जेनजी आन्दोलनपछि अन्योलमा कर्णाली सरकार, एक महिनादेखि मन्त्रीपरिषद् बैठक पनि बस्न सकेन

जेनजी आन्दोलनपछि अन्योलमा कर्णाली सरकार, एक महिनादेखि मन्त्रीपरिषद् बैठक पनि बस्न सकेन

सुर्खेत : जेन-जी आन्दोलनले केन्द्रमा सरकार बदलिए पनि प्रदेश सरकार पनि पुरानै छ। केन्द्रमा केपी ओलीको राजीनामासँगै सुशीला कार्की प्रधानमन्त्री बनिन्। केन्द्रमा ‘नागरिक सरकार’ बने पनि प्रदेशमा दलकै सरकार छ। तर अहिले दुवै सरकारबीच समन्वय नै छैन।

भदौ २३ र २४ देशैभर चर्केको जेनजी आन्दोलनकाक्रममा कर्णाली प्रदेशका सरकारी संरचनाहरू पनि जलाइयो।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले आन्दोलनका क्रममा आगजनी भएका भौतिक संरचना र कार्यालयको अनुगमन त गरे तर ती कार्यालयहरूलाई पूर्ववत् अवस्थामा कसरी फर्काउने भन्ने निर्णय हुन सकेको छैन।

आन्दोलनकाक्रममा प्रदेश सभा भवन ध्वस्त भएको छ। बजेट अधिवेशन सकिएको प्रदेश सभाको बैठक सम्बन्धी छलफल नै अगाडि बढ्न सकेको छैन।

दशैँमा घर गएका प्रदेश सभा सदस्यहरू पनि फर्किएका छैनन्। कतिपय मन्त्रीहरू पनि सुर्खेत बाहिर छन्।

जेनजी आन्दोलन भएको एक महिना बितिसक्दा पनि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक समेत बस्न सकेको छैन।

प्रदेश सरकार मातहतका कार्यालयका प्रमुख र कर्मचारी पनि उपस्थित भएका छैनन्। कतिपय कार्यालयहरू मर्मत गरेर सेवा सञ्चालन गरिए पनि आवश्यक सेवा प्रवाह हुन सकिरहेको छैन।

आन्दोलन भएको केही दिनपछि मुख्यमन्त्री यामलाल कँडेलले क्षतिग्रस्त संरचनाको अनुगमन गर्दै क्षति भएका संरचनाको पुनर्निर्माणका लागि छुट्टै योजना अगाडि बढाइने बताएका थिए। तर सो अनुसार काम अगाडि बढेको छैन।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सरकारले आफ्नो लयमा आवश्यक कामकाज गरिरहेको बताए।

‘औपचारिक रूपमा मन्त्रिपरिषद् बैठक नबसे पनि सरकार आफ्नो लयमा काम गरिरहेको छ’ उनले भने, ‘मुख्यमन्त्री र मन्त्रीहरू, मन्त्रीहरू र सचिवहरुबीच बजेट तथा योजना कार्यान्वयनका लागि सरकार कसरी अगाडि बढ्ने भन्ने विषयमा निरन्तर छलफल हुने गरेको छ।’

भदौ ४ गतेपछि कर्णाली प्रदेश सरकारको मन्त्री परिषद् बैठक बसेको छैन। आन्दोलनमा भएको क्षतिको विवरण संकलन भइसकेपछि अब त्यसको पुनर्निर्माण र सरकारको योजना कार्यान्वयनका लागि कसरी अगाडि भन्ने विषयमा मन्त्री परिषद् बैठक बस्ने तयारी भइरहेको सरकारका प्रवक्ता समेत रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहले बताए।

शनिवार कर्णाली सरकारका मुख्यमन्त्री कँडेलले प्रमुख सचिवसहित मन्त्रालयका सचिवहरूसँग बैठक गरी आगामी दिनमा जेनजीको भावनाको सम्मान गर्दै अगाडि बढ्न सचिवहरूलाई निर्देशन दिएका थिए।

-नेपालन्यूज बैंक

असोज २७, २०८२ सोमबार १७:२५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।