आफूलाई आउट दिएको अम्पायरको निर्णयमा लुम्बिनीका कप्तान रोहितको असन्तुष्टि- ‘त्यो गलत निर्णय थियो’
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफमा स्थान बनाएपछि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले राहत महसुस गरे पनि आफू आउट भएको विषयमा भने अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
शुक्रबार जनकपुर बोल्ट्सविरुद्धको महत्त्वपूर्ण खेलमा जित हात पारेपछि भएको पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले आफूलाई आउट दिने अम्पायरको निर्णय गलत भएको टिप्पणी गरे। खेलको नाजुक मोडमा एलबीडब्लू आउट भएर पेभिलियन फर्कँदा रोहित निकै निराश र आक्रोशित देखिएका थिए।
सोही क्षणको बारेमा सोधिएको प्रश्नमा रोहितले भने, ‘त्यो अवस्थामा अलिकति गलत निर्णय भयो। हामी पनि मानिस हौं, अम्पायर पनि मानिस नै हुन्। उहाँले जानी-जानी आउट दिनुभएको त होइन होला, गल्ती भयो होला। तर, त्यो निर्णय गलत थियो।’
रोहितले अम्पायरबाट गल्ती हुनु मानवीय स्वभाव भए पनि आफूले पनि सुधार गर्नुपर्ने ठाउँ रहेको औँल्याए। ‘त्यस्तो अवस्थामा क्रिज छोडेर आउनु हुँदैनथ्यो जस्तो लाग्छ। सायद ब्याटले खेलेर सिंगल लिन सकिन्थ्यो कि भन्ने लागिरहेको छ’, उनले थपे।
बाह्रौं ओभरको पाँचौं बलमा मयन यादवको स्पिनमा स्कुप सट खेल्दा उनलाई अम्पायरले एलबिडब्लु आउट दिएका थिए। अम्पायरले आउट दिने बित्तिकै उनले ब्याटमा लागेको संकेत गर्दै असन्तुष्टि समेत जनाएका थिए।
‘शेर मल्ल हाम्रो ट्रम्प कार्ड हुन्’
प्लेअफ यात्राबारे बोल्दै रोहितले टिमको विश्वासका कारण यो पुनरागमन सम्भव भएको बताए। सुरुवाती चरणमा खराब प्रदर्शन गरे पनि पछिल्ला तीन खेलमा लगातार जित निकाल्दै लुम्बिनीले आफूलाई बलियो साबित गरेको छ।
उनले टिमका खेलाडी शेर मल्लको खुलेर प्रशंसा गरे। रोहितले भने, ‘शेर मल्ल हाम्रो लागि मुख्य ‘ट्रम्प कार्ड’ हुन्। उनी विकेट टेकर बलर हुन्। बलिङ डिपार्टमेन्टलाई उनले र रुसेलले राम्रोसँग होल्ड गरेर राखेका छन्। यहाँसम्म आइपुग्न शेर मल्लको ठुलो योगदान छ।’
प्लेअफमा लुम्बिनी बलियो
प्लेअफमा पुगेका चार टोलीमध्ये लुम्बिनीलाई आफूले सबैभन्दा बलियो देखेको रोहितले दाबी गरे। ‘अहिलेको अवस्थामा लुम्बिनी एकदमै राम्रो लयमा देखिएको छ। बाँकी तीन वटै टोली राम्रा छन् तर मलाई लुम्बिनी नै अलि बढी बलियो र सन्तुलित लागिरहेको छ,’ रोहितले ठट्यौली शैलीमा भने।
लगातार तीन खेल जितेर प्लेअफमा पुगेको लुम्बिनीले अब एलिमिनेटर खेल खेल्नेछ। रोहितले नकआउट चरणमा दबाब हुने भए पनि टिमले त्यसलाई ह्यान्डल गर्न सक्ने विश्वास व्यक्त गरे।
मंसिर १९, २०८२ शुक्रबार २०:२१:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।