छ वटा गोली लागेको छोराको शव देख्दा विष्णु थरथर काम्न थालेँ,  याङ  ल्हामुले हेर्नै सकिनन्

छ वटा गोली लागेको छोराको शव देख्दा विष्णु थरथर काम्न थालेँ,  याङ  ल्हामुले हेर्नै सकिनन्

काठमाडौं : याङ ल्हामु तामाङलाई भदौ २३ गते भ्रष्टाचार विरुद्ध जेनजी पुस्ताले डाकेको आन्दोलनबारे केही थाहा थिएन। सधैँ झैँ उनी कीर्तिपुरमा रहेको आफ्नो घरधन्दामै व्यस्त थिइन्। बेलुका नातिसँग खाना खाँदै गर्दा उनले नातिको मोबाइलमार्फत आन्दोलनबारे थाहा पाइन्।

 सामाजिक सञ्जालमा ह्वारह्वारती आइरहेको रगतले लत्पतिएको शव, रगतपिच्छे भएका घाइतेहरूको भिडियो धेरै बेर हेर्न पनि सकिनन्। हजुरआमा र नाति दुवैले खाना खाए। उनको मनमा ठुलो छोराको सम्झना आयो।

“नातिले माम (हजुरआमा) हेर्नु न भन्दै खाना खाँदै गर्दा आन्दोलनको भिडियोहरू देखायो। कहाँ भएको भन्दा उसले बानेश्वरको आन्दोलनमा भन्दै थियो,” भदौ २३ को दिन सम्झिँदै उनले उकेरासँग भनिन्, “त्यसपछि मलाई उसको बाबाको याद आयो। उ पनि बिहानदेखि घरमा थिएन। त्यतै गयो कि क्या हो भन्ने लाग्यो।”

मन बेचैन भएपछि उनले छोराको नम्बरमा फोन लगाइहालिन्। तर फोन उठेन। सधैँ फोन उठाउने र अलिकति ढिला भयो भने फोन फर्काइहाल्ने छोराको नम्बरमा कल गर्दा उठेन पनि कलब्याक पनि आएन। उनी झन् आत्तिइन्। छट्पट भई नै रह्यो। उनको बुहारी माइती गएकी थिइन्। उनी पनि घर फर्किइन्।

छोराले फोन फर्काउला कि भनेर उनले फोन हेरिरहिन् तर आएन। न फोन आयो न छोरा। उनी जसोतसो निदाउन खोज्दै थिइन्, राती ११ बजे त्यही नाति ढकढक्याउन आइपुगे।

“म निदाएको थिइन। माम भन्दै नाति फेरि मोबाइल देखाउन आयो,” आँखामा आँसु टिलपिल गर्दै उनले सुनाइन्, “नातिले माम हेर्नु न हाम्रो बाबा भनेर देखायो। यसो मोबाइल हेरेको कपडा त्यही हो। मान्छे त्यही हो। म त केही बोल्नै सकिनँ।”

४० वर्षीय छोरा  बुद्धिबहादुर तामाङ रगताम्य भएर सडकमा लडेको दृश्य उनले हेर्न सकिनन्। नजिकै भएका उनका श्रीमान् विष्णुबहादुर तामाङले छोरा चिने लगत्तै टोल छिमेकमा सहयोग माग्न दौडिए। उनले फोन गरे। तर मध्यरात भइसकेकाले उनको फोन उठेन।

 छोराको शव हेर्ने आँटै आएन

घर छेउकै साथी उठेपछि विष्णु आफै गाडी हाँकेर घरबाट निस्किए। तर कहाँ जाने पत्तो थिएन। घाइतेहरूलाई सिभिल र ट्रमा सेन्टरमा लगिएको समाचार सुनेका थिए। त्यही अनुसार उनी पहिला ट्रमा गएर त्यहाँ नभेटे सिभिल जानेगरि हिँडे।

 काठमाडौँमा कर्फ्यु लागेको उनले बिर्सिसकेका थिए। बाटोमा सुरक्षाकर्मीहरूले गाडी रोक्दा उनी छोरा भेट्न जान लागेको भन्दै एकोहोरो गाडी कुदाइरहन्थे। कति खेर हस्पिटल पुगे समेत चाल पाएनन्।

“छट्पट भइरहेकै थियो। आन्दोलनको बारेमा लगातार समाचार अनि नातिले देखाएको फोटो देखेर त अत्तालियो नि,” विष्णुबहादुरले उकेरासँग भने, “त्यो बेला कर्फ्यु लागिसकेको थियो। के गर्ने, नगर्ने भयो। मध्ये रातमा साथीहरूलाई जम्मा पार्न पनि गाह्रो भयो।”

ट्रमा सेन्टरमा उनीहरू पुग्दा भिडभाड थियो। उनी भिड छिचोल्दै अगाडि बढ्दै थिए, सेतो कपडाले ढाकेको शव अगाडि पुगे। कपडा उठाएर हेर्ने आँट नै आएन उनलाई।

उनीसँगै गएको साथीले सेतो कपडा उठाउने बित्तिकै गोलीले क्षतविक्षत भएको आफ्नो छोरालाई देखे। उनी त्यहीँ थरथरी काँप्न थाले। हात खुट्टाहरू गल्न थाले। बरर आँसु खस्यो। उनी चल्नै सकेनन्।

 स्वयम्भूको घाटमा आमाछोराको भेट

विवाहपछि सन्तानहरू छुट्टिएर बसेका थिए। अघिल्लो दिन मात्र उनले आफ्नो छोरालाई भेटेका थिए। उनले सुने अनुसार बुद्धिबहादुर पछिल्लो समय बौद्धमा क्याफे चलाएर बसिरहेका थिए।

क्याफेमा काम गर्ने केटाहरूसँग मिलेर उनीहरू बानेश्वर पुगेको भन्ने बाहेक केही थाहा छैन उनलाई। उनको क्याफेमा काम गर्नेहरू ११/१२ कक्षामा पढिरहेका विद्यार्थी थिए। काम गर्नेहरू सबै आन्दोलनमा जाने भनेपछि उनी पनि आन्दोलन हेर्न गएकोसम्म उनको बुवाले थाहा पाएका रहेछन्।

 वैदेशिक रोजगारीमा समेत केही समय बाहिर बसेर आएका बुद्धिबहादुरले आफ्नै फर्निचर पनि चलाएका थिए। पछि फर्निचर छोडेर उनी क्याफेमा लागेका रहेछन्।

“पहिला देखिनै रिस नगर्ने। सबैसँग मिल्ने स्वभावको थियो। त्यस्तो मान्छे छिटो जान पर्ने रहेछ,” बोल्दा बोल्दै उनकी आमा रोकिइन्।

छोराको शव फेला परेको भन्दै घरमा खबर आएपछि उनी पनि अस्पताल पुगेकी रहिछिन्। तर शव हेर्न सकिनन्। आठौँ दिनमा एकै पटक आफ्नो जेठो सन्तान बुद्धिबहादुरलाई स्वयम्भूको घाटमा भेटिन्। तर त्यहाँ पनि उनले छोराको शवको अनुहार हेर्न सकिनन्।

 ट्रमा सेन्टरमा देखेको शव टिचिङमा फेला पर्यो

“छोरालाई गोली लाग्यो। उ शहिद भयो भनेर हामीलाई थाहा नै छैन,” विष्णुबहादुर भन्छन्, “ट्रमामा उसको शव देखेपछि म त चल्न पनि सकिनँ। साथीलाई नै गाडी चलाउ भनेर घर फर्कियौँ। भोलीपल्ट बिहानै अरू साथीहरू बटुलेर ट्रमा गएको त्यहाँ शव नै छैन।”

 त्यसबेला घरमा रुवाबासी चलिसकेको थियो। टोलभरिको छिमेकी झुम्मिएका थिए। बिहानै पाँच बजेबाटै घरमा घुइँचो सुरु भयो। त्यहीँ जम्मा भएर उनीहरू सबेरै ट्रमा पुगेका रहेछन्। तर बुद्धिबहादुरको शव पोस्टमार्टम गर्न  टिचिङको पोस्टमार्टम विभागमा पठाइसकेका थिए।

 उनीहरू टिचिङमा रहेको पोस्टमार्टम गृह पुग्दा धेरै सहिदको आफन्तहरू पुगिसकेका थिए। केही आफ्नो आफन्तको शव त्यहाँ भएको थाहा भएर पुगेका थिए। कोही हराएका आफन्त अस्पतालमा नभेटेपछि खोज्दै त्यहाँ पुगेका थिए। प्रहरीले त्यहाँको भिड हटाइरहेको थियो।

 “बाबु २३ गते दिउँसो नै बितिसकेको रहेछ। एउटा मात्र गोली लागेको भए पो। छ वटा गोली हानेको रहेछ। अनि मर्दैन त !,” बुद्धिबहादुरको शवको फोटो देखाउँदै उनको बुबाले भने, “मैले यो फोटो उसको आमालाई अहिलेसम्म देखाएको छैन। यो फोटो परिवारको अन्य सदस्यले कसरी हेर्न सक्छ र?”

उनले देखाएको तस्बिरमा बुद्धिबहादुरको टाउको, छाती, पेट र खुट्टामा गोली लागेको देखिन्छ। 

 टिचिङमा धेरै सहिदको परिवारका सदस्य एकजुट भइसकेका थिए। उनीहरूले सहिद घोषणा गर्नुपर्नेदेखि दोषीलाई कारबाही गर्न समेत माग गर्न थाले। सोही अनुसार बुद्धिबहादुर लगायत ४५ जनालाई प्रधानमन्त्री सुशीला कार्कीको सरकारले सहिद घोषणा गर्दै १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने भन्यो।

उनीहरूले बौद्धमार्गीको परम्परा अनुसार किरियाकर्म गरे। परिवारलाई भेट्न र सान्त्वना दिन ऊर्जा तथा शहरी विकासमन्त्री कुलमान घिसिङ पनि पुगे। दशैंको टिकाको दिन प्रधानमन्त्री सुशीला कार्की, संचारमन्त्री जगदीश खरेल समेत उनको घरमा पुगेका थिए।

 दोषीलाई कारबाही हुनु पर्यो

 उनीहरूले सरकारले घोषणा गरे अनुसारको क्षतिपूर्ति पाइसकेका छन्। जेनजी शहीद परिवार कल्याणकारी समाज भनेर संघर्ष समिति समेत बनेको छ। समितिले आफ्नो निरन्तर आफ्ना मागहरू सरकार सामु राखिरहेका छन्। अधिकांश सहिद परिवार काठमाडौं बाहिरका छन्। तर फोन मार्फत उनीहरू निरन्तर सम्पर्कमा छन्।

परिवारको लागि शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता, बानेश्वरमा सबै शहीदको सालिक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  शहीदहरूको फोटो राख्नुपर्ने उनीहरूको माग छ।

“हाम्रो सबै भन्दा ठुलो माग दोषीलाई कारबाही गरिनु हो। तर तीन महिना हुन लाग्दा समेत पनि दोषीलाई कारबाही हुन सकेको छैन,” विष्णुबहादुरले भने।

मंसिर १९, २०८२ शुक्रबार १९:२१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।