एकीकृत समाजवादीसँगको यात्रा समाप्त भएको झाँक्रीको घोषणा, भनिन्- ‘हाम्रो अध्याय टुंगियो’

एकीकृत समाजवादीसँगको यात्रा समाप्त भएको झाँक्रीको घोषणा, भनिन्- ‘हाम्रो अध्याय टुंगियो’
फाइल तस्बिर

काठमाडौं : एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने पार्टीको निर्णयसँगै एकीकृत समाजवादी विघटन भएको बताउँदै आफ्नो अध्याय पनि टुंगिएको बताएकी हुन्।

‘प्रारम्भका दिनहरूमा एउटा भयंकर अभियान चल्छ भन्ने विश्वासले लागेका थियौं, तर त्यो अभियान अब समाप्त भएको छ,’ झाँक्रीले भनिन्, ‘एकीकृत समाजवादी पार्टीसँगको हाम्रो यात्रा, त्यो पार्टी विघटनसँगसँगै टुंगियो। हाम्रो अध्याय समाप्त भएको छ।’

झाँक्रीको यो घोषणा उनीसहितका नेताहरू एमालेमा फर्कने तयारी गरिरहेका बेला आएको हो।

सोही पत्रकार सम्मेलनमा नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूहरू कुनै पद नभई केवल सम्मानजनक व्यवहारको अपेक्षासहित ‘मूल घर’ एमालेमा विना शर्त फर्कन लागेको बताएका थिए।

‘हामीलाई मूल घरमा केही चाहिएको छैन, हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए पुग्छ’, श्रेष्ठले भनेका थिए।

पत्रकार सम्मेलनमा झाँक्रीले पार्टी विभाजनताका तत्कालीन नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई निर्वाचन आयोगमा डोहोर्याएको तस्बिरको प्रसंग पनि उल्लेख गरिन्।

‘त्यो फोटोलाई लिएर मलाई पार्टी विभाजनको मुख्य जिम्मेवार बनाइयो, तर त्यो एउटा बिम्ब मात्र थियो,’ उनले भनिन्, ‘विभाजनमा मेरो भूमिका के थियो, त्यसको मूल्यांकन इतिहासले गर्नेछ।’

आफ्नो आगामी राजनीतिक यात्राबारे उनले अहिले बाटो अवरुद्ध भएको र आफू ‘पज’को अवस्थामा रहेको बताइन्।

‘जब बाटो अवरुद्ध हुन्छ, तब यात्रालाई ‘पज’ गर्नुपर्छ र उपयुक्त मार्ग खोजेर अगाडि बढ्नुपर्छ’, उनले भनिन्।

उल्लेखनीय छ, अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय लिएपछि झाँक्री, श्रेष्ठ लगायतका नेताहरूले त्यसप्रति असहमति जनाउँदै आएका थिए।

कात्तिक १९, २०८२ बुधबार १४:०८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।