निरन्तर हिमपातले पदमार्ग पुरिँदा अन्नपूर्ण र धौलागिरि क्षेत्रमा ८७ पर्यटक अलपत्र, ७२ को उद्धार

निरन्तर हिमपातले पदमार्ग पुरिँदा अन्नपूर्ण र धौलागिरि क्षेत्रमा ८७ पर्यटक अलपत्र, ७२ को उद्धार

म्याग्दी : लगातारको भारी हिमपातले पदमार्ग पुरिँदा म्याग्दी र मुस्ताङका उच्च हिमाली क्षेत्रमा फसेका १७ विदेशीसहित ८७ जना पर्यटकको उद्धार प्रयास जारी छ।

सुरक्षाकर्मीहरूको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविर (एबीसी) बाट ७२ जनालाई सकुशल उद्धार गरेको छ भने धौलागिरि क्षेत्रमा अलपत्र परेका १५ जनाको उद्धारका लागि अर्को टोली परिचालन भएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको अन्नपूर्ण आधार शिविर भ्रमणमा गएका पर्यटकहरू सोमबार रातिदेखिको हिमपातले पैदलमार्ग पुरिएपछि अलपत्र परेका थिए।

सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक लिलाबहादुर भुजेलका अनुसार, १७ विदेशीसहित ७२ जना पर्यटकलाई उद्धार गरी बिहीबार बिहान सुरक्षित रूपमा हुमखोलासम्म ल्याइएको छ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारकर्मीको संयुक्त टोलीले पदमार्गमा जमेको हिउँ पन्छाउँदै पर्यटकहरूलाई तल झारेको हो।

‘हिउँले बाटो पुरिएपछि हराएका २० जनालाई डोरीको सहायताले उद्धार गरियो,’ प्रनाउ भुजेलले भने, ‘सबै पर्यटकहरू सकुशल हुनुहुन्छ।’

यसैगरी, धौलागिरि चक्रीय पदमार्ग अन्तर्गत ५,१०० मिटर उचाइको ‘हिडन भ्याली’मा फसेका तीन बेलायती महिला पर्यटकसहित १५ जनाको उद्धार कार्य जारी छ। म्याग्दीबाट मुस्ताङतर्फ जाँदै गरेको टोली हिउँले बाटो पुरिएपछि समस्यामा परेको थियो।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार, जोमसोमबाट गएको नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको तालिमप्राप्त उद्धार टोली पदमार्ग बनाउँदै अघि बढिरहेको छ।

‘अलपत्र परेको टोली हिडन भ्यालीबाट धम्पुस लेकतर्फ आइपुगेको जानकारी छ। मौसमले साथ दिएमा आज दिउँसोसम्म दुवै टोलीको भेट हुने अनुमान छ’, प्रजिअ भुसालले भने।

खराब मौसम र सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीले अन्नपूर्ण आधार शिविर, खोप्रालेक, घोडेपानी, पुनहिल लगायतका उच्च क्षेत्रमा कात्तिक १४ गतेसम्म भ्रमणमा जान रोक लगाएको छ।

प्रशासनले सबैलाई सतर्कता अपनाउन सार्वजनिक रूपमा अपिल गरेको छ। मंगलबार दिनभर हिमपात भएको उक्त क्षेत्रमा बुधबार मौसम खुले पनि बिहीबार बिहानदेखि पुनः हिउँ पर्न थालेको छ, जसले उद्धार कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ।

कात्तिक १३, २०८२ बिहीबार १३:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।