर्दै आएको र आशङ्काहरू निवारण गर्दै आएको उनको भनाइ  छ। 'मुलुकप्रति हामी सबैको दायित्व छ । मुलुकले एउटा बाटो पाओस्, जेनजी आन्दोलनको मागअनुसार मुलुकले गति र दिशा लेओस्, तर २३ गते निहत्था युवा मारिए, भोलिपल्ट आगजनी भयो। यो कसले किन गरेको, अध्ययनले बताउने नै छ,' उनले भनिन्।

तर, उनले आगजनी गर्ने बानी भयो भने भोलि जोकोहीले जोकसैलाई जलाउन सक्ने चिन्ता व्यक्त गर्दै हिंस्रक र हृदयविदारक अवस्थाको सामना गर्नु नपरोस् भनेर सबैले सोच्नुपर्नेमा जोड दिइन्। 'काठमाडौंमा धेरै क्षति भयो, ललितपुरमा कम भयो। ललितपुरमा किन कम भयो भनेर पनि हेर्नुपर्छ, ललितपुरका जनताले धेरै ठाउँमा विध्वंसको प्रतिकार गरेको देखियो। यसरी खराब तत्त्वलाई रोक्ने सामर्थ्य पनि समाजमा हुनुपर्छ, हामीले आफ्नै छिमेकी, साथीभाइको घर किन जलाउनबाट जोगाउन सकेनौं, यो चिन्ताको विषय हो। यसमा हामीले क्षमा याचना पनि गरौं,' उनले भनिन्। 

प्रधानमन्त्री कार्कीले सरकारको कुनै पनि निजी स्वार्थ र आकाङ्क्षा नभएको प्रस्ट पार्दै केही अतिरिक्त प्राप्तिका लागि सरकारले कुनै पनि नगरेको बताइन्। 

मंसिर १९, २०८२ शुक्रबार २१:३९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।