सात हजार रुख काटिएपछि उराठलाग्दो बुटवल-गोरुसिंगे सडक, वृक्षारोपण गर्न बुझाएको चार करोड वनको खातामा

बुटवल : रुपन्देहीको सैनामैना नगरपालिका-१, रानीबगियाकी हरिमाया सुवेदीले २०४६ सालमा रोपेका बर र पीपल हुर्कँदै गएपछि २०६० सालमा ३० हजारभन्दा बढी रकम खर्च गरेर चौतारी निर्माण गरेकी थिइन्। ती चौतारीमा बर र पीपलको पूजा गर्नेहरू हरेक शनिबार जम्मा हुन्थे। तर अहिले ती रुखहरू काटिएका छन्।
‘दुःखले हुर्काएर जोगाएको पीपल बाटो बनाउने भन्दै काटियो। आफैँले संरक्षण गरेर राखेको बिरुवा काटिँदा मन नदुख्ने कुरै भएन। कतै सारिएन, काटेर ट्याक्टरमा राखेर लगियो। कहाँ लगे थाहा भएन,’ उनले भनिन्।
सडक विस्तारको क्रममा रहेको बुटवल–चन्द्रौटा सडक २ लेनको छ। यसलाई चार लेनको बनाउन सात हजारभन्दा बढी रुखहरू काटिए। त्यसको प्रभावले अहिले यो सडक खण्ड उजाड र उराठलाग्दो बनायो। वर्षौँदेखि सडकको दायाँ-बायाँ हुर्केका बर, पीपल लगायतका विभिन्न प्रजातिका रुखहरू काटिए। जसले यो सडक खण्डलाई धुलाम्मे बनायो।
सडक खण्डमा बर र पीपलबाहेक स्वामी, आँप, कदम, साल तथा सिमलका रुखहरू थिए, जुन अब मासिए।
सरकारले ठुला रुखहरू काट्ने र त्यसको सट्टामा वृक्षारोपण गर्ने दाबी गर्ने गरेको छ। यो सडक खण्डमा सडक विस्तारकाक्रममा ७ हजार रुखहरू काटिए। १ रुख बराबर ४ रुख वृक्षारोपण गर्ने भनिएको थियो। तर काम भएको छैन।
बुटवलदेखि भैरहवासम्म, भैरहवादेखि लुम्बिनीसम्म पनि यसैगरी सडक किनारमा रहेका ठुला बर, पिपल र आँप, स्वामीका रुखहरू काटिए। तर बुटवलदेखि भैरहवासम्म केही साना रुखहरू लगाउने प्रयास भए पनि भैरहवादेखि लुम्बिनीसम्म अहिले पनि सडक किनार उजाड नै छ।
वातावरण इन्जिनियर डा. खेटराज दाहालले राज्यले हुर्केका रुखहरू जोगाउनुको सट्टा वृक्षारोपणको नाममा खुल्लमखुल्ला रुखहरू जथाभाबी मास्न दिएको बताउँछन्।
‘शहरमा मात्र होइन, गाउँमा पनि रुखहरू सडक विस्तारका नाममा जथाभाबी काटिएका छन्। हुर्केका रुखहरू एकै पटक मास्दा पानीका मूलहरू सुक्दै गएका छन्,’ उनले भने।
बुटवल-चन्द्रौटा सडक आयोजनाका इन्जिनियर कुशलता न्यौपानेले रुख कटानको काम ९९ प्रतिशत सकिएको बताइन्।
आयोजनाका इन्जिनियर अशोक पौडेलले काटिएका रुखको सट्टामा अन्यत्र रुख रोप्ने भन्दै सडक आयोजना कार्यालयले वन विभागको खातामा साढे ४ करोड रुपैयाँ अग्रिम बैंक दाखिला गरिएको बताए।
‘हामीले बिरुवा रोप्ने होइन, वन विभागले आफै रोप्छ। त्यो रोप्दा लाग्ने खर्च आयोजनाले व्यहोर्नुपर्छ। त्यही अनुसार रकम दाखिला वन विभागमा गरेका हौँ,’ उनले भने।
यसरी रकम दाखिला गर्दा वृक्षारोपण गरिएको बिरुवा हुर्काउन आवश्यक पाँच वर्षसम्मको खर्च पनि आयोजनाले दिने उनले बताए।
वैशाख १, २०८२ सोमबार १८:०४:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।