नेपालले स्कटल्यान्डलाई दुई विकेटले हरायो

नेपालले स्कटल्यान्डलाई दुई विकेटले हरायो

काठमाडौं : नेपालले टी २० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेको छ।

जितका लागि ९८ रन पछ्याएको नेपालले सङ्घर्षपूर्ण जित निकालेको हो। त्रिदेशीय प्रतियोगितामा नेपालको यो पहिलो जित हो।

टस जितेको नेपालले बलिङ रोजेर स्कटल्यान्डलाई ९७ को झिनो अंकमा रोके पनि लक्ष्य पूरा गर्न भने कठिनै भयो। अन्तिम ओभरमा दुई बल र दुई विकेट बाँकी हुँदा लक्ष्य भेट्टायो।

मंगलबार ग्लास्गोस्थित टिटवुडमा भएको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए।स्कटल्याण्डका लागि माइकल लिस्कले  ४६ बलमा ४४ रन बनाए।

पहिलो खेलमा नेदरल्यान्डस्सँग बढो रोचक प्रतिस्पर्धामा तेस्रो सुपर ओभरमा नेपाल पराजित भएको थियो। अब तीनै टोलीको समान २-२ अंक भएको छ। नेपाल दोस्रो स्थानमा हुँदा पराजित स्कटल्यान्ड पहिलो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छ।

असार ३, २०८२ मंगलबार २३:०६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।