जुत्ता-चप्पल बनाएर मासिक तीन लाख कमाइ

जुत्ता-चप्पल बनाएर मासिक तीन लाख कमाइ

बुटवल : ‘हिजो घरभित्र थुनिएका थियौं, आज आफ्नै व्यवसाय छ, आम्दानी छ, आत्मबल छ।’ यस्तै भावना बोकेर अघि बढिरहेकी छन् बुटवलकी ओसिन थापा गुरुङ र उनीजस्तै सयौँ महिला। बुटवल उपमहानगरपालिकाले सुरु गरेको उद्यमशीलता तालिमले महिलालाई स्वरोजगार र आत्मनिर्भर बन्ने बाटो देखाइदिएको छ।

गत वर्षदेखि उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको जुत्ताचप्पल बनाउने तालिम खासगरी दुर्गम र ग्रामीण पृष्ठभूमिबाट आएका महिलालाई लक्षित छ। यो तालिमले उनीहरूको जीवनशैली, सोच, र आर्थिक अवस्था बदल्दै लगेको छ। तालिम लिएका महिलाले अहिले आफ्नै साना उद्योग चलाइरहेका छन् भने बजारमा पनि आफ्ना उत्पादन बेच्न थालेका छन्।

बुटवलका विभिन्न वडामा तालिमपछि महिलाहरूले हातैले जुत्ताचप्पल बनाउन थालेका छन्। बजारमा आउने ट्रेन्ड अनुसारको डिजाइनसमेत बनाउन थालेपछि बुटवल तथा छिमेकी शहरहरूमा माग समेत बढ्दै गएको छ।

उपमहानगरको वडा नं. ३ ज्योतिनगरमा सात दिने तालिम लिएकी ओसिन थापा गुरुङ अहिले सफल उद्यमी बनेकी छन्। आफ्नै उद्योग खोलेर व्यवसाय गर्दै आएकी गुरुङ भन्छिन्, ‘पहिला कसैले विश्वासै गर्थेन, अब भने ग्राहक आफै आइपुग्छन्।’ ग्राहकसँग हँसिलो अनुहारमा बोल्दै उनले व्यापार बढाइरहेकी छन्।

ओसिन थापा मात्र होइनन्, सविता थापा, सुनिता गुरुङ, तारा राना, खउकुमारी गुरुङ जस्ता धेरै महिलाहरूले तालिमपछि व्यवसाय दर्ता गरेर राम्रो आम्दानी गरिरहेका छन्। कसैले अनलाइनमार्फत बिक्री गर्दैछन्, त कसैले फेरि आफूजस्तै महिलालाई तालिम दिएर आत्मनिर्भर बनाउन लागिपरेका छन्।

तारा रानाले त बुटवल-१३ मा चार जना साथीहरूसँग मिलेर संयुक्त जुत्ताचप्पल उद्योग नै सञ्चालन गरेकी छन्। उनी भन्छिन्, ‘पहिले दिन गुजार्नै गाह्रो थियो, अहिले व्यवसायबाट आम्दानी पनि छ, केही बचत पनि हुन्छ।’

बुटवल उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा, लघु उद्यम विकास शाखा, र विभिन्न वडाहरूले समन्वयमा सञ्चालन गरेका तालिमबाट अहिले सयौँ महिला स्वरोजगार बनेका छन्। वडा नं. ८ की सीता खनाल भन्छिन्, ‘हिजो घरभित्र मात्र सीमित महिला आज आफ्नो खर्च चलाउन सक्ने उद्यमी बनेका छन्।’

उपमहानगरपालिकाको तथ्यांक अनुसार २०८१/८२ मा मात्रै ९० जना महिलालाई जुत्ताचप्पल बनाउने तालिम दिइएको थियो। अन्य तालिमहरू-जस्तै, फेसन डिजाइन, सिलाइकटाइ, पार्लर तालिम, ज्येष्ठ नागरिक केयर गिभर तालिम, बालबालिका सहजकर्ता तालिम पनि सञ्चालित छन्।

उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बेरोजगार महिलालाई सीप दिएर अर्थतन्त्रसँग जोड्न सके मात्र समृद्ध शहर सम्भव रहेको बताए। उपप्रमुख सावित्रा देवी अर्याल भन्छिन्, ‘केही महिलाले उत्पादन मात्र होइन, मार्केटिङ र ब्रान्डिङमा पनि दक्षता हासिल गरेका छन्। महिलामा आएको यो परिवर्तन समाजकै लागि प्रेरणादायी छ।’

उनीहरू व्यक्तिगत रूपमा मात्र होइन, सामूहिक रूपमा पनि उद्यममा लागेका छन्। यो अभियानले महिलालाई मात्र होइन, समुदायलाई नै आर्थिक रूपमा सशक्त बनाउने दिशामा डोर्याइरहेको छ।

जेठ २७, २०८२ मंगलबार १५:०३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।