पार्टी पदाधिकारी बैठकमा गभर्नरबारे देउवाले भने 'छिट्टै हुन्छ'

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमै रुमल्लियो। शुक्रवार बसेको बैठकमा सहभागी पार्टी पदाधिकारीहरूले पार्टी सभापति शेरबहादुर देउवासँग गभर्नर विवादबारे नै जिज्ञासा राखेका थिए।
बैठकमा देउवाले राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएको पार्टी प्रवक्ता प्रकाश शरण महतले बताए। सभापति देउवा निवासमा बुढानीलकण्ठमा बिहान बसेको बैठकमा सहभागी नेताहरूले राष्ट्र बैङ्कको गभर्नर नियुक्त गर्न निकै ढिला भएको र यसले पार्टीलाई समेत नकारात्मक प्रभाव पारेको भन्दै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग के कुरा भइरहेको छ भनेर जिज्ञासा राखेका थिए।
प्रवक्ता डा. महतका अनुसार सभापति देउवाले यो चाँडै टुङ्गिन्छ र प्रोफेसनल, व्यावसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्वमा जानुपर्ने बताएको जानकारी दिए।
उनका अनुसार बैठकमा संवैधानिक निकायमा पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराउने विषयमा छलफल थियो। प्रवक्ता महतले टीआरसीलाई टुङ्गोमा पुर्याउन संरचना बनाउन अन्य दलसँग छलफल गर्ने र शिक्षा विधेयकलाई असार १५ भित्रमा पारित गर्नेबारे समेत छलफल भएको थियो।
बैठकमा भारत र पाकिस्तानबीच जारी तनावबारे समेत छलफल भएको थियो। प्रवक्ताले कांग्रेस सधैँ आतङ्कवादको विपक्षमा रहेको बताए।
वैशाख २६, २०८२ शुक्रबार १४:०३:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।