जनप्रगतिशील गायक माधव प्रधानका हिजोका कुरा : गीत गाउँदा पञ्चायत समर्थकले जंगलै-जंगल लखेटे, चार पटक त जेलै कोचे

जनप्रगतिशील गायक माधव प्रधानका हिजोका कुरा : गीत गाउँदा पञ्चायत समर्थकले जंगलै-जंगल लखेटे, चार पटक त जेलै कोचे

एउटा अनौठो संयोग- घरको दलिनमा नेपाल प्रहरीको ‘इन्स्पेक्टर’को बर्दी झुन्डिन्थ्यो, तर त्यही घरको छोराको गलामा भने ‘पञ्चायत विरोधी’ गीत गुन्जिन्थ्यो। बुबा सरकारी जागिरको सिलसिलामा जिल्ला-जिल्ला पुग्थे, सरकारको नुनको सोझो गर्थे। उता छोरा ‘विद्रोही’ गीत गाउँथे।

६७ वर्षीय गायक माधव प्रधानको जीवन आफैँमा एउटा चलचित्रको पटकथा जस्तै छ। जहाँ रेडियो नेपालमा ‘सललल नाङ्खोलामा पहिरो’ गाउँदा पाएको ‘हाइहाइ’ पनि छ, अनि प्रगतिशील गीत गाउँदा पञ्चेहरूले लखेट्दाको ‘सास्ती’ पनि। आखिर किन एक सम्पन्न परिवारको र ‘पावरफुल’ बाबुको छोराले सुखसयल त्यागेर जेलनेलको बाटो रोज्यो?

६७ वर्षअघि ताप्लेजुङको फुङ्लिङमा जन्मिएका प्रधानले पञ्चायतको त्यो उत्कर्ष कालमा केवल गीत मात्र गाएनन्, एउटा इतिहास बाँचे।

एसएलसी दिँदाका सहपाठी अहिलेका सभामुख देवराज घिमिरेसँगको मित्रतादेखि ‘आमा’ फिल्म हेर्दाको रमाइलो किस्सा अनि प्रहरी मारिएको त्यो कहालीलाग्दो घटनासम्म- माधव प्रधानसँग इतिहासका साक्षी प्रमाणहरू प्रशस्त छन्। उकेराको ‘हिजोका कुरा’ स्तम्भका लागि उनले आफ्नो जीवनका पानाहरू यसरी पल्टाएका छन्:

बुबा जता-जता, पढाइ उतै-उतै
मेरो जन्म ताप्लेजुङको फुङ्लिङ नगरपालिका- ४ मा भयो। त्यतिबेला फुङ्लिङ गाउँ पञ्चायत भन्ने गरिन्थ्यो। अहिले पनि त्यही फुङ्लिङ बजार भन्ने गरिन्छ। पहिला बजार थिएन, दोबाटो चोक थियो। मेरी हजुरआमाले त्यो चोकमा बसेर नाङ्ले पसल थापेपछि बिस्तारै चोक बनेको हो।

मेरो पढाइ ताप्लेजुङकै भानु हाइ स्कुलमा ६ कक्षासम्म भयो। त्यसपछि भने काठमाडौंको वनस्थली विद्याश्रम (अहिले सिद्धार्थ वनस्थली हाई स्कुल) मा ७ कक्षासम्म भयो। यस स्कुलपछि पुतलीसडकको पद्मोदय हाई स्कुलमा भर्ना भएँ।

मेरो बुबा तत्कालीन समयमा नेपाल प्रहरीतर्फको दूरसञ्चार आकाशवाणी शाखा (आवाघर) को तालिम केन्द्रमा जागिरे हुनुहुन्थ्यो। नेपाली प्रहरीको इन्स्पेक्टरका रूपमा कार्यरत भएकाले उहाँ जता जानुहुन्थ्यो, हामी त्यतै जान्थ्यौँ।

अहिलेको जस्तो हात हातमा फोनको सुविधा थिएन। तत्कालीन समयमा नेपाल सरकारले अन्यत्र देशमा रहेका दूरसञ्चारका विषयमा पढ्न पठाउने गर्थ्यो। सोही क्रममा मेरो बुबाले पनि दिल्लीमा गएर त्यसको तालिम लिएर आएपछि काम थाल्नुभएको थियो। पछि उहाँ कार्यवाहक डिएसपी पनि हुनुभयो। 

यता पढ्दापढ्दै बुबाको सरुवा कलैया भयो। यहाँ ८-९ कक्षामा पढ्दापढ्दै बुबाको सरुवा कलैया भएपछि म उतै गएँ। कलैयामा त मैले भाषा नै बुझ्दिन्थेँ। कलैयामा मैले ९ कक्षा ‘क्लियर’ गरेपछि फेरि ताप्लेजुङको उही भानु हाई स्कुलबाट १० पढेर २०२९ सालमा एसएलसी दिएको हो। पास गरियो।

त्यसपछि काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भएँ र गीत गाउन थालियो। त्यो बेलाको पढाइ अहिलेको जस्तो हुँदैन थियो। बुबाको जता-जता जागिर, उतै-उतै पढाइ हुन्थ्यो।

त्यो बेलाको ‘मिटर ब्याज’ तर अलि फरक
मेरा हजुरबुबाहरू भक्तपुरबाट तत्कालीन समयमा राणाहरूका सहयोगीका रूपमा पूर्वको धनकुटा पुगेका थिए। राणाको सहयोगी बनेर धनकुटा पुगेपछि हजुरबुबा उतै बस्नुभयो। राणाहरूको धनकुटा गौडा मूल अड्डा जस्तो थियो। राणाको सहयोगीका रूपमा धनकुटा पुगेपछि के-के काम गर्नुभयो, त्यो त मलाई थाहा भएन।

धनकुटा पुगेपछि हाम्रा हजुरबुबा, जुरआमा व्यापारमा लाग्नुभयो। कपडाहरू बेच्ने, खुद्रा पसलको व्यापार गर्न थालेपछि त्यतै अडिनुभयो। व्यापारकै सिलसिलामा ताप्लेजुङ पुगेपछि फुङ्लिङ चोकको दोबाटोमा व्यापार गर्न थाल्नुभयो।

त्यो समयमा व्यापारको लागि चोक हेर्ने चलन थियो। त्यही भएर पनि हाम्रा नेवारहरू व्यापारका लागि चोकमा नै बसेको पाउनुहुन्छ। दोबाटोमा पसल थापेर बस्ने भएकाले नेवारहरूलाई मान्छेहरूले ‘नेवार पाटे दोबाटे’ समेत भन्थे। सोही पसलबाट आएको पैसा मेरी हजुरआमाले गाउँघरमा कस-कसलाई पैसाको आवश्यकता पर्छ, उनीहरूलाई सुन ‘ज्याकटी’ (धितो) राखेर दिनुहुन्थ्यो। 

त्यो ज्याकटी राखेको पैसा कसैले उकास्न आउँथे, कसैले नसकेर उकास्न सक्दैनथे। त्यो सुन आफैँले पच पार्दा पनि हुने, होइन भने ब्याज कमाउने भन्ने थियो। अहिले हामी जसलाई ‘मिटर ब्याज’ भन्छौं, त्यो बेलामा पनि ब्याज कमाउने माध्यम चाहिँ रैछ। त्यो बेलामा मेरा हजुरबुबा-हजुरआमाले निकै सम्पत्ति जोड्नुभयो। त्यही भएर हाम्रो परिवार फुङ्लिङ बजारको चर्चित व्यापारी, धनी महाजन भनेर परिचित थियौं।

त्यसबाट आएको ब्याजले मेरी हजुरआमा खेतबारी, जग्गाजमिन जोड्नु भएको थियो। उहाँ एकबाट दुई बनाउनुहुन्थ्यो। छरछिमेकलाई पैसा दिने हजुरआमा नै हो। त्यसको ब्याजबाट हजुरआमाले लगानी गर्नुहुन्थ्यो भने मेरो बुबा नेपाली कांग्रेसमा लागेर सक्नुहुन्थ्यो।

वीपी कोइराला र गणेशमान सिंहले धाप हाल्दिएपछि उहाँ उनीहरूको झन्डा बोकेर हिँड्नुभयो। पैसा कमाउन होइन, नेपाली कांग्रेसको लागि वि.स. २०१५ सालको चुनावमा जिताउने भनेर दौडिएपछि यता सम्पत्ति कमाउनेमा हजुरआमा एक्लै पर्नुभयो।

स्कुलका हेडमास्टर नै वामपन्थी नेता परेपछि...
अहिलेका सभामुख देवराज घिमिरे र मैले सँगै एसएलसी दिएका हौं। हामी २९ सालको ब्याजीलाई एसएलसी पास गर्न निकै गाह्रो थियो। किनभने हामीभन्दा अगाडिको ब्याचका विद्यार्थीहरूले चिट चोर्न पाइएन भनेर सुपरिटेन्डेन्टमाथि सांघातिक हमला गरेका रहेछन्। उनीहरूको त्यो हमलाले हामीमाथि कडाइ भयो। अघिल्ला ब्याचका टंक कार्की लगायत साथीहरू ‘रेस्टिकेट’ मा परेका थिए।

म, देवराज लगायत हामी थुप्रै मिल्ने साथीहरू थियौँ। अहिले पनि उत्तिकै मिल्छौँ। आर्थिक रूपमा म सम्पन्न थिएँ भने देवराजजी कमजोर हुनुहुन्थ्यो। तर पढाइमा भने देवराज निकै ट्यालेन्ट हुनुहुन्थ्यो। देवराजजीसँग मेरो नियमित भेटघाट छ।

हरि नेपालसँग मिलेर गठन गरेको कमिटीलाई उहाँले निरन्तरता दिइरहनुभएको छ। पुराना समकालीन साथीहरू नछुटिने गरी हामीले ‘हरि नेपाल प्रतिष्ठान’ गठन गरेका छौँ। प्रतिष्ठानका कार्यक्रममा देवराजजी आइरहनुहुन्छ।

हाम्रो समयमा वामपन्थी युवाहरूलाई अलिक जागरूक गराउने भनेर भानु हाई स्कुलभित्रै नन्दकुमार प्रसाईं हेडमास्टरका रूपमा आएका थिए। उनी हेडमास्टर मात्र नभएर वामपन्थी नेता पनि रहेछन्। त्यो समयमा बाहिर देखिने चलन थिएन। उनी भित्रभित्रै स्कुलका साथीहरूलाई वामपन्थी धारमा भित्राउन थालेका थिए। युवा केटाकेटीहरूलाई प्रसाईं सरले आन्दोलन कसरी गर्ने भन्ने कुरामा प्रशिक्षण दिन्थे।

त्यतिबेला अर्का मोहन सिंहको चौथो महाधिवेशन, पूर्वी मेची-कोशी प्रान्तीय कमिटीमा उहाँले स्कुलका युवाहरूलाई नेतृत्व गर्नुभएको थियो, भूमिगत रूपमा। त्यो थाहा पाएपछि प्रशासनले उनलाई जेल, नेलका साथै जिल्लाबाट नै निष्कासन गर्यो।

अलिकति प्रगतिशील चेतना, कम्युनिस्टहरूको वामपन्थीहरूको राजनीतिक चेतना, कांग्रेस-कम्युनिस्ट आदि-इत्यादि भन्ने कुराहरूको चेतना जगाउने तिनै नन्दकुमारहरू हुन्। नन्दकुमारलाई त पछिल्लो समय माओवादी केन्द्रले सभासद् समेत बनायो।

झापा विद्रोहको प्रभाव गाउँसम्मै

हामीले एसएलसी दिनुभन्दा अघि झापा विद्रोह सुरु भएको थियो। यो २०२८ सालको कुरा हो। यो झापा विद्रोहको प्रभाव ताप्लेजुङमा पर्ने नै भयो। यो समयमा केही साहित्यिक चेत भएका मान्छेहरूले लुकिछिपी पत्रपत्रिकाहरू निकाल्थे।

मैले थाहा पाउँदा ‘झुप्रो’ भन्ने पत्रिका छापिन्थ्यो। यो पत्रिकाले आम वामपन्थीहरूको आन्दोलनलाई प्रतिनिधित्व गर्दै कथा, कविता, गीत निकाल्थ्यो। वामपन्थीको पक्षमा कविता, कथा लेख्ने गरेको कुरा प्रशासनले चाल पायो। यो कुरा थाहा पाएपछि केही साथीहरूलाई प्रशासनले थुन्न थाल्यो।

प्रशासनले यसरी हामीलाई दुःख दिने भनेर स्थानीय गाउँलेहरू सल्लाह गरेर ठुल्ठूलो नारा जुलुस हामीले गर्न थाल्यौँ। अहिले मलाई के लाग्छ भने, त्यो समयमा अञ्चलाधीशहरूले पञ्चहरूको कुरा सुनेनन् भने यस्तै वामपन्थी-कांग्रेसहरूलाई उचाल्ने र आन्दोलन गर्न लगाउने रहेछन्। उनीहरूको उक्साहटमा युवाहरूले नारा जुलुस निकाल्थे।

यो उचालेपछि उनीहरूको बार्गेनिङ हुँदो रहेछ। यो शान्त पार्ने जिम्मा हामी लिन्छौँ, हामीले भनेको मान्ने कि नमान्ने भनेर यी ठूला पञ्च नेताहरूले ती अञ्चलाधीशहरूसँग बार्गेनिङ चलाउँदा रहेछन्। हामीलाई त्यस्तो राजनीति नआउने।

अर्को कुरा उनीहरू भित्रभित्रै त मिलिहाल्दा रहेछन्। यो देखेपछि मैले सबै कुरा छाडेर राजनीतिमा लाग्नुपर्छ भन्ने ठानेँ। साथीहरूले आन्दोलन गर्दा मेरो समर्थन रहन्थ्यो तर म कुदिन थेँ।

ताप्लेजुङको त्यो रणमैदान, प्रहरी पनि मारियो
त्यो समयमा घटेको घटना म अझैँ तपाईंलाई सुनाउन चाहन्छु। यो २०१८ सालको कुरा हो। यतिबेला म कक्षा ५ मा पढ्थेँ। २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरे भनेर कांग्रेसले सशस्त्र आन्दोलन गरिरहेको थियो। त्यसको कमान्डिङ सुवर्ण शमशेरले गरेका थिए।

उनीबाट परिचालित भएका सूर्यमान गुरुङ, देवान दोर्जे भन्नेहरूले ताप्लेजुङ बजारलाई कब्जामा लिए। उनीहरूले त्यहाँ भएको सिडियो, प्रहरी प्रशासन सबै तहसनहस पारेर, एक जना प्रहरीलाई समेत मारेका थिए। कति घण्टासम्म त उनीहरूले बजार पुरै कब्जामा लिएका थिए। जुन मेरै आँखाले मैले देखेको थिएँ। 

सोही घटनापछि एक जना नेपाली कांग्रेसका नेता श्रीप्रसाद पराजुलीलाई ‘भात खुवायो, राख्यो’ भन्ने आरोपमा ताप्लेजुङको थानाभित्रै यातना दिएर मारिएको थियो। उनलाई मारेपछि उनलाई कांग्रेसले पहिलो सहिद भनेर घोषणा गरेको हो।

‘प्रजातान्त्रिक पहिलो सहिद’ भन्ने गरिन्छ। यो घटनापछि विद्यार्थी कांग्रेस भए पनि, किसान कांग्रेस भए पनि प्रहरीले समात्दै थुन्न थालेपछि, अधिकांश बाहिरी जिल्ला भागे। कोही दार्जिलिङ, कोही धरान, कोही कता लाखापाखा लागे। कांग्रेसीहरूले थप गतिविधि बढाउन नसकिरहेको अवस्थामा नन्दकुमार प्रसाईं लगायतको टिमले वामपन्थी गतिविधि अगाडि बढाएका थिए।

गाउँमै हेरेका थियौँ ‘आमा’ फिल्म, त्यो गीतबाट प्रभावित

हामी सानै छँदा नै गाउँमा नेपाली फिल्म ‘आमा’ प्रदर्शन गर्न ल्याइएको थियो। पञ्चायतको समर्थन रहेको यो फिल्म त्यतिबेला गाउँ गाउँमा लगेर देखाइन्थ्यो। २०२२ सालतिर हाम्रोमा पनि जेनेरेटरबाट यो फिल्म प्रदर्शन गरिएको थियो।

फिल्म हलमा होइन, बाहिर चौरमा नै। अनि स्कुलमा ‘माधव लु तिमीले एउटा गीत गाउँ त’ भन्नुभयो। मैले अलिअलि नक्कल गरेर त्यो ‘आमा’ फिल्मको गीत गाएँ। यो गाएपछि मलाई सबैले तारिफ गर्न थाले। त्यो फिल्मको गीत मैले गाइसकेपछि अझ गीत गाउन प्रेरित गर्यो। मैले स्कुलमा हुने हरेक कार्यक्रममा पनि गीत गाउन थालेँ।

सर-मिसहरूले गीत गाउनका लागि मलाई उक्साउनुहुन्थ्यो। मेरो बुबा पनि गीत गाउनमा निकै रुचि राख्नुहुन्थ्यो भने मेरा दिदीहरू नाचगानमा। त्यसको प्रभावले होला मलाई पनि थप गायनमा रुचि बढ्यो। बुबा आमाले मलाई इन्जिनियर बनाउन चाहने, मेरो ध्यान त्यता पटक्कै नहुने। नाचगानमा नै रुचि बढ्यो। विशेषगरी प्रगतिशील गीतमा मेरो रुचि बढ्यो।

पछि यही सिलसिलामा राल्फाका दाइहरू- रामेश, मञ्जुल, निनु लगायतको टिमको गीत र गायन सुन्न पुगेँ। वनस्थली स्कुलमा उहाँहरूले २ पटक गीत गाउन आउँदा दुई वटा गितारमा नै कति मिठो गीत गाउनुभयो भने म छक्कै परेँ। उहाँहरूले प्रगतिशील, अरू-अरू गीत होइन, एकदमै साहित्यिक गीतहरू गाउनुहुन्थ्यो।

शब्द नै कति मीठा हुन्थे। पढाइको सिलसिलामा पद्मोदय हाई स्कुलमा हामी पढ्दाखेरि संगीतको विषय पनि पढाइन्थ्यो। यसबाट मैले बेसिक ज्ञान प्राप्त भयो।

प्रधानपञ्च र गाउँकै मान्यजनले रेडियो नेपालमा गाउन सिफारिस
मैले ताप्लेजुङमा जाँदाखेरि त्यहाँ जे जानेको थिएँ, त्यही बजाएँ, नाचेँ, गाएँ। यो देखेपछि मलाई ताप्लेजुङका प्रशासनले र हाम्रा स्कुलका हेड सरहरूले ‘ल माधव प्रधानलाई पनि हामीले रेडियो नेपालमा गाउन पठाउने’ भन्ने कुरा राख्नुभयो।

२०३० सालमा उहाँहरूले जिल्लाको प्रतिनिधित्व गर्ने ७ जनाको टोली बनाउनुभएको थियो। त्यसमा म पनि थिएँ। यो टिममा सबैभन्दा सानो म नै थिएँ।

अनि रेडियो नेपालमा आएर गीत गाइयो। दाजुहरूले कम्पोज गरेका ५ वटा गीतहरू गाइयो। ताप्लेजुङको लोकभाकामा चल्ने गीत थियो, ‘सललल नाङ्खोलामा पहिरो, पहिरो भन्दा यो माया गहिरो।’

काठमाडौंको रेडियोमा गीत रेकर्ड गराउँदा त गीत गाइयो भन्ने मात्रै लागेको थियो। जब फर्केर गाउँमा पुगियो नि- ओहो! एउटा डाँडा हुँदै बजार छिर्नुपर्छ, त्यो डाँडाबाट नै मान्छेहरूले ‘फलनाले गाएको गीत सुनियो’ भन्दै हेर्नेको भिड लाग्यो। ‘रेडियोमा गीत गाउने हाम्रो माधव दाइ, भाइ, भतिजो, छिमेकी’ यस्तै-यस्तै भन्नेको त बजार नै लाग्यो। कतिले पछ्याए।

मैले गीत गाएको सुनेपछि त्यसमा वाद्यवादन बजाउँदै त्यतिबेला नातिकाजी दाइले मादल बजाउनुभएको थियो। त्यसपछि त थुप्रै गीत गाइयो। त्यो समयमा चर्चित रेडियोको गायक भइयो।

मदन भण्डारीको त्यो प्रगतिशील गीत
मैले गाउँमा हुने हरेक कार्यक्रममा ३० सालदेखि ३५ सालसम्म गाएँ। पढाइको सिलसिलामा म इलाम झरेको थिएँ। त्यही ठाउँमा प्रगतिशील गीत गाउने साथीहरू पनि भेटिनुभयो। रत्न बान्तवा पढाउने क्रममा उहाँ ‘नेकपा माले’ बनाउनतर्फ लाग्ने भनेर भूमिगत हुनुभयो।

भूमिगत हुँदाहुँदै त्यो समयमा ताप्लेजुङ पुग्दा प्रहरीले तड्पाई-तड्पाई मारेछन्। उहाँहरूले के भन्नुहुन्थ्यो रे भने, “नेपालमा समाजवादको झन्डा गाडेको दिन हामीमाथि हिमालको छेउमा भेडा बाख्रा चराएर बस्नुपर्छ। जान्ने बुझ्ने र पढेलेखेकाले देश चलाउँछन्।”

त्यतिबेलाका राजनीतिक मान्छेहरूमा लोभ-लालच थिएन। उनीहरू आफूले नपाए पनि जाने-बुझेकोले देश चलाउनु भन्ने खालका कुरा गर्थे। अहिले त पार्टीको सदस्यता लिएको एक महिनामा मैले के पाउने भन्न थाल्छन्। कुन पद चाहियो भन्न थाल्छन्। त्यो समयमा त्यस्तो थिएन।

मदन भण्डारीले पनि गीत लेख्थे। उनले लेखेको गीत ‘छोरीलाई स्कुल कलेज नपठाउने, यो विभेदलाई अन्त्य गर्नका लागि छोरीहरू एक हुनुपर्छ’ भन्ने खालको थियो। यो गीतको नयाँ संस्करण बनाएर मैले यसलाई संगीत भरेर गीत बनाएको थिएँ। ‘गएर भन्देउन् नेपालका दिदी र बैनीलाई, साह्रै नै थिचो र मिचो छ नेपाली नारी’ भन्ने छ। तर मैले मदन भण्डारीसँग भने भेट्ने मौका पाइनँ।

गीत गाउँदागाउँदै लखेटाइमा परियो, ५-६ चोटि थुनामा परेँ
मैले त्यो समयमा प्रगतिशील गीत गाउँदा ३-४ पटक नै जेल परेँ। जेल परेपछि कागज गर्दै बाहिरिएँ। काठमाडौंमा जुलुस सभा हुँदाखेरि पनि २-३ चोटि नै थाना पुगियो।

एक पटक गीत गाउँदै गर्दा पञ्चका समर्थकहरूले जंगलै-जंगल लखेटे। साह्रै दुःख दिएका थिए। धेरै ठाउँमा हामीमाथि आक्रमण भयो। हेटौंडामा पनि कार्यक्रम गर्दागर्दै पञ्चेहरू लखेट्न आएका थिए। त्यहाँ चाहिँ स्थानीयले पनि साथ दिए र बचियो। थुप्रै ठाउँमा लफडामा परियो। लामो समय थुनामा भने बस्न परेन।

अहिले म तिनै प्रगतिशील गीतका बारेमा एउटा ‘थेसिस’ (विद्यावारिधि) गर्दैछु। यही प्रगतिशील गीत लेखनकै लागि मैले पढ्न थालेको हो।

प्रगतिशील गीत लेखनमा पुराना पुस्ताहरूमा जुन गोकुल जोशी, योगमाया, सहिद हुने गंगालालले पनि गीत लेखेका छन्। त्यो गीतहरू सबैको हामीले समीक्षा गरेर त्यहाँ समाजवादी अवधारणाहरू कसरी हुन्छन् होला, के सोचे होलान् भन्ने बारेमा अध्ययन गरिरहेको छु।

मंसिर १९, २०८२ शुक्रबार ०८:१३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।