११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोप, छिमेकी विरुद्ध मुद्दा दर्ता
काठमाडौं : काठमाडौंको एक लन्ड्री पसलमा ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ५६ वर्षीय छिमेकी विरुद्ध मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बाल यौन दुर्व्यवहारको कसुरमा गोकुल डंगोललाई अभियुक्त बनाउँदै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
अभियोगपत्र अनुसार, घटना असोज २२ गते दिउँसो भएको थियो, जब बालिका आफ्ना बाबु-आमा बाहिर गएका बेला पसलमा एक्लै थिइन्। त्यही मौकामा छिमेकी गोकुल डंगोल पसलभित्र पसे र बालिकालाई जिस्काउने बहानामा संवेदनशील अंगमा छुने तथा अश्लील हर्कत गर्ने प्रयास गरेको आरोप छ।
डराएकी बालिका त्यहाँबाट भागेकी थिइन्। साँझ परिवारका सदस्य फर्किएपछि उनले रोइकराई घटनाबारे बताएकी थिइन्।
परिवारले प्रहरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान सुरु भएको थियो। प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराउनुका साथै बयान लिएको थियो।
अनुसन्धानपछि सरकारी वकिल कार्यालयले डंगोलमाथि बालबालिकालाई यौन सन्तुष्टि प्राप्त गर्ने नियतले छातीमा हात लगाई अश्लील व्यवहार गरेको ठहर गर्दै मुद्दा चलाएको हो।
हाल यो मुद्दा अदालतमा विचाराधीन छ र न्यायाधीशले पीडितको गोपनीयताका लागि बन्द इजलासमा सुनुवाइ गर्न आदेश दिएका छन्।
डंगोलविरुद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार यौन सन्तुष्टिको नियतले बालबालिकाको संवेदनशील अंग छुने वा अश्लील व्यवहार गर्ने कार्य अनुसार ‘बाल यौन दुर्व्यवहार’मा मुद्दा चलाइएको छ।
यस्तो अपराधमा कसुरको प्रकृतिअनुसार ५० वर्षसम्म कैद र जरिवाना हुन सक्ने व्यवस्था छ।
कात्तिक १५, २०८२ शनिबार १२:१३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।