फ्लडलाइट र नयाँ प्यारापिटसहित नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आजदेखि सुरू
काठमाडौं : क्रिकेट समर्थकहरूको उत्साहबीच नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भव्यताका साथ सुरू हुँदैछ।
नवनिर्मित १० हजार दर्शक क्षमताको प्यारापिट र पहिलो पटक जडान गरिएको फ्लडलाइटको सुविधाले यस संस्करणलाई थप आकर्षक बनाएको छ। आज अपराह्न ४ बजे हुने उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजको सामना गर्नेछ भने त्यसअघि २ बजे प्रतियोगिताको औपचारिक शुभारम्भ गरिनेछ।
मङ्सिर २७ गतेसम्म सञ्चालन हुने यस लिगमा कुल ३२ खेल हुनेछन्, जसमा लिग चरण, तीन प्लेअफ र फाइनल समावेश छन्।
प्रतियोगितामा साविक विजेता जनकपुर बोल्ट्स, उपविजेता सुदूरपश्चिम रोयल्ससहित काठमाडौं गोर्खाज, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिताको पुरस्कार राशि पनि आकर्षक रहेको छ। विजेता टोलीले रु. एक करोड १० लाख प्राप्त गर्नेछ भने उपविजेताले रु. ५१ लाख, तेस्रो हुनेले रु. २५ लाख र चौथो स्थान हासिल गर्ने टोलीले रु. १५ लाख नगद पुरस्कार पाउनेछन्। गत संस्करणको उपाधि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जितेको थियो।
नयाँ पूर्वाधारले दर्शकलाई पनि सहज बनाएको छ। अब दर्शकहरूले नवनिर्मित प्यारापिटको सिटमा बसेर आरामसँग खेल हेर्न सक्नेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार पहिलो दिनको खेलका लागि छुट्याइएका सबै टिकट बिक्री भइसकेका छन्।
उद्घाटन खेलका लागि साधारणतर्फ रु. ५०० र प्रिमियमतर्फ रु. १,५०० टिकट मूल्य तोकिएको छ भने लिग चरणका लागि क्रमशः रु. ५०० र रु. १,००० तथा प्लेअफ र फाइनलका लागि रु. १,००० र रु. २,००० मूल्य निर्धारण गरिएको छ। सबै खेल हेर्न चाहनेका लागि रु. १५,००० को सिजनल टिकटको व्यवस्था पनि छ।
यद्यपि प्रतियोगिता विवादरहित भने हुन सकेको छैन। नेपालका लागि ब्रोडकास्टिङ विषयमा विवाद भयो भने ओटीटी प्लेटफर्मकाको विषयमा अख्तियारमा मुद्दा समेत परिसकेको छ। यसका अलावा मैदानमा अनलाइन सट्टेबाजी प्लेटफर्म डाफान्यूजको प्रचार भइरहेको छ।
रात्रिकालीन खेलसमेत सञ्चालन हुने यस प्रतियोगिताबाट क्यानले करिब रु. ४० करोड आम्दानी गर्ने लक्ष्य लिएको छ। प्रतियोगिताको पूर्वसन्ध्यामा सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत स्तरोन्नति गरिएको मैदानका संरचनाहरू क्यानलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो।
मंसिर १, २०८२ सोमबार ०७:२३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।