मधेशमा रमिता : बिरामी भन्दै काठमाडौं हिँडेकी प्रदेश प्रमुख बर्दिवासमा, कटेजमै मुख्यमन्त्री नियुक्ती र शपथ
जनकपुर : मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहान बिरामी भएको भन्दै जनकपुरबाट काठमाडौंका लागि हिँडेकी थिइन्। तर उनी काठमाडौं नपुगी बर्दिवासको पानस कटेज पुगेर त्यहींबाट एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी छन्।
प्रदेश प्रमुख भण्डारीले बिहान करिब ४ बजे जनकपुरस्थित निवास छोडेकी थिइन्। कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई भेटेर स्वास्थ्य लाभको शुभकामना दिँदै बिदाइ गरे।
तर केही घण्टामै उनले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र जारी गरिन्। सोही होटलमा बिहान ५ बजेर २० मिनेटमा यादवले शपथसमेत लिए।
त्यसक्रममा एमाले सांसद लखन दास तत्मा, नेपाल संघीय समाजवादी पार्टीकी बिमला अंसारी र राप्रपाकी कंचन बिच्छाले विना विभागीय मन्त्रीको शपथ ग्रहण गरे।
प्रदेश प्रमुखलाई कांग्रेस, माओवादी, लोसपा, एकिकृत समाजवादी,जनमत र जसपाले संविधानको धारा १६८९२० अनुसार संयुक्त सरकार गठनका लागि आह्वान गर्न दबाब दिइरहेका थिए। तर उनले उपचारका लागि काठमाडौं जाने भनिए पनि बर्दिवासमै बसेर सरकार गठन गरिन्।
यस अगाडि जितेन्द्र सोनलले एमाले, कांग्रेसको समर्थन नपाए पनि अन्य दलसँग मिलेर सरकारमा दाबी गरेर मुख्यमन्त्री नियुक्त भएका थिए। तर विश्वासको मत पाउन नसक्ने भएपछि राजिनामा दिए।
एमालेले संसदको ठूलो दलको हैसियतमा संघीय समाजवादीसँग मिलेर सरकार गठन गरे पनि विश्वासको मत पाउन सहज छैन। बहुमतका लागि ५४ मत चाहिनेमा एमालेसँग २५ सांसद छन्। त्यसमा एकजना निलम्बित छन्। राप्रपा र संघीय समाजवादीसँग एक(एक सांसद छन्। यसले सरकारसँग ५४ मध्ये २६ मत रहेको देखिन्छ।
कात्तिक २४, २०८२ सोमबार १०:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।