जोन सिम्पसनको अर्धशतकका बाबजुद काठमाडौं १४२ रनमा समेटियो, सोहेल तन्बीरको चार विकेट

जोन सिम्पसनको अर्धशतकका बाबजुद काठमाडौं १४२ रनमा समेटियो, सोहेल तन्बीरको चार विकेट
तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत भइरहेको १५औं खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजसामु जितका लागि १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभर पूरा खेल्न नसकी १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४२ रन बनायो।

काठमाडौंको सुरुआत निकै खराब रह्यो। पावरप्ले भित्रै शीर्षक्रमका ब्याटरहरू आकाश त्रिपाठी (४), रसिद खान (६) र बेन चार्ल्सवर्थ (१३) लाई गुमाउँदा टोलीको स्कोर जम्मा २४ रन थियो।

चौथो विकेटका लागि मिलिन्द कुमार र जोन सिम्पसनले ९८ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याएका थिए।

विशेषगरी विकेटकिपर ब्याटर जोन सिम्पसनले आक्रामक इनिङ खेले। उनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६० रन बनाए। यस्तै, मिलिन्द कुमारले ४३ बलमा ३८ रनको योगदान दिए।

तर, १५.६ ओभरमा मिलिन्द कुमार र लगत्तै जोन सिम्पसन आउट भएपछि काठमाडौंको इनिङ धराशायी भयो।

१२२ रनमा ३ विकेट गुमाएको अवस्थाबाट काठमाडौंले अन्तिम २० रन जोड्दा बाँकी ७ विकेट गुमाउन पुग्यो। कप्तान करण केसी १ रनमा र गेरहार्ड इरास्मस शून्यमै आउट भए।

चितवन राइनोजका लागि सोहेल तन्बीर नायक बने। काठमाडौंको मध्यक्रम र तल्लो क्रम ध्वस्त पार्ने क्रममा उनले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।

यस्तै, रञ्जित कुमार र कमल ऐरीले २-२ विकेट लिए भने रवि बोपाराले १ विकेट हात पारे। चितवनका बलरहरूले कसिलो बलिङ गर्दै काठमाडौंलाई ठूलो स्कोर बनाउनबाट रोके।

अब १४३ रनको लक्ष्य पछ्याउँदै चितवन राइनोजले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

मंसिर १२, २०८२ शुक्रबार १३:२९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।