चितवनमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन : चितवनको भरतपुरमा कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बिहीबार राति करिब ८ बजे भरतपुर महानगरपालिका-५ शान्तिचोक नजिकै दुर्घटना भएको हो।

शान्तिचोकबाट सीएमसी कलेजतर्फ जाँदै गरेको बा.प्र. ०१-०२५ च ३९०१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ना ४० प ३४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी स्कुटर चालक भरतपुर महानगरपालिका-१५ मंगलपुर बस्ने ५३ वर्षीय गोपालबहादुर पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका पण्डितलाई तत्काल उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा राति ८:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा दुवै सवारी साधनमा क्षति पुगेको छ। ठक्कर दिने कार र त्यसका चालक भरतपुर-१५ बस्ने ४६ वर्षीय रामलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मंसिर १९, २०८२ शुक्रबार १०:०९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।