सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशन : चुनावलाई त्रुटिरहित सुरक्षा प्रबन्ध मिलाउनू
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न नेपाली सेनालाई निर्देशन दिएकी छन्। निर्वाचनका क्रममा कुनै पनि नागरिकको ज्यान जाने वा घाइते हुने अवस्था आउन नहुनेमा उनले जोड दिइन्।
शुक्रबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयको निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनहरूको अनुभव र आसन्न चुनावका विविध आयामहरूको सूक्ष्म विश्लेषण गरी त्रुटिरहित ढङ्गले काम गर्न निर्देशन दिइन्। निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने काममा नेपाली सेनाको महत्त्वपूर्ण भूमिका रहनेमा उनले विश्वास व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले सरकारलाई प्राप्त जिम्मेवारीबमोजिम शान्ति सुरक्षाको प्रत्याभूतिसहित घोषित मितिमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी राष्ट्रिय अभिभारा पूरा गर्ने अभियानमा सेनाको प्रमुख भूमिका रहेको स्पष्ट गरिन्। गौरवमय इतिहास भएको नेपाली सेनाले निर्वाचन सुरक्षाका क्रममा यसअघि जस्तै प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन्।
'जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिन्छु,' प्रधानमन्त्रीले कार्कीले भनिन्।
कार्कीले जेनजी आन्दोलनका क्रममा लुटिएका र हराएका हातहतियारको खोजतलाससहित नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न, मुलुकमा शान्ति सुरक्षा सुनिश्चित गर्न तथा फरार अपराधी पक्रन खटिएका प्रहरीलाई सहयोग गर्न पनि निर्देशन दिइन्।
मंसिर १२, २०८२ शुक्रबार १६:४७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।