भाँचिएको पुलमा ह्युमपाइप राखेर नाला-भक्तपुर सडक खुलाइयो

काभ्रेपलाञ्चोक : भाँचिएको पुलका कारण बन्द भएको नाला-भक्तपुर सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। काभ्रेको बनेपा नगरपालिका-१ र ४ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो खण्डमा सवारी आवागमन अवरुद्ध भएको थियो।
जिल्ला ट्राफिक कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार बनेपा नगरपालिका र सडक विभागको समन्वयमा रातभर खटिएर अस्थायी रूपमा पुल पुनः सञ्चालन गरिएको हो। उनले बताएअनुसार छवटा ठूला ह्युमपाइप राखेर आवतजावतका लागि सडक खुलाइएको हो।
उक्त सडक राजधानी काठमाडौँको पूर्वी नाकामा आवतजावत गर्न प्रयोग हुने वैकल्पिक मार्गका रूपमा परिचित छ। २०३७ सालमा निर्माण गरिएको पुल शनिबार राति मालवाहक सवारीसाधनले पार गरेलगत्तै भाँचिएको स्थानीयले बताएका छन्।
पुल भाँचिएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी पूर्णरूपमा रोकिँदा वैकल्पिक मार्गसमेत अवरुद्ध भएको थियो। अहिले भने अस्थायी व्यवस्थामार्फत आवतजावत खुलाइएको छ। अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल खण्डमा विस्तार कार्य चलिरहेकाले पछिल्लो दुई वर्षदेखि अधिकांश सवारी नाला–च्यामासिङ खण्ड प्रयोग गर्दै आएका छन्।
असार २२, २०८२ आइतबार ०९:५५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।