दुईपटक सूचना गर्दा पनि परेन भीसीको आवेदन, मन्त्री पुन भन्छन्- देशभक्त सन्तान आऊ
काठमाडौं : सुदूरपश्चिमको पहिलो चिकित्सा विश्वविद्यालयका रूपमा स्थापित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुईपटक सूचना प्रकाशित गर्दा पनि कुनै आवेदन परेको छैन।
उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो पटक गत कात्तिक १६ गते सूचना प्रकाशित गरी कात्तिक ३० गतेसम्मको समय दिएको थियो। उक्त अवधिमा आवेदन नपरेपछि मङ्सिर ५ गतेसम्मका लागि म्याद थपिएको थियो।
तर, थपिएको समयमा पनि कुनै उम्मेदवारले चासो नदेखाएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सार्वजनिक आह्वान गरेका छन्।
मन्त्री पुनले आज सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उपकुलपति पदको दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन। त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राध्यापक तथा विद्यावारिधि भई काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान कृपया निवेदन दिनुहोस् वा मलाई नै सम्पर्क गर्नुहोस्।’
सङ्घीय संसद्बाट पारित ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो।
कैलालीको गेटामा सञ्चालनमा आउन लागेको यो विश्वविद्यालय नेतृत्वविहीन बन्ने देखिएपछि मन्त्री नै गुहार माग्न बाध्य भएका हुन्।
मंसिर १९, २०८२ शुक्रबार १२:२५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।