‘जेन-जी’ आन्दोलनविरुद्ध बादल आक्रामक : भने- प्रतिक्रान्ति रोक्न ओलीको नेतृत्व अपरिहार्य
काठमाडौं : एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको रक्षा र समृद्धिका लागि ओलीको विकल्प नभएको दाबी गरे।
थापाले नेतृत्वका लागि अहिले नै उम्मेदवारी घोषणा गर्दै हिँड्नु पार्टी एकताको हितमा नरहेको टिप्पणी गरे। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलतर्फ संकेत गर्दै उनले प्रतिस्पर्धाको नाममा उम्मेदवारी दिनुले पार्टीलाई एकताबद्ध बनाउनुको साटो विघटन र विसर्जनतिर लैजाने बताए।
‘केन्द्रीय समितिको निर्णयको कोणबाट हेर्दा यो ढंगमा जानु एमाले नेताहरूका लागि उपयुक्त होइन। यसले पार्टीलाई एकताबद्ध गर्दैन,’ उनले भने, ‘अहिलेको सन्दर्भमा एकताबद्ध नेतृत्व र सहमतिका साथ अघि बढ्ने हाम्रो ठहर हो। ओलीका नीति, विचार र उपलब्धिले पनि उहाँलाई नै निरन्तरता दिन आवश्यक छ।’
उपाध्यक्ष थापाले गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिए। उनले त्यसलाई परास्त गर्न पनि ओलीको नेतृत्व अपरिहार्य रहेको जिकिर गरे। जननिर्वाचित सरकारलाई बलपूर्वक अपदस्थ गरिएको भन्दै उनले यसलाई २०१७ साल र २०५९ सालको राजाको ‘कु’सँग तुलना गरे।
‘यो राजनीतिक परिघटना हेर्दा हामीले के देख्यौं भने दुई तिहाइद्वारा निर्वाचित नागरिक सरकारलाई बलपूर्वक अपदस्थ गरियो,’ थापाले भने, ‘२०८२ सालसम्म आउँदा फेरि अर्को ‘कु’ भयो।’
मंसिर १९, २०८२ शुक्रबार १५:५२:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।