सानो पर्दाका ‘राजा’लाई ठूलो पर्दाको भोक : कोही ‘हिट’, कोही ‘क्विट’

सानो पर्दाका ‘राजा’लाई ठूलो पर्दाको भोक : कोही ‘हिट’, कोही ‘क्विट’

काठमाडौं : कुनै समय नेपाली फिल्ममा हास्य कलाकारको भूमिका 'दालमा नुन' वा 'खानासँग चटनी' जस्तो मात्र हुन्थ्यो। हिरो-हिरोइनको रोमान्स र एक्सनको बीचमा दर्शकलाई 'रिफ्रेस' गराउनु मात्र उनीहरूको जिम्मेवारी ठानिन्थ्यो। 

दशक अघिसम्म वसुन्धरा भुसाल, राजाराम पौडेल, गोपालराज मैनाली, दीपकराज गिरी, दमन रुपाखेती, जितु नेपालदेखि उत्तम नेपालसम्मलाई फिल्ममा 'चंखे' वा 'चटनी'को रूपमा मात्र प्रयोग गरिन्थ्यो। उनीहरूको भूमिका हलुका हुन्थ्यो। तर, समयको चक्र यसरी घुम्यो कि- हिजोका तिनै 'साइड' कलाकारहरू आज नेपाली फिल्मको मुख्य भूमिकामा स्थापित हुँदै गएका छन्।

फिल्ममा 'चटनी' का रूपमा सीमित रहेका कलाकारहरू त्यतिबेला टेलिभिजनको पर्दामा भने जमेरै चम्किए। उनीहरूको चर्चा हिरो-हिरोइनको भन्दा कम हुँदैनथ्यो। एक दशकअघि ‘तितो सत्य’, ‘जिरे खुर्सानी’, ‘मेरी बास्सै’, ‘भद्रगोल’ देखि पछिल्लो समयको ‘सक्किगोनी’ सम्म आइपुग्दा उनीहरूको चर्चा हिरो-हिरोइनको भन्दा कम रहेन। 

यतिबेला भने टेलिभिजनका दर्शक युट्युब र मोबाइलतिर सरेपछि हास्य कलाकारहरूको ध्यान पनि हलको ठूलो पर्दातर्फ मोडिएको छ। पछिल्लो समय फिल्म निर्माणमा देखिएको कमेडियनहरूको सक्रियताले अधिकांशको रोजाइ अब 'हिरो' बन्नेतर्फ रहेको प्रष्ट हुन्छ।

विशेषतः हास्यटेलिश्रृंखला ‘सक्किगोनी’ का तीन निर्देशकले तीन वटै फिल्म निर्माण गरिसकेका छन्। कुमार कट्टेल (जिग्री) ले फिल्म ‘लाजशरणम्’ निर्माण गरिसकेका छन् भने अर्को फिल्मको तयारीमा समेत जुटेका छन्। सोही श्रृंखलाका ‘पाँडे’ अर्थात् अर्जुन घिमिरेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ आगामी पुस ४ गतेबाट प्रदर्शनमा आउँदैछ। 

यस्तै, ‘काकु’का नामले परिचित दीपक आचार्यको फिल्म ‘परान’ले बक्स अफिसमा कीर्तिमान व्यापारका साथ छैटौं हप्तामा प्रवेश गरेको छ। उता, ‘हल्का रमाइलो’ का मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) पनि फिल्म ‘गोबर गणेश’ लिएर माघ १ गते आउने तयारीमा छन्, यद्यपि यसबारे बजारमा खासै चर्चा भने छैन।

टेलिश्रृंखला निर्माणमा जमेका लेखक, निर्देशक तथा कलाकारहरूको ध्यान अहिले ठूलो पर्दामा केन्द्रित छ। दर्शकहरू टेलिभिजन छाडेर युट्युब र मोबाइल स्क्रिनमा सरेपछि पुराना कलाकारहरू पुनः टेलिभिजनमा फर्कने मुडमा देखिँदैनन्। उनीहरूको बुझाइमा अब दर्शकले टेलिभिजन होइन, टेलिभिजनले चाहिँ दर्शक खोजिरहेको अवस्था छ। चर्चित हास्यटेलिश्रृंखला ‘जिरे खुर्सानी’का लेखक, निर्देशक तथा कलाकार जितु नेपाल अब टेलिश्रृंखला निर्माणमा तत्काल फर्कने सोचमा छैनन्। 

‘टेलिफिल्म भनेको टेलिभिजनमा हेर्ने हो, तर अहिले टिभी हेर्ने दर्शक कम छन्। अब त युट्युब फिल्म र मोबाइल फिल्मको जमाना आयो,’ उनी भन्छन्, ‘हामीले ‘तितो सत्य’, ‘जिरे खुर्सानी’, ‘मेरी बास्सै’ जस्ता सिरियल बनाउँदा सबै परिवार एक ठाउँ बसेर हेरिन्थ्यो। अहिले ९५ प्रतिशतका घरमा टिभी खोलिँदैन। मैले त भन्ने गरेको छु- अचेल घरका मान्छेले टिभी हेर्दैनन्, टिभीले चाहिँ मान्छेहरूलाई हेरेर छन्। मान्छेले टिभी नै खोल्न छोडेपछि त्यो 'शो-पिस' मात्र भयो। यस्तोमा अब के टेलिफिल्म बनाउनु?’

टेलिश्रृंखलाबाटै दर्शकसँग जोडिरहन मन भए पनि अहिलेको अनुकूल वातावरण नरहेको उनी बताउँछन्। ‘मलाई टेलिफिल्मका दर्शकसँगै बसिरहन मन त छ, तर अहिले कुनै टेलिभिजनले टेलिफिल्म बनाउँदैन। टेलिभिजनले पनि युट्युब फिल्म नै बनाउँछ,’ उनी थप्छन्, ‘पहिला टेलिभिजनमा काम गर्नु ठूलो कुरा हुन्थ्यो, सेन्सर हुन्थ्यो। अहिले जसलाई जे मन लाग्यो, त्यही खिचेर युट्युबमा हाल्दिँदा भएको छ।’

अहिले युट्युबमा बिग्रेका, भत्केका र 'कसको श्रीमती कसले लग्यो' जस्ता विषयमा मात्र दर्शकको चासो बढेको जितुको तर्क छ। ‘राम्रा चिजहरू बिक्दैनन्। मान्छेको डिभोर्स भएका, कुटेका र दुःख पाएका कुराहरू मात्रै बिक्री हुन्छन्,’ उनले भने, ‘यस्तो अवस्थामा हाम्रा कुराहरू बिक्दैनन्। समय फरक भइसक्यो, त्यसैले मेरो टेलिफिल्म बनाउने कुनै योजना छैन।’

कसैलाई फाप्यो, कसैलाई 'सेन्टी' बनायो

‘तिते, जिरे, मेरी बास्सै’ का कलाकारहरूले एक दशकअघि फिल्म ‘वडा नम्बर ६’ निर्माण गरेपछि यो समूह तितरबितर भयो। सोही समूहका केदारप्रसाद घिमिरे (माग्ने बुढा) दीपकराज गिरी र दीपाश्री निरौलाको टिममा जमे पनि सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) भने आफैँ फिल्म निर्माणमा होमिए। उनीहरूले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ हलमा पत्तासाफ भयो। यद्यपि उनीहरू कोही पनि टेलिभिजनको पर्दामा फर्किएका छैनन्।

त्यसपछि धुर्मुसले गत वर्ष भाइ कुमार कट्टेल निर्देशित फिल्म ‘लाजशरणम्’मा अभिनय गरे। कुमार पनि तत्काल टेलिफिल्ममा फर्कने योजनामा छैनन्, उनी अर्को फिल्मको तयारीमा जुटेका छन्। यद्यपि, ‘सक्किगोनी’ का लेखक तथा निर्देशक समेत रहेका कुमारले टेलिश्रृंखलालाई माया नै मारिहाल्ने अवस्था नरहेको बताए।

‘हामीलाई टेलिश्रृंखलाले नै जन्माएको हो,’ उनले भने, ‘आफूलाई जन्माएको टेलिभिजनमा नफर्कने भन्ने कुरा छैन। ढिलो चाँडो फर्कन्छु।’

‘सक्किगोनी’ टिम : हलमा सरे पनि घर नबिर्सने

यसै श्रृंखलाका अर्का लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) पनि यतिबेला टेलिश्रृंखलाभन्दा फिल्म निर्देशनमै केन्द्रित छन्। उनी निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ यही पुस ४ गतेबाट प्रदर्शन हुँदैछ। फिल्मको प्रचारमा व्यस्त रहेका अर्जुन रिलिजपछि भने पुनः टेलिश्रृंखला निर्माणमै लाग्ने मुडमा छन्।

‘फिल्म निर्माण गर्दैमा टेलिश्रृंखलामा नआउने भन्ने छैन,’ उनले भने, ‘जताबाट भए पनि हामी दर्शकमाझ पुग्ने नै हो। श्रृंखला त बनाइहाल्छौं नि।’

यसै श्रृंखलाका अर्का कलाकार तथा क्रिएटिभ निर्देशक दीपकप्रसाद आचार्य (काकु) पनि आफ्नो पुरानो घर (टेलिफिल्म) फर्कने योजनामा छन्। एक दशकअघि फिल्म ‘पाँच अम्बरे’ बाट लगानी डुबाएका उनी टेलिफिल्म हुँदै पुनः सफल निर्देशकका रूपमा उदाएका छन्। उनको पछिल्लो फिल्म ‘परान’ ले हलमा ३५ औँ दिन पार गर्दै वर्षकै सर्वाधिक कमाउने सूचीमा स्थान बनाइसकेको छ।

हलमा सफलता पाए पनि ‘काकु’ आफ्नो जरो बिर्सने पक्षमा छैनन्। उनी भन्छन्, ‘मलाई जुन घरले परिचित गरायो, म त्यसलाई छाड्दिनँ। फिल्मसँगै म टेलिफिल्ममा पनि फर्कन्छु, म मेरो धरातल बिर्सन्न।’

शिवहरिको न फिल्म चल्यो, न टेलिश्रृंखला

टेलिश्रृंखला ‘जिरे खुर्सानी’ मा ‘प्वाक्क मुखमा हान्नु जस्तो’ थेगोबाट परिचित शिवहरि पौडेलले श्रृंखलाबन्द भएपछि फिल्म ‘लक्का जवान’ निर्माण गरे। टेलिश्रृंखलामा लेखन तथा निर्देशनमा जमेका उनको ठूलो पर्दामा यो डेब्यु निर्देशन थियो। तर, विडम्बना यो फिल्मले हलमा पानी समेत भन्न पाएन।

फिल्म असफल भएपछि उनी पुनः हास्यटेलिश्रृंखला ‘कुलबहादुर काका’ लिएर दर्शकमाझ आए। इमेज टेलिभिजन र आफ्नै युट्युब च्यानल ‘मुखमा हान्नु जस्तो’ मार्फत उनी श्रृंखलामा फर्किएका थिए, तर यो पनि खासै चलेन। त्यसपछि उनले ‘खुरापाती’ र ‘हिस्स बुढी खिस्स दाँत’ जस्ता हास्यश्रृंखला निर्माण गरे। 

यी श्रृंखलाहरू ३२ भागसम्म युट्युबमा चले पनि त्यसभन्दा अघि बढ्न सकेको देखिँदैन। उनको युट्युब च्यानलमा करिब तीन हप्ता अघि ‘डल्ले खुर्सानी’ शीर्षकको भिडियो आएको छ, जुन ‘जिरे खुर्सानी’ कै अंश हो। यता सिर्जनाहरूले सोचेजस्तो सफलता नपाएपछि उनी अन्ततः अमेरिका हानिए। उनी यतिबेला अमेरिका तिरै रमाइरहेको देखिन्छन्।
 

मंसिर १९, २०८२ शुक्रबार २०:५५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।