सामसुङले नेपालमा ल्यायो ‘ग्यालेक्सी ट्याब ए११ प्लस’, ७ वर्षसम्म सफ्टवेयर अपडेट पाइने
काठमाडौं : सामसुङले नेपाली बजारमा आफ्नो नयाँ ट्याब्लेट ‘ग्यालेक्सी ट्याब ए११ प्लस’ औपचारिक रूपमा सार्वजनिक गरेको छ।
विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स फिचरसहितको यो ट्याब बजारमा ल्याएको हो।
कम्पनीका अनुसार यो ट्याब्लेटमा ११ इन्चको ठूलो डिस्प्ले, प्रिमियम मेटल डिजाइन र शक्तिशाली पर्फमेन्सको संयोजन रहेको छ।
नयाँ ट्याब ए११ प्लसमा ‘गुगल जेमिनी’ जस्ता स्मार्ट एआई फिचर समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई दैनिक काममा भर्चुअल सहयोग प्रदान गर्छ।
यसका अलावा ‘सर्कल टु सर्च’ मार्फत स्क्रिनमा देखिएका सामग्रीलाई घेरा लगाएर तुरुन्तै गुगलमा खोज्न सकिने, रियल-टाइम टेक्स्ट अनुवाद गर्ने र ‘सामसुङ नोट्स’ मा गणितीय समस्याहरू समाधान गर्ने सुविधा पनि यसमा उपलब्ध छ।
सिल्भर र ग्रे कलरमा उपलब्ध यस ट्याबमा डल्बी एटमस सहितको क्वाड स्पिकर राखिएको छ, जसले चलचित्र हेर्दा वा अनलाइन कक्षा लिँदा स्पष्ट आवाज प्रदान गर्छ।
यसमा ४ न्यानोमिटरको मिडियाटेक मिडियाटेक ८७७५ प्रोसेसर प्रयोग गरिएको छ, जसले मल्टिटास्किङ र गेमिङका लागि सहज अनुभव दिने कम्पनीको दाबी छ।
यसका अलावा सामसुङले यो ट्याब्लेटमा ७ जेनेरेसनसम्म ‘वान यूआई’ अपग्रेड र ७ वर्षसम्म सुरक्षा अपडेट दिने घोषणा गरेको छ। ए-सिरिजको ट्याब्लेटमा यो अहिलेसम्मकै ठूलो अपग्रेड भएको कम्पनीले जनाएको छ।
सामसुङ नेपालका मोबाइल बिजनेस निर्देशक प्रणयरत्न स्थापितले भने, ‘ग्यालेक्सी ट्याब ए११ प्लस मार्फत हामी नेपालमा प्रिमियम उत्पादकता र एआईमा आधारित शिक्षालाई अझ धेरै प्रयोगकर्तासम्म पुर्याउन चाहन्छौं। लामो समयसम्मको सफ्टवेयर अपडेटको प्रतिबद्धताले यो ट्याबलाई भविष्यमैत्री र भरपर्दो बनाएको छ।’
सामसुङले उपभोक्ताको सहजताका लागि ‘इन्स्टा फाइनान्स’ सेवामार्फत शून्य ब्याजदरमा किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ। नेपाली बजारमा ग्यालेक्सी ट्याब ए११ प्लस दुई भेरियन्टमा उपलब्ध छ।
५जी नाम दिइएको ८जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४७ हजार ९९९ रुपैयाँ तोकिएको छ भने वाइफाइ भेरियन्ट नाम दिइएको ६ जीबी र्याम र १२८ जीबीको मूल्य ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ।
यो ट्याब देशभरका अधिकृत सामसुङ स्टोर र रिटेल पार्टनरहरूमा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ।
मंसिर १९, २०८२ शुक्रबार ११:४५:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।