दुर्गा प्रसाईँ पक्राउ बापत भारतलाई ‘गिफ्ट’ खालिस्तानी विद्रोही बलवीर

काठमाडौं : नेपालमा अपराध गरेर भारत पुगेका अनि भारतमा अपराध गरेर नेपाल छिरेकालाई नियन्त्रणमा लिएर एक अर्काको सीमा कटाउनु नौलो घटना होइन। चैत १५ को तीनकुने घटनापछि फरार भएर भारत पुगेका दुर्गा प्रसाईं पक्राउ घटना धेरै पुरानो भइसकेको छैन।
भागेर भारत पुगेका उनी भारतीय सुरक्षाकर्मीको सहयोगमा उतै समातिए पनि कानुनी रेकर्डमा भने काँकडभिट्टामा समातिएको देखिन्छ। भारतीय सुरक्षा एजेन्सीले नेपाली सुरक्षा सङ्गठनलाई ‘गिफ्ट’ दिएका थिए प्रसाईं। नेपालको सुरक्षा सङ्गठनले पनि त्यो गिफ्टलाई लामो समय उधारो राखेन।
भारत-पाकिस्तानबीच सुरू भएको द्वन्द्वसँगै नेपाल-भारत सीमामा कडाइ भइरहेकै बेलामा भारतले नेपालबाट नौ वर्षदेखि खोज्दा पनि फेला नपरेका मस्ट वान्टेडलाई उपहारको रूपमा पायो शनिबार। ती थिए खालिस्तानी विद्रोही बलवीर सिंह उर्फ कश्मीर सिंह गलवाड्डी।
जसरी प्रसाईं भारतको असममा नियन्त्रणमा लिए पनि औपचारिक पक्राउस्थल झापा बनाइयो त्यसरी नै बलबीर नेपालमा नियन्त्रणमा लिइए पनि पक्राउस्थल भारतको बिहार बनाइएको छ।
भारतीय मिडियाहरूले उनलाई भारतको केन्द्रीय जाँच एजेन्सी एनआइएले विहारको मोतीपुरमा समातेको दाबी गरिरहेका छन्। तर, विश्वस्तस्रोतका अनुसार नौ वर्ष अगाडि जेलबाट भागेर नेपाल आएका थिए।
उनले दलजित सिंहको नाममा नेपाली नागरिकता समेत बनाइसकेका थिए। नेपाली महिलासँग विवाह गरेर उनी यतै घरजम गरेर बसिसकेका थिए। उनलाई नौ वर्षदेखि खोजी गरिरहेको भारतीय सुरक्षा एजेन्सीहरूमध्ये नेशनल इन्भेस्टिगेशन एजेन्सीले उनी नेपालमा हुनसक्नेबारे केही सूचना पायो।
प्रहरीको विशेष ब्यूरोको संयोजनमा नियन्त्रणमा लिइएका उनलाई भारत-पाकिस्तानको तनावले ध्यान युद्धतिर तानिएको बेलामा शनिवार सहजै बोर्डर पार गरियो।
प्रसाईँलाई नेपाल ल्याउन अन्तर्देशीय अपराध अनुसन्धानमा पोख्त भए पनि अन्य युनिटमा कार्यरत प्रहरी अधिकृत खटिएका थिए। प्रसाँई असममा नियन्त्रणमा आए लगत्तै यता नेपालमा सूचना चुहियो। सिंहको घटनामा भने ब्यूरोको जनशक्ति मात्र प्रयोग गरियो।
उनलाई वीरगन्ज क्षेत्रमा नियन्त्रणमा लिएको दाबी केही स्रोतले गरे पनि स्थान भने एकिन हुन सकेन। तर, उनलाई नेपालमा नियन्त्रणमा लिएर भारत लगेकोमा भने कुनै शङ्का रहेन।
यस अगाडि इन्डियन मुज्जाहिद्दिनका कमाण्डर यासिन भड्कल यसरी नै पोखरामा समातेेर भारत पूर्याइएको थियो। भारतको खोजिमा रहेेकाको प्राथमिकतामा भड्कलपछि सिंहको पक्राउ उनीहरुका लागि ठूलो उपलब्धी हो।
जेल फोरेर भागेका थिए सिंह
सन् २०१६ सम्म सिंह पन्जाबको नाभा जेलमा थिए। उनी त्यहाँबाट दुई अन्य कैदीसँगै फरार भएका थिए। त्यसयता उनी फरारै थिए।
भारतीय मिडियाको दाबी अनुसार उनी बब्बर खालसा इन्टरनेशनल नामक आतङ्कवादी समूहसँग आबद्ध थिए। भारतीय प्रहरी र राष्ट्रिय एजेन्सीहरूको खोजी सूचीमा रहे पनि उनी नौ वर्षसम्म पक्राउ पर्नबाट बच्न सफल भएका थिए।
यसरी नाभा जेलबाट भागेका थिए सिंह
२०१६ नोभेम्बर २७ प्रहरीको भेषमा १०-१५ जना सशस्त्र व्यक्तिहरूको समूहले पटियालाको नाभामा रहेको जेलमा आक्रमण गरेका थिए। उनीहरूले सुरक्षाकर्मीहरूमाथि गोली चलाएर छ जनालाई भगाएका थिए।
हरमिन्दर सिंह मिन्टू (केएलएफ प्रमुख), गुरप्रीत सिंह सेखोन, अमनदीप सिंह धोटियन, कुलप्रीत सिंह नीता देओल, कश्मीर सिंह गलवाड्डी र हरजिन्दर सिंह विक्की गौन्डर भाग्न सफल भए।
भागेकाहरू पक्राउ पर्दै गए गौन्डर २०१८ मा प्रहरीसँगको मुठभेडमा मारिए। तर, गलवाड्डी फरारै थिए।
गलवाड्डीको नेपालमा आर्थिक गतिविधि र गिरफ्तारी बलवीर सिंहले नेपाली नागरिकता बनाएसँगै बैंक खाता समेत खोलेका थिए। उनको खातामा क्यानडाबाट पैसा आइरहेको थियो।
क्यानडामा खालिस्तानी विद्रोही संगठन सक्रिय भएकाले भारतीय सुरक्षा एजेन्सीले गतिविधि निगरानी गर्ने नै भए। भारतीय सुरक्षा एजेन्सीको रडारमा रहेकाबाट नेपालीको खातामा क्यानडाबाट पैसा आएपछि ती व्यक्ति खोज्दा सिंहको पहिचान खुलेको थियो।
जेठ १, २०८२ बिहीबार ००:४४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।