शुक्रवार पार्टी प्रवेश गरेका विश्वराज रास्वपाका केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकार
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रवार पार्टी प्रवेश गरेका नेपाल प्रहरीका पूर्व एआइजी विश्वराज पोखरेललाई केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकार बनाएको छ।
शुक्रवारै बसेको पार्टी सचिवालय बैठकले पोखरेललाई वरिष्ठ सल्लाहकार बनाउने निर्णय गरेको हो। बैठकले आयोगको सदस्यमा अधिवक्ता सुशीला सिम्खडालाई मनोनयन गर्ने निर्णय समेत गरेको छ।
पार्टी कोषाध्यक्ष लिमा अधिकारीको संयोजकत्वमा प्रशान्त प्रधान, अनिल अधिकारी र कुमार आनन्द मिश्र सदस्य रहेको उम्मेदवार छनोट अडिट समिति समेत गठन गरेको छ।
पार्टीको आयोग तथा केन्द्रीय विभागहरूमा समेत मनोनयनको निर्णय गरेको छ। बैठकले पार्टीको उच्च संवाद समितिको तर्फबाट हालसम्म भएका प्रगति ब्रिफिङ भएको र परिवर्तनका पक्षधर र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने राजनीतिक शक्तिहरूको ध्रुवीकरणको नेतृत्व गर्नेतर्फ रास्वपाले अगुवाइ गरिरहेको दाबी गरेको छ।
विवेकशील साझा पार्टीको तर्फबाट पार्टी एकताका लागि भएको निर्णयको स्वागत गर्दै सो सम्बन्धमा पार्टी एकता घोषणा कार्यक्रम सहितको छलफल गर्न शुक्रवार बेलुका केन्द्रीय समितिको विशेष बैठक बस्ने निर्णय भएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
मंसिर १२, २०८२ शुक्रबार १९:४५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।