चितवन कारागारमा क्षमताभन्दा बढी चाप, ३० जना कैदीबन्दी त्रिपालमुनि
चितवन : जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या देखिएको छ। ठाउँ अभावका कारण ३० जना कैदीबन्दीलाई भवनबाहिर त्रिपालमुनि राख्नुपर्ने बाध्यता सिर्जना भएको छ।
भवनभित्र सुत्ने ठाउँ नपुगेपछि दुई छुट्टाछुट्टै स्थानमा १५/१५ जना गरी ३० जनालाई त्रिपालमुनि राखिएको कारागार कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए।
विशेषगरी ‘जेनजी आन्दोलन’पछि कारागारबाट भागेर फर्किएकामध्ये ४६ जनालाई स्थानान्तरण गरी ल्याउँदा भित्री कोठामा ठाउँ अपुग भएको थियो।
प्रमुख ढुङ्गानाले भने, ‘भित्र बस्ने ठाउँ पर्याप्त छैन, त्यसैले त्रिपालमुनि राख्नुपरेको छ। बढ्दो चिसोका कारण कैदीबन्दी बिरामी पर्ने हुन् कि भन्ने डर छ।’
चिसो र गर्मी मौसममा त्रिपालमुनिको बसाइ कष्टकर हुने गरेको बताउँदै उनले यस वर्ष त्रिपाल भएको स्थानमा जस्ताको छाना हाल्ने योजना रहेको बताए। विगतमा पनि केही स्थानमा जस्ता हालेर व्यवस्थापन गरिएको थियो।
हाल कारागारमा ६३० जना कैदीबन्दी छन्, जसमा ५९३ पुरुष र ३७ महिला छन्। साथै, दुई जना आश्रित बालबालिका पनि आमासँगै छन्। कारागारको आधिकारिक क्षमता भने ३० महिला र ४७५ पुरुषको मात्र छ।
गत भदौ २५ गते कारागारबाट ७४३ कैदीबन्दी भागेका थिए। तीमध्ये धेरैजसो फर्किसकेका छन् भने अझै ११३ जना (दुई बालबालिकासहित) फर्कन बाँकी छन्।
फरार कैदीबन्दी फर्कने क्रम जारी रहेकाले उनीहरू आएपछि व्यवस्थापन अझ जटिल बन्ने र थप व्यक्तिलाई त्रिपालमुनि राख्नुपर्ने अवस्था आउन सक्ने प्रमुख ढुङ्गानाले बताए।
मंसिर १९, २०८२ शुक्रबार १३:३६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।