जेनजी आन्दोलनकारीसँगको सम्झौता चाँडो टुङ्ग्याउन निर्देशन दिँदै प्रधानमन्त्रीले भनिन् " केही बेहोर्नुपरे म बेहोरौला"
काठमाडौं : जेनजी आन्दोलनमा संलग्न रहेकाहरूको पक्राउकोक्रम बढेको भन्दै अगुवाहरूले सरकारसँगको सम्झौता चाँडो टुङ्ग्याउन आग्रह गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले कर्मचारीलाई सोमबारभित्र मस्यौदाको काम सक्न निर्देशन दिइन्। शुक्रवार केही जेनजी आन्दोलनका अगुवाहरूसँगको छलफलमा उनले जेनजीसँग हुने सम्झौता राजनीतिक दस्ताबेज हुने भन्दै त्यसमा हस्ताक्षर गरेकै आधारमा केही बेहोर्नुपरे आफू बेहोर्न तयार रहेको बताएकी हुन्।
छलफलमा सहभागी जेनजी अगुवाहरूले आन्दोलनमा सहभागीहरूलाई विभिन्न आरोपमा पक्राउ गर्नेक्रम बढेको र आन्दोलनमा सहभागी भएकै आधारमा आपराधिकरण गर्नेक्रम बढेको भन्दै आन्दोलनलाई राजनीतिक मान्यता दिन आफूहरूले सरकारलाई पेस गरेको मस्यौदा अनुसार सहमतिको लागि आग्रह गरेका थिए।
छलफलमा सहभागी एक प्रतिनिधीका अनुसार छलफलमा संलग्न सरकारी कर्मचारीहरूलाई जेनजीहरुले दिएको प्रस्तावको मस्यौदा सोमबारसम्म फाइनल गर्न भन्दै अब धेरै कुर्न नसक्ने बताएकी थिइन्। उनले अब यो विषय धेरै लम्ब्याउन नहुने र यसको स्वामित्व मन्त्रिपरिषद्का सबै सदस्यहरूले लिने भन्दै जतिसक्दो चाँडो मस्यौदाको काम सक्न निर्देशन दिएकी थिइन्।
कात्तिक अन्तिम साता छरिएर रहेका जेनजी समूहहरूले एकीकृत रूपमा सरकारसँग गर्ने सम्झौताको मस्यौदा बुझाएका थिए। मस्यौदा भदौ २३ को घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउने तर भदौ २४ को आगलागी र तोडफोडमा संलग्नलाई माफी दिने प्रस्तावहरू राखिएको थियो।
मंसिर १२, २०८२ शुक्रबार २०:१७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।