सुधनले भने- प्रधानमन्त्रीसँग जेन-जी भावना बुझ्ने आईजीपी नियुक्त होस् भनेको हुँ

सुधनले भने- प्रधानमन्त्रीसँग जेन-जी भावना बुझ्ने आईजीपी नियुक्त होस् भनेको हुँ

काठमाडौं : सुधन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा नेपाल प्रहरीको भावी प्रहरी महानिरीक्षकको नियुक्तिबारे छलफल गरेको स्वीकार गरेका छन्।

उकेरासँग कुरा गर्दै उनले ‘जेन-जी आन्दोलनको भावना अनुसार काम गर्न सक्ने र पृष्ठभूमि क्लिन भएको’ व्यक्ति प्रहरी महानिरीक्षकमा नियुक्त हुनुपर्ने सुझाव दिएको बताए।

प्रधानमन्त्री र गृहमन्त्रीसँगको भेटमा सुधनले प्रहरी महानिरीक्षक नियुक्तिबारे छलफल गर्न चाहेको र नियुक्तिमा दबाब दिएकोबारे उकेरान्युजले बिहीबार समाचार प्रकाशित गरेको थियो। उनले प्रधानमन्त्री कार्कीसँग भेटेको तर गृहमन्त्री ओमप्रकाश अर्यालसँग भने नभेटेको शुक्रबार उकेरालाई बताए।

‘मेरो चासो व्यक्तिमा हैन। मैले कुनै व्यक्तिको नाम लिएको पनि छैन। तर जेन-जी आन्दोलनको भावना अनुसार काम गर्न सक्ने, पृष्ठभूमि सफा भएको व्यक्ति आइजिपी नियुक्त हुनुपर्छ भनेको हुँ,’ गुरुङले उकेरासँग भने ‘हिजोकै सरकारले जस्तो आफूलाई मन परेको मान्छेलाई नियुक्त गर्ने हो भने जेन-जी आन्दोलनको के अर्थ भयो?, नियुक्ति गर्दा पृष्ठभूमि हेरेर जनताको पक्षमा काम गर्न नडराउने व्यक्ति नियुक्त होस् भनेको हुँ।’

कात्तिक २७ गते चन्द्र कुवेर खापुङले अवकाश पाउँदै छन्। अहिले प्रहरी महानिरीक्षकका लागि आठ एआईजीमध्ये दानबहादुर कार्की, राजन अधिकारी, डा मनोज केसी अनि सिद्धिविक्रम शाह प्रतिस्पर्धामा छन्।

उकेरासँगको कुराकानीमा उनले कसलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्न चाहेको हो भन्ने खुलाएनन्। उनले आफू हिजोका दिनमा दलका नेताहरूले गरे जस्तो कुनै व्यक्तिको पक्षमा नलागेको दाबी गरे।

प्रहरी संगठन बुझेको, प्रहरीमा भर्ना भएदेखि अहिलेसम्मको पृष्ठभूमिका आधारमा भ्रष्टाचार नगरेको, संगठनलाई अनुशासनमा राख्न सक्ने, कानुन विपरीत काम गर्ने जोकोहीको फाइल खोल्न नहिचकिचाउने व्यक्ति प्रहरीको आईजीपी होस् भन्ने मात्र आफ्नो भनाई रहेको उनले बताए।

‘हामी प्रहरीसँग सुरक्षाको आस गर्छौँ। न्यायको आस गर्छौँ। तर मैले बुझ्दा त प्रहरी नै ठूलो अन्यायमा रहेछन्। अब आफैँ अन्यायमा भएको व्यक्तिले हामीले के न्याय दिन सक्छ,’ उनले उकेरासँग भने, ‘अबका दिनमा यस्तो नहोस् भन्ने हाम्रो चाहना हो। प्रहरी भित्र अन्यायमा कोही नपरुन्, कानुन हेरेर काम गर्न नडराउने मान्छे आइजिपी बनुन् भनेको मात्र हो।’

प्रहरी सङ्गठनभित्र जनताको भन्दा पनि दलको मान्छे जस्तो देखिने गरेको तर्क गर्दै उनले प्रहरी मेरो साथी भने पनि प्रहरी आउँदा भाग्नुपर्ने अवस्था रहेको बताए।

प्रहरी आउँदा नागरिकले सुरक्षाको अनुभव गर्नुपर्ने अनि आफ्नै साथी आएको अनुभव गर्नुपर्ने भन्दै संगठनको रूपान्तरण गरेर साँच्चिकै साथी जस्तो संगठन बनाउन सक्ने व्यक्ति नै अबको आइजिपी हुनुपर्ने बताए।

यस अगाडिको सरकारले कुनै कारण नै नखुलाई फलानो आईजीपीमा नियुक्त भनेर निर्णय मात्र सार्वजनिक गर्ने गरेकोमा यस पटक समिति बनाएर सबै प्रतिष्पर्धीहरूको हिस्ट्री हेरेर योग्य देखिएकालाई नियुक्त गर्नुपर्ने पक्षमा आफू रहेको भन्दै के आधारमा नियुक्त गरेको हो ती मूल्याङ्कन विवरण समेत सार्वजनिक गर्नुपर्ने बताए।

‘अब नियुक्त गरियो भनेर मात्र हुन्न। के आधारमा नियुक्त गरिएको हो त्यो पनि सार्वजनिक गर्नुपर्छ। हामीले हिजोको जस्तो आफूलाई मन परेको व्यक्ति चयन गर्न यत्रो आन्दोलन गरेका हैनौँ,’ उनले भने, ‘आईजीपी नियुक्त गरेपछि यो-यो आधारमा नियुक्त भएको हो है भनेर नागरिकले थाहा पाउन सक्ने गरी मुल्यांकन सार्वजनिक गर्नुपर्छ। अनि पो नागरिकले सक्षम व्यक्ति आइजिपी भएको रहेछ भनेर थाहा पाउँछन्।’

कुराकानीमा उनले हिजोका दिन कुन प्रहरी कुन दलसँग नजिक छ भन्ने आधारमा सरुवा अनि बढुवा हुने गरेको र त्यसमा सक्षमहरू अन्यायमा परेको बल्ल आफूले थाहा पाएको बताए।

सक्षम व्यक्तिलाई मन नपरेको आधारमा कम नम्बर दिएर तल पार्ने गरेको बुझेको भन्दै उनले अहिले एआइजीहुँदा को कति नम्बरमा छ भन्नेभन्दा पनि उ प्रहरी सङ्गठनमा प्रवेश गरेदेखि अहिलेसम्म के के काम गर्यो भन्ने सबै मूल्याङ्कन गरेर त्यसैको आधारमा नियुक्त गर्नुपर्ने बताए।

‘राजनीतिक दलले नियुक्त गर्दैमा खराबै मान्छे हो भन्न सकिन्न। को खराब हो या को राम्रो र सक्षम हो भन्ने त संगठनमा हुने ट्र्याक रेकर्डबाट थाहा भइहाल्छ नि! मान्छे हैन उसको ट्र्याक रेकर्ड हेरेर जेन-जी आन्दोलनले चाहेको परिवर्तन अनुसार काम गर्नसक्ने व्यक्ति नियुक्त हुनुपर्छ। जसको भए पनि फाइल खोल्न डराउन भएन नि!’

कात्तिक २१, २०८२ शुक्रबार १२:४०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।