देशभर सार्वजनिक यातायात बन्द : यात्रुलाई सास्ती, यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं : ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा आज बिहानैदेखि देशभरका सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्किए। यातायात व्यवसायीहरूले 'राइड सेयरिङ' सेवाको विरोधमा अनिश्चितकालीन बन्द घोषणा गरेसँगै देशभरको जनजीवन प्रभावित भयो।
समितिले गण्डकी प्रदेश सरकारले निजी प्रयोजनका सवारी साधनलाई भाडामा चलाउन अनुमति दिने गरी ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीप्रति आपत्ति जनाउँदै बन्दको आह्वान गरेको हो।
यस्तो प्रावधानले परम्परागत सार्वजनिक यातायात प्रणालीलाई सक्ने र व्यवसायमा आबद्ध व्यवसायी तथा मजदुरलाई विस्थापित गर्ने भन्दै यातायात व्यवसायीहरू उक्त नियमावली खारेजीको माग गरेका छन्।
देशव्यापी सार्वजनिक यातायात बन्दको प्रत्यक्ष मारमा आम नागरिक परेका छन्। विशेषगरी दैनिक बस, माइक्रो वा ट्याक्सीमा निर्भर रहेर कार्यालय, विद्यालय, कलेज, अस्पताल वा अन्य कामकाजमा निस्कने हजारौं यात्रुले यसबाट सास्ती बेहोर्नुपरेको छ।
गन्तव्यमा पुग्ने अन्य उपाय नहुँदा धेरै मानिस लामो दुरी पैदल हिँड्न बाध्य भएका छन्। कतिपयले भने राइड सेयरिङ वा निजी सवारी साधनको प्रयोग गर्नुपरेको छ। बन्दको मौका छोपेर उपलब्ध सवारी साधनले मनपरी र चर्को भाडा असुलेको यात्रुहरूको व्यापक गुनासो छ।
काठमाडौं उपत्यकाका मुख्य सडकहरु सामान्य दिनको तुलनामा आज सवारीहरू कम गुडेका छन्। अधिकांश सार्वजनिक बस स्टपहरू रित्ता देखिए।
यद्यपि, मोटरसाइकल, निजी कार तथा राइड सेयरिङमा भने यात्रुको भीडभाड थियो। बन्दले उपत्यकाको दैनिकी र केही शैक्षिक तथा व्यापारिक गतिविधिमा समेत आंशिक असर पुगेको छ।
बन्दको अवस्थामा पनि साझा यातायातका बसहरूले भने सेवा जारी राखे। साझाका करिब २१ वटा बसले एयरपोर्ट-बानेश्वर-रत्नपार्क-नागढुङ्गा, लगनखेल-नयाँ बसपार्क र लगनखेल-नारायणथान जस्ता केही निश्चित रुटमा यात्रु ओसारपसार गरे।
यस्तै, नेपाल प्रहरीले पनि यात्रुहरूको सुविधाका लागि केही रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो। यसले केही हदसम्म यात्रुलाई राहत पुगेको थियो, यद्यपि यो आवश्यकताको तुलनामा एकदमै न्यून थियो।
जेठ १९, २०८२ सोमबार १२:४३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।